वीरगंज/सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याइएका विभिन्न सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
चैत्र १९ गते, वीरगंज महानगरपालिका-१४ गण्डक क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले विभिन्न सार्वजनिक सवारी साधनमा लुकाई ल्याइएका रू. ८४,१५०।- बराबरको सुतिको साडी, कुर्था-सुरुवाल, चकलेट, र स्पोर्ट सुज (जुत्ता) बरामद गरेको छ। सो सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, मिति २०८१।१२।१७ गते, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा तथा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टीस्थित नेपाल-भारत दशगजा क्षेत्रबाट अबैध रुपमा निकासी/पैठारी गरि बाँसको झ्याङ्गमा लुकाएर राखिएको ६,६३,९००।- रुपैयाँ बराबरको ६६३९ के.जी. मुरली मकै बरामद गरेको छ। उक्त मकै पनि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै, सोही मितिमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको अर्को टोलीले रू. ५,६९,७८५।- बराबरको किराना सामान, मोटर पार्ट्स, इलेक्ट्रोनिक पार्ट्स, र कपडा बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ।
मिति २०८१।१२।१९ गते, विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका-१७, अलौस्थित अमरपट्टीबाट वीरगंजतर्फ आउँदै गरेको मधेश प्रदेश-०३-००१ह३०९४ नम्बरको ई-रिक्सा जाँच गर्दा, उक्त सवारीमा भन्सार छलि भारतबाट ल्याइएको रू. ७५,०००।- बराबरको भारतीय कपडा बरामद गरियो। साथै, भन्सार मूल्य रू. ३,००,०००।- रहेको उक्त ई-रिक्सासमेत नियन्त्रणमा लिई, जम्मा रू. ३,७५,०००।- बराबरको सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
यस सम्बन्धमा सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अवैध तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सधैं सतर्क रहेको जानकारी गराएका छन्।