२०८३ बैशाख १७ गते, बिहीबार १८:१७

आध्यात्मिक पत्रकार समाजको वार्षिकोत्सवमा सकारात्मक पत्रकारिताको जोड

काठमाडौँ/आध्यात्मिक पत्रकार समाज (आपस) ले आफ्नो स्थापनाको वार्षिकोत्सव रामनवमीको पावन अवसरमा विविध कार्यक्रमका साथ मनाएको छ। काठमाण्डौं डिल्लीबजारस्थित दक्षिण एशियाली ज्योतिष महासंघको कार्यालयमा आयोजना गरिएको कार्यक्रम वैदिक विधिअनुसार शंखध्वनि, स्वस्तिवाचन र दीप प्रज्वलन गर्दै सुरु गरिएको थियो।

वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यलाई सक्रिय युवा पत्रकारका रूपमा दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी वरिष्ठ एवं युवा सञ्चारकर्मीहरूले पत्रकारिता क्षेत्र दिनानुदिन भौतिकवाद र नकारात्मकतामा धकेलिँदै गइरहेकाले नैतिक र मूल्यमा आधारित आध्यात्मिक पत्रकारिता आवश्यक भएकोमा जोड दिए।

एसोसिएट अध्यक्ष आचार्यले आफ्नो मन्तव्यमा सबै विधाको पत्रकारितालाई समेट्दै मानव कल्याणमा केन्द्रित रहने आध्यात्मिक पत्रकारिता आजको आवश्यकता भएको बताए।

लेखक तथा सञ्चारकर्मी केशव प्रसाद चौलागाईंले धर्म, कला, संस्कृति र सामाजिक मूल्यसहितको पत्रकारिता अझै पनि मूलधारमा आउन नसकेकोमा चिन्ता व्यक्त गरे।

अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटाले विधागत पत्रकारिताभित्र आपसले महत्वपूर्ण योगदान गर्न सक्ने सम्भावना औंल्याउँदै पर्यटन र संस्कृति प्रवर्द्धनमा अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिए।

कार्यक्रममा आपसका अध्यक्ष शिरोमणि दवाडीले सत्य, निष्पक्ष र सकारात्मक पत्रकारिताको प्रवर्द्धनमा संस्था अझ सक्रिय हुने प्रतिबद्धता जनाए।

महासचिव लक्ष्मण पन्थीले आगामी वर्षदेखि प्रकाशित क्यालेन्डर र पात्रोमा रामनवमीलाई ‘आपस’ को स्थापना दिवसका रूपमा समावेश गरिने जानकारी दिँदै संस्थाको संरचना र कार्यदिशा थप व्यवस्थित गरिने उल्लेख गरे।

कार्यक्रममा शिवलाल पौडेल, बी.पी. कोइराला, द्रोण पराजुली, पुरुषोत्तम बस्नेत, अनिल भण्डारी, सुशील फुँयाल, कमल टण्डन, विशाल पौडेल, राजु बस्याल, यदुनाथ गैरे, शोभा ओझा, अस्मिता, सुस्मिता र सरस्वती दाहाल लगायतका सञ्चारकर्मीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM