२०८२ आश्विन २६ गते, आईतवार १३:२६

गौरका नगरप्रमुख शम्भु साहको उद्घाटनमा खुलेको सुधार केन्द्रमै अमानवीय कुटपिट (भिडियो सहित)

रौतहट/ गौर नगरपालिका वडा नम्बर ४ मा सञ्चालनमा आएको ‘राइजिङ नेपाल सुधार केन्द्र’ मा एक व्यक्तिलाई सामूहिक रूपमा निर्घात कुटपिट गर्दै गरिएको भिडियो सार्वजनिक भएपछि तीव्र आलोचना भइरहेको छ। नगरप्रमुख शम्भु साहले केही समयअघि रिबन काटेर उद्घाटन गरेको यो सुधार केन्द्रमा यति क्रूरतापूर्वक शारीरिक यातना दिने कार्य हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

भिडियोमा देखिएअनुसार पीडित व्यक्तिलाई दुई–तीन जनाले समातेर लडाइरहेका छन्, भने अर्का एक व्यक्ति हातमा लाठी लिएर बेरहमीपूर्वक उनको शरीरमा प्रहार गरिरहेका छन्। यस्तो घटनाले सुधार केन्द्रको नाममा सञ्चालन भइरहेको संस्था मानिसमाथि अत्याचार र अमानवीय यातनाको अखडा बन्न थालेको स्पष्ट पार्दछ।

नगरप्रमुखको उपस्थितिमा उद्घाटन गरिएको संस्थामा यस्ता घटना हुनु आफैँमा गम्भीर राजनीतिक र प्रशासनिक प्रश्न खडा गर्छ। सुधारको नाममा हिंसा स्वीकार्य हुन सक्दैन। यदि सुधार नै उद्देश्य हो भने त्यसको प्रक्रिया मानवीय, नैतिक र कानुनी ढाँचामा आधारित हुनुपर्छ।

यस घटनाले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, र मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ। सम्बन्धित निकायले तत्काल निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ।

समाज सुधार गर्ने नाममा हिंसाको संरक्षण हुनु भनेको समाज नै पछाडि धकेल्ने कार्य हो। यस घटनालाई सामान्य रूपमा लिएर छोड्ने हो भने यस्ता सुधार केन्द्रहरू अपराधको केन्द्र बन्दै जाने निश्चित छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM