वीरगञ्ज, ३१ वैशाख — रोजगारीको प्रलोभन देखाउँदै एक नेपाली युवतीलाई भारततर्फ लैजाने क्रममा एक युवक पक्राउ परेका छन्। बाराको सिम्रौनगढ नगरपालिका–१०, देवापुरका २५ वर्षीय सुरज गुप्तालाई भारतसँग सीमा जोडिएको क्षेत्रमा सोमबार राति नियन्त्रणमा लिइएको हो।
भारतीय सुरक्षाकर्मी सशस्त्र सीमा बल (एसएसबी) ले भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको झरौखर थाना क्षेत्र, जमुनिया नजिकैबाट गुप्तालाई नियन्त्रणमा लिई उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो। उनलाई सीमास्तम्भ संख्या ३५५६/२ आसपासबाट पक्राउ गरिएको बताइएको छ।
गुप्ताले वीरगञ्जस्थित अमृतगञ्जमा बसोबास गर्ने २० वर्षीया विवाहित युवतीलाई रोजगारीको आश्वासन दिँदै भारतीय बजार घोडासान हुँदै दिल्ली लैजाँदै थिए। प्रारम्भिक अनुसन्धान अनुसार, दिल्लीमा रहेका उनका आफन्तले सञ्चालन गर्दै आएको यौन व्यवसायका लागि नेपाली युवतीको माग भएसँगै उनले यस्तो कार्यमा संलग्न भएको स्वीकार गरेका छन्।
पक्राउ परेपछि प्रहरीले गुप्ताबाट १२ हजार रुपैयाँ र युवतीबाट ५० हजार रुपैयाँ नगद बरामद गरेको छ। गुप्ताले भारत प्रवेशपश्चात चिनजानको व्यक्तिको घरमा मोटरसाइकल छाडेर रेलमार्फत दिल्ली जान योजना बनाएको जानकारी दिएका छन्।
युवतीले आफूलाई वैदेशिक रोजगारीको अवसर दिने भनिएकाले विश्वास गरेर साथ गएको बताएकी छन्। हाल उनलाई रौतहटको बंकुलस्थित प्रहरी चौकीले एक सामाजिक संस्थाको प्रतिनिधिको रोहवरमा जिम्मा लगाएको छ।
पक्राउ परेका गुप्तालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सन्तोष तामाङले जानकारी दिए। तामाङका अनुसार, उनीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिनेछ।