काठमाडौं/लामो समयदेखि न्यायका लागि आन्दोलनरत सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासङ्घ अन्तर्गतका पीडितहरू राजधानीमा राष्ट्रपति कार्यालय घेराउ गर्न उत्रिने भएका छन्।
विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आन्दोलनरत पीडितहरूले चैत १७ गतेदेखि आन्दोलनलाई तीव्ररूपमा अगाडि बढाएका हुन्। उनीहरूले सरकारले बारम्बार गरेको वाचा पुरा नगरेको भन्दै अब संविधानको रक्षक मानिएको राष्ट्रपतिलाई समेत ध्यानाकर्षण गराउनु आवश्यक भएको बताएका छन्।
सोमबार बिहान ९ बजेबाट शान्तिवाटिका, रत्नपार्कबाट सुरु हुने र्याली राष्ट्रपति कार्यालयसम्म पुग्ने उद्देश्यका साथ अगाडि बढाइने आयोजकले जानकारी दिएका छन्। “हामी अब न्याय नपाए जुनसुकै अवस्थामा पनि संघर्ष गर्न तयार छौं,” महासङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सहकारीमा ठगिएकाहरूले विगतदेखि नै सरकारसँग न्यायको माग गर्दै आएका थिए। तर, सहमति कार्यान्वयन नभएको, दोषीलाई कारबाही नगरेको र सम्पत्तिको सुरक्षाबारे स्पष्ट नीति नल्याएको भन्दै महासङ्घले यो निर्णायक संघर्षको बाटो रोजेको हो।
आन्दोलनको क्रममा राजधानीको सडकमा ठुलो सङ्ख्यामा पीडितको उपस्थिति हुने अनुमान गरिएको छ। यस आन्दोलनप्रति प्रेस, नागरिक समाज, र अन्य सरोकारवालाको ध्यानाकर्षण गराउँदै महासङ्घले सहानुभूति र सहयोगको अपील समेत गरेको छ…!