काठमाडौ/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब १,००० मेगावाट रहेको जानकारी दिए।
उनका अनुसार उद्योग क्षेत्रमा लोडसेडिङको चुनौती रहे पनि घरायसी उपभोक्तालाई भने नियमित आपूर्ति गर्न सरकारले आवश्यक कदम चाल्नेछ। उनले वर्षायाममा उत्पादित कुल ३,५०० मेगावाटमध्ये ७०० मेगावाट मात्र नेपाल विद्युत प्राधिकरण (नेपाल सरकार) ले उत्पादन गर्ने र बाँकी विद्युत निजी क्षेत्रबाट आउने जानकारी गराए।
मन्त्री खड्काले ‘उद्योगमा आज पनि १२ घण्टासम्म लोडसेडिङ छ’ भन्ने कुरा बैठकमा उठेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि लोडसेडिङ नहुने प्रतिबद्धता जनाए।
उनले कुलमान घिसिङको कार्यकालमा सार्वजनिक भएको प्राधिकरणको नाफासम्बन्धी विवरणबारे पनि पुनः अध्ययन आवश्यक रहेको धारणा राखे। चमेलिया जलविद्युत आयोजनामा काम गरेको संस्थालाई भुक्तानी नहुँदा प्राधिकरणको बैंक खाता रोक्का भएको उनले बताए।
मन्त्रालयलाई यसबारे समयमै जानकारी नदिइएको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अध्ययन र समन्वय भइरहेको बताए।