काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले आज ऊर्जा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा दुवै पक्षबीच ऊर्जा तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित बहुपक्षीय सहकार्यका सम्भावनाबारे विचार विमर्श भएको थियो। जर्मनीबाट नेपाललाई दिँदै आएको सहयोगलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्री खड्काले जर्मनी सरकारद्वारा वैकल्पिक तथा नविकरणीय ऊर्जाको प्रवर्द्धनमा विगतमा प्रदान गरिएको सहयोगप्रति आभार प्रकट गर्दै नेपालले तय गरेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य हासिल गर्न जर्मन लगानीको अपेक्षा व्यक्त गरे।
त्यस अवसरमा कार्यवाहक राजदूत साइडेलले नेपालका ऊर्जा परियोजनाहरूमा जर्मनीले निरन्तर समर्थन गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि आपसी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

















