२०८२ आश्विन २६ गते, आईतवार १३:२७

तराई–मधेशमा प्रहरी ज्यादती बढ्दो, किसान मलखादबाट समेत बञ्चित : अध्यक्ष प्रभु साह

काठमाडौं, २५ वैशाख – आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले तराई–मधेश क्षेत्रमा सशस्त्र प्रहरीको ज्यादती बढेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको गतिविधिमा प्रश्न उठाउँदै यसले स्थानीय जनता असुरक्षित महसुस गरिरहेका बताएका छन्।

साहले रौतहटको कटहरियामा हालै भएको एक घटनालाई उदाहरण दिँदै, दुई स्थानीय बासिन्दा मोटरसाइकलमा फर्किंदै गर्दा सशस्त्र प्रहरीको टोलीले तस्करीको शंका गर्दै उनीहरूलाई रोकेर बलपूर्वक हस्तक्षेप गरेको आरोप लगाए। उक्त झडपमा मोटरसाइकल क्षतिग्रस्त हुनुका साथै दुवै व्यक्ति गम्भीर घाइते भई अहिले आईसीयूमा उपचाररत रहेको जानकारी दिए। उनले गृहमन्त्रीसँग घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरे।

प्रभु साहले सरकारका कर्मचारी र मन्त्रीहरू नै जनताको सम्पत्ति लुट्नमा संलग्न भएको आरोप लगाउँदै भने, “सरकारी सेवा गर्नेले आफ्नो पारिश्रमिकले जीवन धान्न सक्दैन भने जनताको सम्पत्तिमा हात हाल्न मिल्छ?” उनले कर तिर्ने नागरिकको सम्पत्ति जफत गरेर चलनचल्तीमा आएको ४५ प्रतिशत ‘कमिशन’ प्रणालीमाथि पनि आक्रोश पोखेका थिए।

उनको भनाइमा, किसानहरू मलखाद नपाएर समस्यामा छन्, तर जब उनीहरू आफैं भारतबाट मल ल्याउँछन्, प्रहरीले नाकामा रोकथाम गर्दै मल जफत गर्छ। “लागुऔषध तस्करी नियन्त्रण गर्न नसक्ने प्रहरी, दिनदहाडै हुने चोरी नियन्त्रण गर्न असमर्थ प्रहरी, उल्टो किसानको खाद, नून, चिनी खोस्ने?” भन्दै उनले प्रहरी प्रशासनप्रति गम्भीर असन्तोष व्यक्त गरे।

साहले इमानदार सुरक्षाकर्मीलाई जनताको सम्पत्ति जफत गर्नु हुँदैन भन्ने आत्मबल देखाउन आग्रह गरे। उनले भने, “यदि तपाईं इमानदार हुनुहुन्छ भने स्पष्ट भन्न सक्नुपर्छ – हामी कमिशन खाँदैनौं, जनताको सम्पत्ति लुट्दैनौं।”

उनका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको ज्यादतीले आम नागरिक त्रासमा छन्, र स्थानीय किसान, व्यापारी तथा सर्वसाधारण ठूला आर्थिक तथा मानसिक दबाबमा छन्। सरकारले यस्ता घटना प्रति गम्भीर भएर दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM