वीरगञ्ज, फागुन २५– नेपाल कावेरी एकेडेमीले आफ्नो ११औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सव अवसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले नृत्य, संगीत र नाटक प्रस्तुत गर्दै सामाजिक तथा समसामयिक विषयवस्तुमा आधारित जीवन्त प्रस्तुति दिएका थिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, सिद्धार्थ इन्टरनेशनल कलेजकी निर्देशक तथा क्याम्पस प्रमुख डा. सुषमा तिवारी, उद्योगपति एवं समाजसेवी डा. लायन रमेश कुमार अग्रवाल, लायन्स क्लब अफ वीरगञ्ज संस्कृत गोल्डकी अध्यक्ष रितिका जयसवाल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन एकेडेमीका कार्यक्रम निर्देशक तथा प्रधानाध्यापक विशाल साहूले स्वागत मन्तव्यद्वारा गरेका थिए। उनले विद्यार्थीहरूको कला, क्षमता र उनीहरूको मेहनतलाई उच्च सम्मान गर्दै विद्यालयको शैक्षिक दृष्टिकोण र आगामी योजनाबारे प्रकाश पारे। त्यसक्रममा आयुषी तुलस्यानले विद्यालयले हालै सुरु गरेका नयाँ सुविधाहरू र भावी लक्ष्यबारे जानकारी गराएकी थिइन्।
विद्यार्थीहरूको प्रस्तुतिबाट उनीहरूको परिश्रम, शिक्षकहरूको मार्गदर्शन र विद्यालयको गुणस्तरीय शिक्षण पद्धति झल्किएको देखिन्थ्यो। कार्यक्रममा अभिभावकहरूले आफ्ना सन्तानहरूको प्रतिभा देख्दा गर्व महसुस गरेको प्रतिक्रिया दिएका थिए।
नेपाल कावेरी एकेडेमीका निर्देशक ओजस तुलस्यानले विद्यालयको अनुशासन, शिक्षामा विद्यार्थीहरूको प्रगति तथा शिक्षक तथा कर्मचारीहरूको सामूहिक प्रयासप्रति आभार व्यक्त गरे। उनले विद्यालयलाई अझ उत्कृष्ट बनाउन निरन्तर प्रयास गरिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक तथा आमन्त्रित पाहुनाहरूको उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको थियो।