काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतमा २५ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोपमा कुमारी बैंकका तत्कालिन कर्मचारीसहित तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्रीधर तिवारीले जानकारी दिए।
आरोपअनुसार, साविकको सामाजिक सेवा एकाइमा कार्यरत तृप्ती शाहीले स्वास्थ्य बीमा दाबीकर्ताहरूको नाम दर्ता गर्ने क्रममा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम संकलन गरेकी थिइन्। अनुसन्धानका क्रममा साउन १, २०८० देखि जेठ मसान्त, २०८१ सम्म सङ्कलित ३४ लाख ३ हजार ८५६ रुपैयाँमध्ये मात्र ८ लाख ३६ हजार ३३० बैंक खाता मार्फत अस्पताललाई बुझाइएको देखिएको छ। बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना भएको आयोगले दाबी गरेको छ।
आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा दोषी ठहर भएमा ती तीनै जनालाई ऐनवमोजिम सजाय दिलाउन माग गरिएको छ। विशेष अदालतले अब विपक्षी प्रस्ताव बुझ्ने र मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
















