२०८३ बैशाख २० गते, आईतवार २०:०२

संक्रमणकालीन न्याय टुंग्याउन तत्परता देखाउनुपर्ने सांसद ढकालको आग्रह

काठमाडौं/ प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालमा संक्रमणकालीन न्याय टुंग्याउने कार्यलाई प्राथमिकता दिन सरकार र पूर्व विद्रोही पक्ष नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले शान्ति प्रक्रिया टुंग्याउन ढिलाइ हुँदा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्। उनले विशेष रूपमा मानव अधिकार उल्लंघन तथा युद्धकालीन अपराधका घटनाहरू निष्कर्षमा पुर्‍याउन सरकार र माओवादी दुवै पक्ष गम्भीर बन्नुपर्ने बताए।

सांसद ढकालले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउको उदाहरण प्रस्तुत गर्दै, त्यस्ता अन्तर्राष्ट्रिय घटनाबाट पाठ सिक्न नेपालका सरोकारवाला पक्षहरूलाई आग्रह गरे।

“डुटेर्टे अवैध लागुऔषधविरुद्धको अभियानका क्रममा मानवता विरोधी अपराधमा दोषी देखिएपछि पक्राउ परे। फिलिपिन्सले अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) बाट नाम हटाए पनि उनलाई हेग लगिएको छ। नेपालमा पनि संक्रमणकालीन न्यायलाई टुंग्याउन विलम्ब गर्न मिल्दैन,” सांसद ढकालले भने।

नेपालमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग मार्फत द्वन्द्वकालीन घटनाहरूको टुंगो लगाउने प्रयास भए पनि पीडितहरूले न्याय पाउने विषयमा अझै अन्योल रहेको छ।

ढकालले सरकार र माओवादी नेतृत्वलाई शान्ति प्रक्रिया टुंग्याउन तिव्र पहल गर्न आग्रह गर्दै भने, “समयमै न्याय नपाइए यसको गम्भीर परिणाम आउन सक्छ।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM