सुर्खेत । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । कर्णाली प्रदेशमा पनि विश्व पानी दिवसको अवसरमा खानेपानी गुणस्तर परिक्षण एवं एन वास अध्यावधिक सम्बन्धी तालिम सम्पन्न भएको छ ।
चार दिनसम्म चलेको तालिममा सहभागीलाई मुख्य गरी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड तोकिएको मध्य ५ वटा पारामिती परिक्षण गर्न सिकाइएको जलश्रोत तथा ऊर्जा विकास मन्त्रालय सुर्खेतकी शाखा अधिकृत कमला खानले बताउनुभयो ।
त्यसमा खानेपानी गुणस्तर परिक्षण किट चलाउन तथा खानेपानी सरसफाई तथा स्वच्छताको राष्ट्रिय सूचना व्यवस्थापन प्रणालीमा तथ्याङ्क अद्यावधिक गर्न सिकाइएको उहाँको भनाई छ । त्यसैगरी पानीको धमिलोपना, पि एच, कोलिफर्म ब्याक्टेरिया तथा क्लोरिन अवशेष परिक्षण गर्न सिकाइएको जानकारी दिनुभयो । पानी गुणस्तर परीक्षणको प्रक्रिया र त्यसको नतिजालाई सबैमाझ जानकारी गराउन खोजिएको शाखा अधिकृत खानले बताउनुभयो ।
कर्णाली प्रदेशमा ३.५ प्रतिशत मात्र सुरक्षित रूपले व्यवस्थित खानेपानीको पहुँच रहेको छ । प्रदेशभर सुरक्षित रूपले व्यवस्थित खानेपानीको पहुँच बढाउन कर्णाली प्रदेश सरकार जलश्रोत तथा ऊर्जा विकास मन्त्रालयले युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा १० जिल्लाका खानेपानीसँग सम्बन्धित प्राविधिक, विभिन्न पालिकाका वास फोकल पर्सन तथा खानेपानी संस्थाका प्रतिनिधिलाई तालिम दिएको हो ।
तीन वटै तहको सरकार र विकास साझेदारहरूको संलग्नतामा कर्णालीका ७५ वटा पालिकामा खानेपानी सरसफाई तथा स्वच्छता योजना बनिसकेको र बाँकीमा बनिरहेको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिनुभयो ।