विराटनगर, २३ जेठ/
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभामा जारी अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले चालु संघीय संसद्को अधिवेशनबाटै निजामती सेवा ऐन र शिक्षा ऐन पारित हुने स्पष्ट पार्नुभयो। उहाँका अनुसार सरकारले प्राथमिकतामा राखेका विधेयकहरू पारित गर्न प्रतिपक्षी दलसँग संवादको प्रयास भइरहेको छ।
“कर्मचारीको गल्तीको जिम्मेवारी विभागीय मन्त्रीले लिनुपर्ने तर्क न्यायोचित होइन,” मन्त्री गुरुङले भन्नुभयो, “प्रतिपक्षले प्रतिशोधको आधारमा संसद् अवरुद्ध गरिरहेको देखिन्छ।”
सरकारका प्रवक्तासमेत रहेका गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुंअआ) को विषयमा टिप्पणी गर्न उपयुक्त नहुने बताउँदै आयोगले दुरुपयोगमा संलग्नलाई छानबिन गर्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्नुभयो।
मन्त्री गुरुङ केही सरकारी कार्यक्रम सहभागी हुन विराटनगर पुगेका थिए।















