राकेश गुप्ता/
सर्लाही, १० वैशाख / सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ र १ जोड्ने बिर्ता–किसनपुर सडकका ८ सय मिटर ए ग्रेड कालोपत्रे गर्ने कार्य आज प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री चन्दा चौधरीले शिलान्यास गर्नुभयो। रु एक करोडको लागतमा सम्पन्न हुने यो प्रथम चरणको कालोपत्रे कार्य यसै वर्षमै पूरा गर्ने योजना छ।
सांसद चौधरीले बताउनुभयो कि यो वर्ष ८ सय मिटर मात्र कालोपत्रे गरिनेछ भने आगामी आर्थिक वर्षमा वडा नं. १ को मुख्य सडक कालोपत्रे गरिनेछ। उहाँले क्षेत्र नं. १ को दीगो विकासका लागि सबै तहमा समन्वय र जिम्मेवारीपूर्ण पहल जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले गाउँपालिकामा स्पष्ट बहुमत नहुँदा पूर्ववर्ती कार्यकालमा कुनै पक्की सडक निर्माण हुन नसकेको तर सांसद चौधरीको सक्रियताले विकासका कामहरू अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साह, वडा नं. १ का अध्यक्ष रामेश्वर महतो, वडा नं. २ का अध्यक्ष शम्भु साह, वडा नं. ३ का अध्यक्ष सिताराम महतो, वडा नं. ७ का अध्यक्ष दिपेन्द्र चौधरी लगायत स्थानीयवासीको उपस्थिति थियो।
















