काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विशेष अदालतमा हाजिर भएका छन्। पतञ्जली समूहसँग सम्बन्धित विवादास्पद जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा बयानका लागि नेपाल अदालत पुगेका हुन्।
नेपाल आफ्ना जम्बो कानुनी टोलीसहित बिहानै अदालत पुगेका थिए। विशेष अदालतमा उनले आफ्नो पक्ष राख्दै प्रारम्भिक बयान दिएका छन्।
अख्तियारले असार २२ गते पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा सम्बन्धी अनियमिततामा संलग्न भएको आरोपमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार प्रधानमन्त्री रहेका बेला उनले पदको दुरुपयोग गरी सरकारी स्वामित्वको महत्त्वपूर्ण जग्गा न्यून मूल्यमा उपलब्ध गराउन प्रशासनिक हस्तक्षेप गरेका थिए।
सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने शक्ति दुरुपयोगको गम्भीर आरोप यस प्रकरणमा केन्द्रमा रहेको छ। यद्यपि, माधवकुमार नेपालले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। उनले यो मुद्दा “राजनीतिक प्रतिशोध”को परिणाम भएको बताउँदै आएका छन्।
विशेष अदालतमा आज भएको सुनुवाइमा मुद्दाको प्रारम्भिक प्रक्रिया अघि बढाइएको छ भने अदालतले थप कारवाहीका लागि मिति तोक्ने तयारी गरिरहेको छ।
यसबीच, एकीकृत समाजवादी पार्टीले भने आफ्ना अध्यक्षप्रति ऐक्यबद्धता जनाउँदै मुद्दा न्यायिक प्रक्रियाबाट नै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेको छ।

















