२०८२ फाल्गुन २४ गते, आईतवार २२:०८

खानीले नखाएको बूढो रूख

पानी पिउँदापिउँदै हलिसा भुर्र उडे । पूर्वतिर फर्केको सर्बरयाजको हाँगाको टुप्पोमा गई बसे । पखेटा फट्फटाउँदै वारि–पारि हेरे । त्यसपछि ? चनाखिए । त्यसबेला फिस्टा, क्वाइय, भेक्रा (भ्याकुर), कोकलस्हाँरा घरी वल्लो डाली त घरी पल्लो रूख गरिरहेका थिए ।

स्थानीय स्कूलका सह–हेडसर र म पनि हलिसा जस्तै तिर्खाले खरास्सिएका थियौं । खर्गैराबाट ठाडै उकालिंदा थाकेका थियौं । सर्बरयाज छहारीमा एकछिन थकाइमार्‍यौं । सिवाली परेको बाटोमा अन्कनाएपछि करिब दुई किलोमिटर तल खर्गैरामै सह–हेडसरको मोटरसाइकल छाडेका थियौं ।

पोहोर मध्य भदौको एक मध्याह्नपख चौदिशा मुख फर्काएका सर्बरयाजका हाँगाबिंगाका पात फर्फर–फर्फर गर्दैथिए । हावा संगीतमा सुसेलिंदै साना हाँगा पैसरी नाचिरहेका थिए । भुर्र उड्दै चराले पैसरी ‘गति’ बिथोल्दैथिए । हेरें, सर्बरयाजका छिमेकी रूख (खर्सु, बाज, (पुर्से र मौ) डेम्मर, ऐयार र बुराँस (गुराँस), घोराडाली, कुकुरडाइना, गुँहेला, काफल, पिठेचौर, भला, चर्कने, फारुला, म्हाय, घङ्घारु आदि) सर्बरयाजसँगै सिङारु नाचिरहेका थिए ।

सह–हेडसरपछि म पनि बडेमानको सर्बरयाज रूख चढें । सरदर उचाइँका दुई मान्छे जति माथि पुगेपछि भेटें, बोटबाट हाँगा आ–आफ्ना बाटो लागेको ठाउँमा स्यान्स्यानो पोख्रा परेको (गाउँघरमा पोखरीलाई पोख्रा भन्छन्) । जरुवा जस्तो पानीघर । कति हाँगाले पास ओढेका थिए । कति हाँगामा पास समाएर चेम्ने उभिएका थिए त कति ठाउँमा चम्पा ।

पानीमा रयाजका पात र पास पौडिरहेका थिए । सर्बरयाजले आफ्नो छातीमा पानी सँगालेर साँचेको थियो ।

‘हेर्तो बड्डा, पानी कति सफा रहेछ है’— सह–हेडसरलाई भनें ।


म्हायको पात टपरी बनाएँ, पानी उघाएँ । तिर्खा नमेटिऊन्जेल पिएँ ।

‘कान्छा, जा तो म्हाय पातमा पानी लेन्जा’ पिउँदाखेरिको घुटुक्–घुटुक् आवाजको गला घाँस्दै जेई (आमा)को आवाज सुनें ।

जेईसँग कहिले सोत्तर सोहोर्न त कहिले घाँस काट्न र कहिले दाउरा काट्न त कहिले च्याउ खोज्न सर्बरयाज पुग्दा यसैगरी जेईले ‘पानी लिन’ अह्राउँथिन् ।

‘कान भइया हो कि के भयो हँ ?’ मनमनै आफैंलाई सोधें ।

कान भइनु भन्नु केही भए जस्तो केही भने जस्तो आवाज आउनु थियो । तर, सुनेको ‘भ्रम’ हुनुथियो ।

हत्त न पत्त ओर्लिएँ । वरपर हेरें । न जेई सर्बरयाज छहारीमा बसी टाकुमा भाङ्ङु (शहरमा गाँजा भनेर चिनिने गाँजाको रेसा) धागो कातिरहेकी थिइन् न त बुराँस र खर्सुको सोत्तर सोहोरिरहेकी थिइन् । न त जेईले छहारीमा बसी सुल्पालाई दायाँ खुट्टाको बूढीऔंला र चोरऔंलाको बीचमा अड्याएर आगो निकाल्न स्यानो च्हाँरेढुंगामा छड्केले हिर्काउँदै छड्के पारिरहेकी थिइन्, छट्याक छट्याक ।

झस्किएँ ।

जेईले कसरी पानी माग्नु र ? जेई त बाबैको बाटो लागिसकेकी थिइन् । र, केही दिनअघि मात्र माल्दाजु पनि हतारमा जेईबाबै भेट्न हिंडेका थिए ।

हेरें, नेपाल राष्ट्रिय नमूना स्कुल, मौलाबोटका सह–हेडसर (सहायक प्रधानाध्यापक) केशव बुढामगर वारिपारिका डाँडाकाँडालाई मोबाइलमा पाहुनालाई जसरी पर्सिरहेका थिए । त्यसपछि सर्बरयाजलाई फेरि हेरें । के सम्झेर कुन्नि ? यसरी सर्बरयाज ठिंग उभिनु नै ‘लाख’ लाग्यो । पानी–गोडाले यसरी उभिएको सर्बरयाजको पानीको सम्बन्धमा जेईले कुनै रात घोगा उधार्दै सुनाएकी थिइन्, सर्बरयाजको पानीको कहानी–

सर्बरयाजले सोच्यो, आकाशबाट झरेको पानीलाई बास दिए कसो होला ? नभन्दै एक साँझ परिरहेको पानीलाई पाहुना पर्सियो । पाहुना मेजमानी गर्‍यो । पानी पाहुनाको लागि छाती यति फराकिलो पार्‍यो कि, पानी गाग्री भयो । पानी जरुवा भयो ।

पानी र छहारी पाएका गाउँलेले सप्रेको यामानको रयाजलाई नाम दिए, सर्बरयाज । सर्बरयाज उभिएको ठाउँको नाउँ सर्बरयाज रह्यो ।

पहिले त तिर्खा मेट्न एक–दुई घन्टा पैदल दुरीका ट्वाङ, खिसाबाङ, तिर्मिरखोला, बजिन मसिनाचौर, छहराखोला कि झाँक्रीखोला ओर्लन्थे । बर्खामास भने पोख्रा र डुबिल्कामा भेला भएको पानीले काम चलाउँथे ।

पानी पिएर सर्बरयाज छहारीमा सुस्तायौं । सुस्ताउँदा सुस्ताउँदै कति चरा आए, पानी पिए । सर्बरयाजकै डाली चहार्दै गाए ।

मानिस, चरा, पानी संगमस्थल सर्बरयाजमा चलेको शीतल हावाले रूखका पात होइन, हाम्रा मन फर्फराए ।

प्राकृतिक भ्युटावर

सानोमा आमाबा, नानादाजुहरूका पुच्छर लागेर गाउँघरमा गरिने मेलापात सर्बरयाज सेरोफेरोमै सिकेको थिएँ । अघिअघि भैंसी र पछिपछि लौरे पाडा किहँडेजसरी आमाबाका पछिपछि डोको बोकी मेलापात गर्न सिक्ने गाउँघरको जीवनपद्धति सिक्ने चलन थियो । अलि ठूलो भएपछि सन्सारी नाना, भुमा नाना, झौसरी नाना, कन्दाजु, नन्दाजु, प्हार्ला साल्दाजुसँग कहिले घाँस त कहिले सोत्तर कहिले दाउरा बोकेको सर्बरयाजकै पाखापखेरा थिए । जीउबाट छुटेको पसिना पुछ्दै सर्बरयाज ढोट्राको पानी पिएको थिएँ । पसिना ओभाउँदाखेरि ठूला जति गफिदै सुखदुःख बिसाउँथे, सर्बरयाज छहारीमा हामी भुरा भने कहिले कुट्टा खेल्थ्यौं, कहिले भाले त कहिले चचर्के । त्यसबेला हामी कहिले बाज, कहिले रयाज त कहिले खुर्सुको घाँस काट्न जान्थ्यौं । खर्सु, बुराँसका सोत्तर सोहोर्न जान्थ्यौं ।

सर्बरयाजसँग सम्झना सोहोरिएर आए । त्यसपछि कानसोर लगाएँ, घँसाराले साइँला बरै गाइरहेका थिएनन् । सोत्तरेले सोत्तर सोहोर्दाखेरिको सारामसोरोम धुनमा फाँक गाइरहेका थिएनन् । पुवा र भाङ्ङु धागो टाकुमा कात्दै समाचार सुनाइरहेका थिएनन् । सँगिनी भेट भएर सन्चोबिसन्चो सुसाइरहेका थिएनन् ।

भदौरे मध्याह्न वारिपारि नजर डुलाएँ ।

दुई हजार दुई सय मिटर अग्लो छड्केधुरीको घाँटी सर्बरयाजबाट ठीक पश्चिमोत्तरमा जिलाधुरी र र्‍हाँक्माधुरी ठिंग उभिएका देखें । तीनधुरी वारिपारि उभिएका थिए । जिलाभन्दा अलिपर पश्चिममा उभिएको थियो, तीनबैनी ।

जिलाधुरीमा रिपिटर टावर उसैगरी उभिएको थियो । टावर रुँग्ने शाहीसेनालाई माओवादी सेनाले आक्रमण गरेको थियो ।

छड्केधुरी काटेर पाकजोरा समुद्र भेट्न जाँदैथिए । जाँदाजाँदै अलमलिए । लामो लहर खजमजियो ।

कुनै बेला जेईबाबैले सुनाएको सम्झिएँ, ‘हेर कान्छा, पाक्जोरालाई छड्केधुरी देउताले छेके ।’ र्‍हाँक्माधुरी काट्दा पनि देउताले छेके भन्थे । थप्थे, ‘भोग नखाई के बाटो देनन् र ?’ जेईबाबैले भोगको कुरा गरेको केही दिनपछि कहिले छड्केधुरी र कहिले र्‍हाँक्माधुरी तलमाथि पाक्जोरा भेटेको सुनिन्थ्यो ।

अहिले सम्झन्छु, लामबद्ध पंक्ति खजमजिएको त छलफल गर्न होला । छलफल गरेको थिए होला । भोग दिएको भनेको त उड्न नसकेका पाका पाक्जोरा खसेका हुँदाहुन् ।

सर्बरयाजबाट नजर तलतिर लागेपछि जैपा सिरान जुरेपोख्रा अडियो । जहाँ जेई थिइन् । जुरेपोख्रा र जेईको जन्मघर भएको बजिन त तारा थापे जस्तै वारिपारि थिए । जुरेपोख्राबाट जेईले आफ्नो जन्मघर बजिन देख्थिन् । मगरको आदिथलो मानिएको रुकुम मैकोटसिरान चिहानै चिहान थिए । गाउँलेले सुनाएका थिए, हुकाम माइत भएका चेलीलाई गाडिएको छ । मैकोट सिरानबाट हुकाम देखिन्थ्यो ।

संजोग ! जेई पनि आफ्नो जन्मघर बजिन देख्नेगरी जुरेपोख्रामा सुतेकी थिइन् । भलै जेई झाँक्री भएकाले मात्र बाबै र माल्दाजु जसरी झाँक्रीखोला र चुनबाङगार दोभान लगिएको थिइनन् । हिन्दु संस्कृति प्रभुत्वले झाँक्री गाड्ने चलन मात्र निल्न बाँकी थियो ।

रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ को वडा कार्यालय स्यान्गोरीछेवैको खर्गैरा देखें । जहाँ जनमुक्ति सेनाले तालिम गरेको थियो । त्यही चौरमा सह–हेडसरको मोटरसाइकल छाडेर सर्बरयाज उकालिएका थियौं ।

स्यान्गोरीबाट सीधै पारि दक्षिणपूर्व रामखुम डाँडागाउँ थियो । डाँडागाउँको कुन घर ? तग्याउन भने गाह्रो भयो । जुन घर प्रचण्डको ‘सेल्टर’ थियो । सेल्टर छाडेको केही घन्टामै शाही नेपाली सेनाले हवाई आक्रमण गरेको थियो । धन्न, सेल्टर लिएको घर मात्र घाइते भएको थियो ।

जिलाधुरीमुनि पाछाबाङ देखें । पाछाबाङको वारि राक्सेबाङ । राक्सेबाङमुनि आरखोला । आरखोलामुनि रपा । रपा सिरानमा त खानी थिए । फलाम खानी ।

उत्तरपश्चिम चिहाएँ । तीनबैनीधुरीको काखको भेरिडाँडा भने देखिएन । त्यही भेरिडाँडा त थियो, माओवादीको बहुचर्चित चुनबाङ बैठक बसेको गाउँ ।

जुरेपोख्रामुनि जैपा । जैपामुनि ओख्लेखानी र ढोट्रेखानी थिए । खानीबाट ओरालिए चुनबाङगार । गारकिनारमा ढोमै (वागमारा बजार), जहाँबाट रात्रिबस काठमाडौं गुड्थे ।

सर्बरयाज नजिकै बजिन । मेरो मामाघर । बजिनबाट ओर्लिए, ल्हाम्ढारा । झन् तल ओर्लिए, आगरढारा । धाउ गालेर फलाम निकाल्ने आगर चलाएकाले ठाउँको नाउँ नै आगरढारा । खानी र धाउ पोलेको थलामा किटै किट थिए । गाउँले सिकारीका भरुवा बन्दुक गोली तिनै किट त थिए ।

प्राकृतिक भ्युटावर सर्बरयाजबाट टाढाटाढा देखिन्थे ।

सर्बरयाजका छाउली कि चुनबाङसिरान तीनबैनीधुरीमा थिए कि सिलखर्क काटेर पुगिने ढाङढुङमा । जो कम्तीमा दुई–तीन घन्टा पैदल दुरीमा थिए । सर्बरयाज वरपरका उसका दौंतरी त खानीले खाइसकेको थियो ।

खानीले नखाएको सर्बरयाज

जैपालाई पूर्व र रपालाई पश्चिम पारेर माझैमा चुनबाङगार बग्छ । जो मारीहुँदै भालुबाङ पुगेपछि रापती बन्छ । तिनै दुई गाउँ जैपामुनि र रपासिरानमा फलामखानी थिए ।

खानी बन्द भए । खानी र वरपरका पाखा चरन भए ।

जैपामुनि खान्ढारा जैपालीको चरन थियो ।

कहिलीकसो बाजी(हजुरबा)को पछि लागेर म पनि गाई र बाख्रा चराउन खान्ढारा जान्थें । तर, थोरैपालि ।

खानीका सुरुङमा कहिले गाई पस्थे त कहिले बाख्रा । बाजी खान्ढारामा पुगेपछि भने पुराना दिन सम्झन्थे । वारिपारि हेर्थे । त्यसपछि भन्थे, ‘हरहर थियो, खरखर थियो । तेर्छाती, मन बस्ने ठाउँ काँती थो र ? जता हेर्‍यो, नांगो । ह्याँनु गाईबाख्रा हक्काउने पैइयको स्यानो डिङ्ना पनि काँ पाई ?’

त्यसपछि खान्ढाराबाट नजर छड्केधुरीतिर उकाल्थे । त्यसपछि भन्थे, ‘उभ्भेको एउटा रूख थियो भने त्यही सर्बरयाज त थियो ।’

चर्दाचर्दै कहिलीकसो गाईबाख्रा पस्ने सुरुङ उख्लीखानी र ढोट्रेखानीका थिए । जैपाका ती दुई खानी सहित रपासिरानमा डाँराखानी, सेम्डेरेखानी, सेलाखानी, टाक्सेखानी बयान्निएका फलामखानी थिए । थुनीखोलाको खानी भनेर परिचित ती खानीका फलाम किन्न सल्यान र रुकुमबाट जान्थे (नवीन विभास, खानी गाउँको सवाइ कहानी, कान्तिपुर, २५ साउन २०७८) । ओदानदेखि कुटो, कोदालो भएर त्यहींका फलाम डोल्पासम्म पुग्थे । शायद पश्चिम नेपालमा पछिसम्म (२०४६ सम्म नै) चलेको उत्तरपूर्वी रोल्पाको जेलबाङ फलामखानी थियो (जेलबाङका सुकबहादुर रोकामगरसँगको कुराकानी) ।

नामी खानीका नाममा लोकमनले लोकगीत उनेका थिए, ‘थुनीखोला बाइसै आखर, धोए फलाम ।’ सिङारु टुक्काले जैपा र रपामा बाइस भट्टी जलेको कहन्थ्यो । भट्टी भनेको धाउ पगालेर फलाम निकाल्ने क्रिया थियो । त्यसबेला जैपा र रपा भेग थुनीखोला भनेर परिचित थियो । कालाशेष थुमको उक्त भेग छबीसखुवा थियो । छबीस भनेको एक सय साठी घर कुरिया । त्यो जमानामा गन्ती नै बीसबाट हुन्थ्यो । जस्तो, रुकुम (पश्चिम)को एउटा नगरपालिका नै आठबीसकोट छ ।

चन्द्रशमशेर बेलायतबाट फर्केपछि नेपालका खानी खाए । कसरी ? खानीमा पचास प्रतिशत कर लगाए । सीधै बन्द गर त भन्न भएन । पचास प्रतिशत कर तिरेर खानी चलाउने कसको हब्बा !

खानी बन्द नगरी फिरंगी बेलायतले बजार कब्जा कसरी गर्नु ? बेलायती कम्पनी सरकारले नेपाली बजार कब्जा नगरी राणाशासनले कसरी सास फेर्नु ? जंगबहादुर राणाले राणाले फिरंगी कम्पनी राजसँग गरेका कति सम्झौता चन्द्रशमशेरले बेलायत भ्रमणपछि लागू गरेका थिए । राणाशासन फिरंगी कम्पनी सरकारको अक्सिजनले त बाँचेको थियो ।

गुल्मी भार्सेका मगर खनेल भने रिन काढेर श्री ३ सरकारलाई कर घटाउन बिन्ती बिसाउन काठमाडौं पुगे (हेर्नुस्, नवीन विभास, खानी गाउँको सवाइ कहानी, कान्तिपुर, २५ साउन २०७८) ।

जैपा र रपाका खानी भने करकर गर्दै चले । यसो भन्नुको कारण थियो, विक्रम संवत् १९९३ मा जन्मेका मेरो बाबै र बाबैका भाइ मेरो काकु पनि खानीमा काम गरेका थिए । त्यसैले कर बढे पनि जैपा र रपाका खानी चले । कहिलेसम्म चले त ? भारतीय फलाम छ्याप्छ्याप्ती भएपछि जैपा र रपा खानी बन्द भएका थिए । प्रायः खानी भने पचास प्रतिशत कर लगाउनेबित्तिकै बन्द भएका थिए ।

निर्वाहमुखी नै सही (नुनमात्र किन्ने), रोल्पाका गाउँघर खानी बन्द भएपछि परनिर्भर हुँदैगए ।

एक सय वर्षअघिको कुरा हो ।

बाजीहरू एकाबिहानै कोदोको ढिरो खाइवरी कोदोकै रोटा बोल्ला जाबामा राखेर उकालिन्थे– कहिले गोल पोल्न त कहिले गोल बोक्न । गोल पोल्न भनेको रूख काटेर पोल्नु हो ।

खनेलका खेतीपाती थिएन । कोदो पनि बेसाउँथे । खनेलले त खानी नै खान्थे, खानी नै लगाउँथे । फलामले अन्न बेसाउने बाजीहरूले श्री ३ सरकारलाई तिरो पनि फलाम नै तिरे ।

जैपा वरपरका मझौढारा, काफलढारा, डल्लुगैरा, रप्पाताल, कुख्रागर्खने, पोस्तके, चिललेखोर लाउने, चक्लीगैरा, बजुपुज्ने, सल्लाभीर, लाम्भीर, खर्गैरा खुरुल्लै भए । गोल पोल्ने क्रममा रूख खोज्दै बाजीहरू सर्बरयाज पुगे । रूख ढाल्दै र गोल पोल्दै जाँदा एकदमै सप्रेको रयाजको पालो आयो । जुन रूखमा पानी थियो । तिर्खाएका बाजीहरूले पानी पिए ।

बगाले स्वर झर्‍यो, ‘यो रूख पनि ढालिम् भने हामी त तिर्खैले मर्छम् । चराचुरुंगीले पनि पानी कहाँ पेनन् ? हाम्रा शाखासन्तान के गरी बाँच्नन् ?’ पानीले सर्बरयाजलाई गोल हुनबाट जोगायो ।

त्यसबेला साँच्ची बाजीले भने जस्तै हरहर खरखर हुँदा कस्तो देखिन्थे होला, वारिपारिका डाँडा ? अहिले काला हुँदै गएका हाम्रा हिमाल जस्ता ? सर्बरयाज हेर्दै मनमा कुरा खेले । त्यसपछि खसखस लाग्यो– सर्बरयाज लगलग पनि काँपिरहेको हुँदो त उसका सङहरू जस्तै ? सङ कोही नबचेपछि ममात्र के बाँच्नु भन्यो कि ? एक्लै कसरी उभियो होला ? एक्लै कसरी सुसायो होला ? एक्लै उभिन कति गाह्रो भयो होला ? एक्लै हुँदा वैरागियो कि ?

जैपाका स्थानीय पूर्व शिक्षक तथा मेरो ठूल्दाजु (देवप्रसाद पुन) सानो छँदा (पचास वर्षअघि) देखेको सर्बरयाजको अनुहार सम्झिएथे, ‘स्यानो हुने बेला सोत्तर जान्थिम् । रयाज रूखमा एउटा हाँगा भने बाज थियो । पछि त्यो बाज सुक्यो ।’

भालुकोटबाट बसाइ सरी सर्बरयाजछेउ स्यान्गोरीमा बस्ने मोहवीर बिक (कमरेड केशव)ले सात वर्षअघि सर्बरयाजमा हल्केका ऐजेरु हटाएको सम्झिएका थिए । परिवर्तन गाउँपालिका वडा नम्बर ५ बाट कार्यपालिका सदस्य बिकले भीमबहादुर ओलीसँग मिलेर दुई वर्षअघि सर्बरयाजको जरुवा पनि सफा गरेका थिए ।

‘पातपतिंगर फालेर सफा गर्दा तामाका पैसा पनि भेटें । कति ढ्याक थिए । सफा गरेपछि ती पैसा त्यही छाड्यौं’ बिक सम्झँदैथिए, ‘पुरिंदै गएको छ । हात जाने जतिमा सफा गरेको हो । लठी हाल्दा धेरै तल पुगेन ।’

सर्बरयाज कति वर्ष भयो ? थाहा छैन ।

सर्बरयाजमुनि रहेको ट्वाङ गाउँका ८६ वर्र्षीय त्रिपन रोकामगरले आफ्नी हजुरआमाको पालामा पनि यसरी नै उभिएको सुनाएको सम्झिएथे ।

स्थानीय खसनेपाली नाम रयाज थियो । करिब दुई हजार दुई सय मिटर आसपासमा हुर्कने रयाजको नाम मानक खसनेपाली र बोटानिकल नाम के होला ? थाहा छैन ।

गाउँघरका घरका डल्लेन बनाउने काठ रयाज नै रोज्जा थियो, बस्तुभाउका रोज्जा डाले घाँस ।

सह–हेडसरसँग सर्बरयाज छहारीमा सुस्ताइरहेको बेला आफूले सँगालेका सम्झना सर्बरयाजले सम्झ्यो । जुगदेखि खात लागेका मानिस, वन्यजन्तु र चरा सम्झना ।

हुन पनि सर्बरयाज छहारीमै मानिस, वन्यजन्तु र चराले पसिना ओभाएका थिए । सर्बरयाज वारिपारिका महिलाहरूले मनखाएका सँगिनीहरूसँग सँगिनी लगाएका थिए । सँगिनी पूर्व लाग्दा मितिनी भएको थियो । कति मन मिलेका लोग्ने मानिसले मीत लगाएका थिए । मेलापात गएका गाउँलेले सुखदुःख बिसाएका थिए । बटुवा बिसाएथे । गाएथे । सुसेलेथे । मायालुलाई सम्झेथे । सङसँग पोखिएथे । कतिका माया सर्बरयाज छहारीमा फुलेका थिए । तरुण–तन्नेरी ठकान बसेका थिए । खासमा महिलाहरूले मेलापात गएको बेला धागो कात्दै लोकतन्त्रथलो बनाएका थिए । एकछिनका लागि किन नहोस्, छहारीमा सारा दुःख भुल्थे । सर्बरयाज छहारीमा बसी खर्सुबोट, चर्सुहाले, सर्पलोटे, थुनी, केवरी, रपा, हाइबाङ, चाख्लेडाँरा, इरिबाङ, ताहिबाङ, पुरानगाउँ, पाछबाङ रम्चाएर रमेका थिए । छहारीमा पुगेका वन्यजन्तु, चरा र मानिसको मन चङ्गा हुन्थ्यो ।

सर्बरयाजले सम्झ्यो, बर्खामास कोलोको कोलाङकुलुङमा झरी संगीतमा फुलेका रोल्पाली रैथाने गीत, स्यानीमाय । त्यसपछि मैले सम्झिएँ, जेईसँग च्याउ खोज्न आएको बेला भेटेका च्याउ । आँखामा आए– रत्याउ, निल्याउ, जवारे, भुइओर्मा, बूढीआमाको कान, सल्ल्याउ ।

के सोचेर कुन्नि, सर्बरयाजले भोङ्रा बोल्ला, बोल्लाकै पर्धनी(धोती) लगाएका भाङ्ङुवाल मानिसका हालचाल सोध्यो । जोसँग सर्बरयाजको नङमासु सम्बन्ध थियो ।

चालीसको मध्यतिर (मैले थाहा पाउँदाखेरि) पनि बाजी सहित तल्ती ठूल्बाइ, प्हार्ला ठूल्बाइ, चुनबाङे फ्वाजुले बोल्लाकै पर्धनी लगाएका थिए । बोल्लाकै गादा पारेका थिए । स्हेँला धमिनी फुबू, ओखरबोट फुबू, कान्छी र माइली बोईले बोल्ला गादा पारेका थिए । सानाठूला सबै महिलाका हातमा भाङ्ङु धागो कात्दै टाकु नाचिरहेका थिए । जुनबेला भाङ्ङु त गाँजा नाममा सरकारले प्रतिबन्ध लगाएको डेढ दशक लागिसकेको थियो । गाउँघरमा सर्वसाधारणका जीउमा भने भाङ्ङु बाँकी थियो ।

घोगा उधार्दाखेरि कहिले जेईले त कहिले बाबैले सुनाएको सिलुकजसरी सर्बरयाज सम्झना सम्झ्यो ।

सर्बरयाज सम्झनामा ठकान बस्नेहरू थिए । हुन पनि सर्बरयाज त ठकानथलो थियो । सर्बरयाजमा ठकान राख्थे ।

दुई पक्षलाई समदुरीमा पर्ने थलोमा भेट हुनु ठकान बस्नु थियो । भेटथलो थियो, ठकानथलो । फलानो गते यति बजे भेटम् भनेर चाँजोपाँजो मिलाउनु थियो, ठकान राख्नु । ठकानथलोका आधारभूत चरित्र थिए– पिउने पानी र पानी पर्दा ओतिने ओत । पानी पर्दा सर्बरयाजले ओत्थ्यो, तिर्खा लागे सर्बरयाजमै पानी थियो ।

ठकान बस्ने कति कति मीत थिए त कति सँगिनी । कति छोट्टे र छोट्टी थिए । कति छोट्टेछोट्टीले त सर्बरयाज छहारीमै मन परापर गरी घरजम बसाएका थिए । कति चेलीले सर्बरयाजमा सँगिनी लगाएका थिए ।

सर्बरयाजले सम्झ्यो, घँसारा, सोत्तरे र दाउराली । कति निमाङका थिए, कति ट्वाङका । कति राङ्कोटका थिए त कति ढाङढुङगारका । कति जैपाका थिए कति रङनामका । कति बजिनका थिए त कति ल्हाम्ढारा, ट्याम, जुमाराङ्सी, भालुकोट र खिसाबाङका ।

त्यसपछि सर्बरयाजले सम्झ्यो, भाङ्ङु र पुवा धागो कात्दै सुखदुःख बिसाउने जेईहरूलाई । तिनले सुनाएका समाचार सम्झ्यो । तिनले धागो कात्दै मनका बह पोख्ने, मन माझामाझ गर्ने सर्बरयाज लोकतन्त्रथलो थियो ।

जेई एक थिइन्, सर्बरयाजको छहारीमा बसेर धागो कात्दै सम्झना सुनाउने । आफ्नो माइती गाउँ बजिन हेर्दै माइतको तिर्सना मेट्ने ।

सर्बरयाजले सम्झ्यो, आफ्नो छहारीमा बसी धागो कातिरहेका तिनै जेईहरूलाई । कहिले भाङ्ङु त कहिले पुवा (अल्लो)को धागो कात्दै सुखदुःख बिसाइरहेकाहरूलाई । ती महिला कति जैपाका थिए कति बजिनका । कति खिसाबाङ त कति निमाङ त कति ट्वाङका । धागो कात्दै सर्बरयाजमा बिसाउँथे । सोत्तर सोहोर्ने राङ्ङे, दाउरा चाँच्ने डोका, घाँस बाँध्ने घुर्रेबर्रे भुइँमा राख्थे । धागो कात्दै उकालिएका तिनले पसिना ओभाउँथे, सर्बरयाज छहारीमा । तिनका हातमा टाकु घरी सिङारु त घरी स्यानीमाय रैथाने गीतमा नाच्थे । नाचको गतिसँगै टाकुमा कुक्री मोटाउँथे भने गादामा राखेको भाङ्ङु मुठा दुब्लाउँथे ।

सुल्पामा कक्कर भर्थे । धुवाँसँगै उनका दुःख पनि माथिमाथि उड्थे । पति कालापार गएका, छोरा कालापार गएका, नुन लिन गएका समाचार सुनाउँथे । तिनका सम्झनासँग आफ्नो पनि मिसाएर सर्बरयाजले सम्झना सँगालेको थियो ।

पसिना ओभाएपछि कातिरहेको धागो पनि गादामा राख्थे । फाटाफाट हुन्थे । कोही सर्बरयाजको तलतिर लाग्थे कोही मास्तिर त कोही परतिर । कोही सोत्तर सोहोर्थे । कोही दाउरा त कोहीले घाँस काट्थे । गीत गाउँदागाउँदै काम गर्थे, काम गर्दागर्दै गीत गाउँथे । ती गीत, साइँला बरै थिए । स्यानीमाय थिए । गीतबाट नै माइती सम्झना गर्थे । कालापार (भारत) गएका पतिको सम्झना गर्थे । अविवाहितले आफ्ना प्रेमी र प्रेमिका सम्झन्थे । काम गर्दागर्दै ती गीतमै पोखिन्थे, गीतमै थोपिन्थे ।

एक–डेढ घन्टापछि आवाज आउन थाल्थ्यो–

‘भारी पुरायौ आमाजू ?’

‘नफाल्जाए, म निम्थ्यो भयो ।’

‘सर्बरयाजमा कक्कर भर्दै गर । म आएँ है ।’

गीत तालमा काम सकी सर्बरयाज छहारीमा फेरि भेला हुन्थे । धागो कात्दै कुरा गर्थे । यस्तै १२ बजेतिर भन्थे, ‘ताहिबाङ ओइपा आइगे । जाम् ।’

राङ्ङेमा सोत्तर, डोकोभरि दाउरा र घुर्रेबर्रेमा बाज वा खर्सु वा रयाजको घाँस बोकेर ओरालिनेका लर्कन लाग्थ्यो ।

जैपा, खिसाबाङ, ट्वाङ, निमाङ, राङ्कोट, बजिन, रानीकोट, रङ्नामको बर्खे संगमस्थल सर्बरयाज । रोल्पाली रैथाने गीत गुन्जनथलो ।

मौलाबोट प्रधानिन बोईले स्यानीमाय गीतसँगै जेईले गाएका लोकगीत पनि सर्बरयाजले सम्झ्यो । रोल्पाका रैथाने गीत कहिले साइँला बरै सम्झ्यो, घरी फाँक त घरी बनगारी, घरी सिङारु । तिनले गाएका गीत सर्बरयाजले मनमा खोपेको थियो । फेरि ती गीतमा कहिले हाँसेको सम्झ्यो कहिले रोएको । मानिसले गाएका गीत तालमा सर्बरयाज आफ्नै हाँगामा फुट्रुकफुट्रुक्क नाचेका चरा नाच देखेर फुरुङ्ग भएको पनि सम्झ्यो । गीतले फुलेको सर्बरयाज मन सम्झ्यो ।

सर्बरयाजले फेरि सम्झ्यो । जुन सम्झना सम्झेरै सम्झनामा सर्बरयाजका ओठ फर्फराएथे, फर्फर–फर्फर ।

गीत सम्झनामा सर्बरयाजले पानी सम्झ्यो । चरा सम्झ्यो । मानिस सम्झ्यो । त्यसपछि ? तिनीहरूसँगको सम्बन्ध सम्झ्यो ।

के सम्झेर कुन्नि, सर्बरयाजले आफू जाग्राम बस्ने रात सम्झ्यो । बर्खे दशैंको चौथो रात अर्थात् चर्दशी रात जाग्राम बस्थ्यो ।

रात छिप्पिन थाल्थ्यो । जैपाको छिमेकी गाउँ खल्नेटाबाट पुजारु ओल्काउने चाला दमाहा बजाउँदै राङ्कोटे दमाई उकालिएको सुनिन्थ्यो । पुजारुसँगै राङ्कोट थला पनि हुन्थ्यो । दलबलमा पैजन, दौरी, मादल, झ्याली बोकेर पैसरी नाच पनि लिएर गएका हुन्थे । दलबलमा कोही डोका बोकेका हुन्थे कोही कुम्लो त कोही झोला । डोकोमा रक्सी, जाँड हुन सक्थ्यो, फलफूल हुन सक्थ्यो । केरा, सुन्तला, बेलौती त ढाङढुङ्गार बयान्नेको थियो । सुन्तला जमिनमुनि परालले बेरेर गाडेका हुन्थे ।

रात छिप्पिदासम्म पुजारु दलबल सर्बरयाज पुग्थ्यो । सर्बरयाज छहारीमा झाम्रे गाउँथे । नाच्थे । ठट्टा गर्थे ।

‘हर हर तन्नरीयौ, ढिलो हुन्छ’ भालेको डाकोसँगै पुजारुले भन्थे । सर्बरयाजको पानी गाबुमा भर्थे । उकालिन्थे, छड्केधुरी । भोलिपल्ट अर्थात् पुन्नी(पूर्णिमा)मा छड्केधुरीमा मेला लाग्थ्यो । भन्थे, ठूल्गोरी जात्रा । जुन जात्रामा आफन्त, तरुण–तन्नेरी, मीत र सँगिनीहरूले ठकान राखेका हुन्थे ।

पुजारु ओल्काएको दमाहा बजेको सुनिने बेला वारि जैपामा स्हाँरा (भेडाको भाले) कराउन थाल्थे । कोही बाँकेबाट पुगेका हुन्थे, कति बर्दियाबाट त कति दाङबाट । ती सबै रोल्पाबाट बसाइँ सरेका मानिस हुन्थे । जैपाबाट पनि ती मानिस रातसँगै उकालिन्थे ।

सर्बरयाजले माओवादी पनि सम्झ्यो ।

माओवादीको शब्दमा ग्रामीण वर्ग संघर्षकालमा माओवादी जैपा झर्न होस् कि ढाङढुङ उक्लन होस्, थबाङ पस्न पनि सर्बरयाज त ‘सेल्टर’जस्तै थियो । युद्ध सुरु हुनुअघि र पछि पनि कति गाउँले त कहिले रप्पापातल त कहिले सर्बरयाजमा रात काटेका थिए । गाउँ पसेका पुलिस फक्र्यो भन्ने सुराकपछि बल्ल गाउँले आफ्ना घर फर्कन्थे । खर्गैरामा तालिम गरेको माओवादी मुक्ति सेना र तल–माथि गर्दा लालसेना नै आफ्नो छहारीमा सुस्ताएको सम्झ्यो ।

सर्बरयाजले सम्झ्यो, ‘तिमीले छहारी दियौ’ भनी ढोगेर जानेहरूलाई ।

सर्बरयाज छहारीमा मानिस र वन्यजन्तु सुस्ताएथे भने, हाँगाबिंगामा चरा । रिचार्ड पावरको ‘द ओभरस्टोरी’ले सर्बरयाज र गाउँलेका कथा भने जस्तो लाग्यो । द ओभरस्टोरीले सर्बरयाज र मानिसका अन्तरसम्बन्ध त सम्झेको थियो । गाउँले, सर्बरयाज, चरा र वन्यजन्तु एकअर्कासँग जोडिएका थिए । चाहपूर्ति नै सही, एकअर्कामा अन्तर्निहित थिए ।

मध्य भदौको मध्याह्न सर्बरयाजमा छिमेकी जिल्ला रुकुम (पूर्व र पश्चिम)मा चलेको अमेरिकी आँधीले सर्बरयाज सेरोफेरो हल्लिरहेको थियो । पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली नेपाल र नेपालीको भविष्य ‘भ्युटावर भाषण’ भट्याइरहेका थिए । तिनका दिलदिमाग ‘सर्बरयाजशास्त्र’ शून्य थियो ।

सह–हेडसरसँगै सर्बरयाजमा सर्बरयाज सम्झना सम्झँदै झस्किएँ ।

सर्बरयाज नरहे कहाँ ओतिएलान् गाउँले र वनका जन्तु ? कहाँ बास बस्लान् चरा ? तिर्खा केले मेट्लान् ? गाउँलेका लोकतन्त्रथलो कहाँ होला ? सँगिनी, मीत, छोट्टेछोट्टी र माइतीचेली कहाँ ठकान राख्लान् ? सर्बरयाज नरहे जेईहरूले कहाँ पसिना ओभाउँलान् ? कहाँ आफ्ना सुखदुःख सुसेल्लान् ? कहाँ गएर धागो कात्लान् ? लोकतन्त्रथलो कहाँ बनाउलान् ? कहाँ मन बिसाउलान् ?

सर्बरयाज सम्झना सुनिरहेको तपाईं नै भन्नुस् त, छ बेला लाग्ला घाम भनेर बियालो गर्ने बेला बचेको छ त ?

छैन ।

एकघरी बेला पनि बचेको छैन, सर्बरयाज सम्झना सुन्न र गुन्न । बियालो गर्न त बेला नै छैन । भन्नुस् त, बेला र बैंसले कसलाई पो पर्खेको छ र ?

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM