२०८३ बैशाख २० गते, आईतवार ०५:१२

ईश्वरपुर मनकामना स्कूलमा लोकतन्त्र दिवस उत्साहका साथ मनाइयो

ईश्वरपुर, ११वैशाख/ ‘बाल हक तथा अधिकारको सुनिश्चितता’ भन्ने नारासहित ईश्वरपुर नगरपालिका–६ स्थित ईश्वरपुर मनकामना इंग्लिस बोर्डिङ स्कुलले १९औं लोकतन्त्र दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाएको छ।

कार्यक्रम स्कुलका संस्थापक सुदिप कार्कीको अध्यक्षता र नगरप्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा विद्यार्थी विचार प्रस्तुतिको साथै ‘शिक्षा भन्दा अगाडि संस्कार’ नामक पुस्तक विमोचन, शैक्षिक सवाल–जवाफ तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

विद्यार्थीहरूले लोकतन्त्रको अर्थ, महत्व र वर्तमान अवस्था सम्बन्धी धारणा प्रस्तुत गरेका थिए। त्यसपछि भएको अन्तरक्रियात्मक सत्रमा उनीहरूले नगरप्रमुख आचार्य र शिक्षा शाखा संयोजक दिनेश आचार्यसँग नगरको शैक्षिक योजना र सबै बालबालिका विद्यालयसम्म किन पुग्न सकेनन् भन्नेबारे जिज्ञासा राखे।

जवाफमा शिक्षा संयोजक दिनेश आचार्यले हरेक बालबालिकाले विद्यालय रोज्ने अधिकार भएको बताउँदै स्थानीय सरकार त्यसमा क्रियाशील रहेको उल्लेख गर्नुभयो। स्कुलका संस्थापक कार्कीले गरिबीका कारण बालबालिकाको शिक्षामा अवरोध नआओस् भनेर छात्रवृत्ति योजना ल्याएको जानकारी दिनुभयो।

नगरप्रमुख आचार्यले पाँच वर्षे कार्ययोजनाको बारेमा चर्चा गर्दै पहिलो वर्ष स्वास्थ्य, दोस्रो शिक्षा, तेस्रो कृषि सुधार, चौथो पूर्वाधार विकास र पाँचौं बाँकी काम पूरा गर्ने वर्ष हुने जानकारी दिनुभयो। उहाँले “संस्कारसहितको शिक्षाको दिशामा नगर अघि बढिरहेको” समेत बताउनुभयो।

सोही अवसरमा विमोचित पुस्तक ‘शिक्षा भन्दा अगाडि संस्कार’ नगरप्रमुखले एक सय प्रति लिने घोषणा गर्नुका साथै विद्यालयका प्रयासको प्रशंसा गर्नुभयो। कार्यक्रममा सञ्चारकर्मी तथा विशिष्ट अतिथिलाई मायाको चिनो दिई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रिन्सिपल उदय बुढाथोकीले गर्नुभएको थियो।

प्रत्येक वर्ष वैशाख ११ गते २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदै आइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM