२०८२ मंसिर २१ गते, आईतवार ००:०३

जाग्ला त ज्योमारे ?

ज्यो मा रे हजारी वै …

समय सकुशल हुँदो हो त, मन राख्नलाई भनम्, जोगले नै जुराउँदो हो त, फागुन ६ गतेदेखि फागुनभर रोल्पा मारीखोला नेरोफेरोका गाउँघर ज्योमारेमा झुम्न थाल्नेथिए । वै (फूल), अन (अन्न) र धनले कतिखेर आफ्नो नाम गाउलान् भनेर रातभर जाग्राम बसेर पर्खन थाल्नेथिए । सुस्त लय र तालमा बग्ने यो आदिवासी गीत पनि मारीखोले संगीतमा सुसाउने थियो– ज्यो मा रे हजारी वै …।

नवजात बच्चीदेखि आजको मितिसम्म अविवाहित युवतीका जनसंख्या अद्यावधिक हुनेथियो । पर्यावरण पारखी मगर ज्योमारेमा झुम्दै फूल, बालीनाली र पहिरन कैरन सुरु हुनेथियो ।

मारीपूर्वपट्टि जङ्कोट, वङबाङ, मारीचौर र डाङबाङमा ज्योमारे जिएका एक हूल महिलाले गएको महिना ज्योमारे जुग सम्झेका थिए । दाङ चौघेरा झरेको हूलले ज्योमारे जिएका जिन्दगी (जो कम्तीमा पैंतीस/चालीस वर्ष पुराना) सम्झँदै ज्योमारे तिर्सना मेट्न ज्योमारे गाएका थिए । गाउँदागाउँदै ज्योमारे जुगमा फर्के । तिनका मन र तन मारीखोलाको रहमा चुर्लुम्म डुब्दाखेरिभन्दा पनि बढ्ता ज्योमारेले भिजे ।

आफ्ना सङ (सहेली) डाक्दै ज्योमारे खेल्न गएको चालीस दशकतिरको तिनै साँझ सम्झेका थिए–

ऐ मनकला छिटो आ । त्यसपछि फरर्र सुनाएका थिए– धनमती, दिलमया, सुनमाली, मनमाला, मनरूपा, मनराखी, दिलखुसी, मनलाखी, मनसरा । सम्झेका कति सङले संसार छाडिसकेका थिए, कति सङ रोल्पामै थिए । स्मरणीय त के थियो भने, सङ सम्झाउने ज्योमारेले नै संसार छाडेको सम्झेर ती महिला भावुक भएका थिए ।

रोल्पाबाट दाङ झरेका महिला हूलमा थिए– हेमकुमारी पुन (५६), इन्द्रमाली घर्तीमगर (७३), तीर्थमाली घर्तीमगर (५७) सुर्जमाला घर्तीमगर (७१), सम्झनी पुन (८१), बुडी घर्तीमगर (७५), दलमाला घर्तीमगर (६०), मनकली घर्तीमगर (५३), बमकुमारी पुन (५२), बिलकुमारी पुन (५२) ।

*** ** 

फागुने भराको दिन । मिठो–मसिनो खाए (रोल्पा रुकुमका गाउँघरमा मिठोमसिनो खानु भनेको मासुभात थियो) । जङ्कोट ठीक पाल्लोपट्टि अर्थात् मारीखोलापारि घापामा भने अघिल्लो साँझ (फागुन ५ गते) देखि ज्योमारे सुरु भइसकेको थियो ।
ठूलो आँगनवाल घरमा भेला भए । गाउँघरमा आँगन नै कति हो र ? आँगनसँगै कम्द (बारी) जोडिन्थ्यो । सकेसम्म गाउँमाझको घरमा भेला भए ।

घर जङ्कोट घाडभुराको थियो ।

कति गाउँमा घाडभुराबाहेक मुक्खेका घरमा पनि ज्योमारे खेल्थे । कति घर भने सर्वसाधारणका पनि । प्रायः पैसरी नाच्ने दमाहा, दौरी, मादल, झ्याली र पैजन थकान्ने घरमा पनि ज्योमारे खेल्थे ।

मुक्खे र घाडभुरा पञ्च मूली थिए । यहाँ उल्लेख गरेको पञ्च पञ्चायतका पञ्च थिएनन् । मगर शासन पद्धतिवाल पञ्च थिए । पञ्चमा मुक्खे कार्यकारी प्रमुख थिए, घाडभुरा सल्लाहकार ।

रामेरिमे भयो । युवतीहरू गोलाकार बसे । वैको नाम लिंदैै गाउन थाले ।

गाएः ढुङ्रीफूल फुल्यो नि ! हाम्रो छेउमा ! झुप्पा लाग्यो गाउन आऊ । त्यसपछि सिरपाइला, सोमाया, बुराँस (गुराँस) आदि वनका वै गाए । घरमा छर्ने बर्खे वैका नाममा गाए । त्यसपछि हिउँदे वैका ।

जस्तोः हजारी फुल्यो नि ! हाम्रो छेउमा झुप्पा लाग्यो ! गाउन आऊ !

मखमली, बारमासे, गर्दौली (गोदावरी), चाइय, बामरी के छुट्नु ?

गाउँदागाउँदै महिला हूलले वैको व्याख्या गर्‍यो, ‘वैका नाम जान्नैपर्ने भयो, ज्योमारे गाउँदा । हामीले जान्नैपर्ने अन्नबालीको नाउँ पनि । हाम्रो गाउँ र छरछिमेकी गाउँमा जन्मेका नाबालिकादेखि युवतीसम्मका नाम ।’

तिनका व्याख्याले वै र मगर महिलाको सम्बन्ध सम्झायो । बालीनाली, वनस्पति र मगर महिला साइनो लगायो । मानिस र वनस्पति, कुल मिलाएर मानिस र प्रकृति साइनो सुनायो ।

उनीहरूले यसो पनि खुलाए कि, जङ्कोट, डाङबाङ, वङबाङ, नम्ली, मारीचौर नजिककै भेगमा पनि कुनै गाउँमा ज्योमारे मेलो वैबाट लाग्थ्यो त कुनै गाउँमा अविवाहित महिला जनसंख्या अद्यावधिबाट ।

वै गायन सकियो । शुरु भयो, आजको मितिमा सबभन्दा पछि जन्मेकी नवजात बच्चीको नाम गायनबाट । गाए, मनलाखी ।

नाउँ दोहोर्‍याउँदै गाए, ‘मनलाखी नानीको विवाह भयो जै जै भरिलो ।’

युद्धको इपिसेन्टर मगर मूल ज्यो मा रे केन्द्रमा रह्यो । भेला हुनु, अझ राति भेला हुनु विद्रोही माओवादी र सरकारको कर्फ्यू आदेश विपरीत थिए । युद्ध चलेपछि मगर संस्कृतिको बचेको ढुकढुकीले पनि धड्कन छाड्यो

त्यसपछि धनसरा, सुर्जमती, देउकला, तिर्सना गाए । अन्तिममा गाइएकी तिर्सना सबभन्दा बढी उमेरकी अविवाहित युवती थिइन् ।

नाम अद्यावधि गर्ने काम जस्तो ज्योमारे गायनको एउटा अध्याय सकियो ।

त्यसपछि युवतीहरूको दुई समूह भयो । एक समूह माइती भयो, अर्को समूह भान्ज । माइतीभान्ज ।

मामाचेली बिहे गर्ने मगर समुदायमा माइतीभान्ज भनेका ससुराल र ज्वाइँखलक थिए ।

ज्योमारे गाइरहेको बेला मात्र होइन, समूह बाँडिन लागेको बेला पनि पुरुषहरू आए, भाङ बाल्दै । भाङ भनेको उज्यालो थियो । तपाईंले मूलधारे बजारमा सुनेको गाँजावाला भाङ थिएन । भलै भाङ भाङ्ङु (मूलधारे बजारे भाषामा गाँजा)को रेसा निकालेको डाँठ वा रेसा निकालेको भिमलको डाँठ वा चोया वा टर्च पनि हुन सक्थ्यो ।

पुरुष त थिए, ज्योमारे दर्शक ।

दुई भागमा विभाजित तिनले अन (अन्नबाली)का नाउँ गाउन थाले । त्यसमा पनि पहिले बर्खे अन गाए ।

चौघेरामा उही जंकोट सम्झेर गाउन थालेः

ज्यो मा रे ज्यो जेठा मारसी धानको बिवै राइस्यो साटन देऊ (भान्जपक्ष)

ज्यो मा रे ज्यो जेठा मारसी धानको बिवै राइस्यो हाम्रै घरै छ (माइतीपक्ष)

गीतको भीडियो यहाँ हेर्नुस्

बस्, माइती पक्षले पनि सोही तरिकाले एकआपसमा अवाला पारे । अघि बढे । बर्खेपछि हिउँदे अनका नाउँ गाए । जस्तोः ताम (जौ), पालिमा (गहुँ) आदि । अनपछि धन गाए । रुना (तामा), जङ (फलाम) आदि धनहरूको नाम लिई भाञ्जले साट्न मिल्छ कि भने । माइतीले हाम्रो घरमा छ भने । यहाँ अन्न वा अन्नको बीउ छ या छैन भन्नुको अर्थ युवती छन् कि छैन भन्नु हो । बीउ वा अनको मतलब युवतीबारे सोधेको अर्थ लाग्थ्यो (बमकुमारी बुढामगरसँगको कुराकानी) ।

हरेक चरणमा अगाडि बढे । निहुरिएर ढोगे । त्यसपछि लामो स्वरमा प्रश्न गर्दै भाञ्जपक्षले गीत मेटे । माइतीपक्षले पनि भाञ्जपक्षतिर सोहीबमोजिम अघि बढे, उत्तर दिंदै पछि सरे ।

१९ दिनसम्म युवतीको जीवनचक्र गाए । जो चरण गाउँदा भाञ्जपक्षले केटीको उमेर र अवस्था ‘बढाएर’ गाए, माइतीपक्षले घटाएर । यसको अर्थ, छोरी छिटो विदा गर्न मन नहुनु थियो (बमकुमारी बुढामगरसँगको कुराकानी) ।

ज्यो मा रे ज्यो जे ठा एकै दिन फागुन जाँदा गर्भ बस्यो नि । दुई दिन फागुन जाँदा गर्भ पक्का भो । तीनै दिन फागुन जाँदा मासै पुग्यो नि । चारै दिन फागुन जाँदा बच्चा जन्मे छ । पाँचै दिन फागुन जाँदा न्वारन भयो नि । छै दिन फागुन जाँदा बामे सर्ने भो । सातै दिन फागुन जाँदा विस्तारै हिंड्ने भो । आठ दिन फागुन जाँदा दौडन सक्ने भो । नवै दिन फागुन जाँदा चोलो–गुनियो लायो नि । दशै दिन फागुन जाँदा पानी भर्ने भो । एघारै दिन फागुन जाँदा बारबरी ग्वाला भो । बाह्रै दिन फागुन जाँदा दाउरा काट्ने भो । तेह्रै दिन फागुन जाँदा खाना बनाउने भो । चौधै दिन फागुन जाँदा नूनै बोक्ने भो । पन्धै दिन फागुन जाँदा घर सम्हाल्ने भो । सोहै दिन फागुन जाँदा बाहुरे जाने भो । सत्रै दिन फागुन जाँदा बैस पूरा भो । अठारै दिन फागुन जाँदा बिहा कुरा चल्यो नि । उन्नाइसै दिन फागुन जाँदा लगन जुर्‍यो नि (ज्यो मा रे, मेमा स्जा, कोञ्जा मारुम वर्ष २ अंक ५, २०५६ चैत, पृ.६) !

लगन जुरेपछि गहना पहिराएर ल्याउँछौं भन्दै भाञ्जपक्षले गाए । माइतीपक्षले गहना/लुगा चाहिंदैन भन्दै अस्वीकार गरे । युवतीका गरगहना र लुगा (कानमा लाउने चेप्टे, गलै लाउने हार, चोलो, गुन्ने, धरा (पटुका) आदि) भाञ्जपक्षले पहिर्‍याई ल्याउला भनेर गाए । सवाल–जवाफ भएर गीत गाए ।

माइतीले गहना–लुगा कहाँ बनेको भनेर सोधे । गहना–लुगाबारे प्रश्नोत्तर पछि चार/सगुन खाने परम्परा अनुसार माइती खुसी गराउन वनचरा र जनावरका नाउँ गाउन थाले । जो कति खाने चलनमा थियो त कति नखाने । खाने चलनमा रहेका चरा र जनावरलाई माइती पक्षले ‘ल्याऊ’ भने, खाने चलन नभएकालाई ‘आफैं खाऊ’ भने ।

वनपछि घरपालुवा चरा र जनावरका नाउँमा गाए । वादविवाद चक्र्यो । अन्त्यमा खाने चलनका चरा र जनावर माइतीलाई दिए । माइतीले स्वीकारे ।

माइती र भान्ज बनेको युवतीहरूका दुई समूह अगाडि बढ्दै, पछाडि सर्दै भावमग्न गाइरहेको बेला पुरुषहरूले डोरीले बाँधे, लडाए ।

चौघेरामा महिला हूलमध्येकी एक वयोवृद्धा इन्द्रमाली घर्तीमगर(७३)ले भनिन्, ‘पुरुषले दमन गरेको भनेर सिर्जाएको हो, ज्योमारे । पुरुषले दबाउन खोजेर डोरोले बाँधेर पल्टाएका नि !’

यसरी लडाउने चलन भने कालान्तरमा जिस्कने र मनोरञ्जनमा परिणत भयो ।

त्यसपछि उनले आफ्ना बाबा मुक्खे मेहलसिंह पुनलाई उद्धृत गर्दै भनिन्– यो ज्योमारे त सत्य जुगमा सिर्जाएको रे ! नौ बहिनी थिए रे, ज्योमारे सिर्जाएका रे ! आइमाईले उब्जाएका रे ! दे तो हामी पनि हाम्रो तर्फबाट गरेको भनेर नाम महिलाले नाउँ राखे रे, ज्योमारे । छोराले भनेको मात्र लाग्ने, हाम्रो पनि लाग्ने हुनुपरो नि भनेर फागुने भरा (फागुन ६ गते) गरम् तो भनेर सिर्जाएका रे ! छोरा मान्छेको मात्र जीत, नियम बनाए भनेर दिदीबहिनीका नाम काढेर गाउने ज्योमारे !’

भाञ्जपक्षले युवतीलाई फकाउन थाले । युवतीले साहीमासा राखिसकेको भने । माइतीपक्षले इन्कारे । भान्जपक्षले निकोमनले नदिए जबर्जस्त लाने भनेर गाए ।

गाउँदागाउँदै माइतीपक्ष छोरी दिन राजी भए । गाए, ‘लैजाऊ तब, साक्कै फुपू, साक्कै फुपाजु, साक्कै भेना, साक्कै साली हो, हामरी सोला बिन्ती व्याही पट्याउ–व्याही पट्याउ !’

ज्योमारे गाउने कोही मूल त कोहीले गला गाँस्ने सहायक थिएनन् । बहुनायकत्व थियो । सबका सबले गाए ।

राजी भएपछि गोलाकार उभिए । गाउँदै भएभरको बल लगाएर एकपटक माइतीपक्षले त अर्कोपालि भाञ्जपक्षले हुर्र हुर्‍याए । पटकपटक गर्दै छक्याए । अन्त्यमा भाञ्जपक्षले लिएर गए । माइती लठी टेक्दै छोरी खोज्न गए । राजीबिराजी खुट्याए । राजीबिराजी खुट्याउने भनेको मनखुसी आएको कि जबर्जस्त हो भनेर सोध्नु थियो । राजी छु भनेपछि माइती घर फर्के ।

सगुनसाथ दुलाहादुलही माइतीमा भित्र पसे । भित्र पस्न जाने भनेको दुलहीसाथ माइतीमा जानु हो ।

*** ***

एक रात बिराएर ज्योमारे गाउँदागाउँदै फागुन महिना बित्यो । फागुन मसान्त वा चैत १ गते वै उडाउने तय भयो ।

सहभागी त कोही साना थिए कोही ठूला । ज्योमारे खेल्न महिनाभर कति रात आए ? कोही त एक–दुई रात मात्र आएका थिए । हरेकका नाउँमा कापु, मुख्ली लगायत कति फूल त कति झार लिए । तिनलाई राख्न चारकुने लुगा खोजे । खोजेको बर्को थियो, बोल्ला (गाँजा रेसाले बुनेको लुगा) थियो, खास्टो थियो, खुप्सी थियो । यसकारणले चारकुने कि, उचाल्न सजिलो होस् ।

वै उडाउने रात गाउँदागाउँदै एक बज्यो । दुईजना धामी (युवती) बोल्लाको चारमध्ये दुदुई छेउ समातेर आँगनमा निक्ले । जहाँ जुनताराले तिनलाई पर्खिरहेका थिए । तिनलाई देख्नेबित्तिकै मुसुक्क मुस्काए । जूनताराका मुस्कान मिसाएर दुई धामी पनि मुस्काए । त्यसपछि बोल्लाको चारकुना समातेर तयारीमा बसे । ‘ज्यो मा रे ज्यो जेठा, बुराँसैको मुली थुंगा सर्ग चरायौं’ भनेर गाए । भित्रबाट गाउँदै छानामुनि पुगे । गीत थामिएलगत्तै दुई धामीले बोल्लामा राखिएका वैलाई सर्ग(आकाश)तिर उफारे । वै बोल्लामा झरे । कति वै भने उछिट्टिए । एक्लाएक्लै भए ।

बोल्लामा नझरी भुइँ झरेका, एक्लाएक्लै भएकाका नाउँमा ज्योमारे खेल्न गएका सबै शोकमग्न भए । अर्को वर्ष सहभागी नहुने अड्कल काटे । कोही मर्ने कोही बिहे गरी जाने त कोही बसाइ सरी टाढा जाने भविष्यवाणी गरे ।

बोल्थे खाम, गाए खस नेपालीमा

रोल्पा जंकोटबाट दाङ चौघेरा बसाइँ सरेका मगर समुदायका महिला ज्योमारे गाउँदै ।

मगर खामभाषीले ज्योमारे खस नेपालीमा गाए । बोल्थे खाम भाषामा त गाउँथे खस नेपालीमा (नवीन विभास, बोल्छन् मगर, गाउँछन् खस नेपाली, कान्तिपुर दैनिक, ६ पुस २०८१) । तिनले सुनाए, ‘सानोमा सुन्दा पनि खाममा गीत थिएन ।’

तिनीहरूले दुई वर्षअघि दाङ मगर संघले गरेको कार्यक्रम सम्झिए । जहाँ उनीहरूले ज्योमारे गाएका थिए । तर, खस नेपालीमै ।

‘कीर्तिमान मामाले खाममा बनाम् भने, हामीले त बनाउन सकिनम् । जान्दै जानिनम्’, उनीहरूले भने । मगरविद् बमकुमारी बुढामगरले भने खस नेपालीमा गाउने ज्योमारेलाई खाम भाषामा अनुवाद गरी छपाएकी थिइन् (ज्यो मा रे, मेमा स्जा, कोञ्जा मारुम वर्ष २ अंक ५, २०५६ चैत, पृ.१–७) ।

*** ***

चौघेरामा महिला हूलले ज्योमारे गाउँदा सम्झिएँ, सदरमुकाम लिबाङ पढ्दाखेरि देखेको ज्योमारे । त्यो ज्योमारे मगरको थिएन, क्षेत्रीको थियो । लिबाङस्थित बालकल्याण माध्यमिक विद्यालय (हाल प्लस टु) रहेको थलिबाङसँग जोडिएको फल्लेढारा । त्यो ज्योमारे डाँगी क्षेत्री युवतीहरूको थियो । यसले भन्थ्यो, ज्योमारे रोल्पाका क्षेत्री समुदायसम्म पनि फैलिएको थियो ।

ज्योमारेका नाउँमा एउटा सुखद् समाचार भने छ । त्यो हो, ५३ वर्षपछि ज्योमारे जिएको गाउँका छिमेक थबाङमा नचारु जागेको समाचार । स्थानीय तन्नेरीका जोडबलले जागेर नचाउरु त रोल्पा रुकुमका मेला महोत्सवमा देखाइने नाचमध्ये एउटा प्रमुख नाच भएको थियो ।

त्यसबेला छोट्टी बस्न जानु र ज्योमारे खेलेको हेर्न जानुलाई ‘ट्याबु’ बनाइएको थियो ।

होलीको रात फल्लेढारा ओर्लेका थियौं, ज्योमारे हेर्न । फल्लेढारा सिरानमा पश्चिम रोल्पाका विद्यार्थी हामीहरूको डेरा थियो । मेरा रुममेट विष्णुकुमार तुफान, श्यामकुमार बुढामगर, छिमेकी कोठाका (केवरी घर भएका) गोविन्द चन्द, धरम चन्द, तारक चन्द र बेगम चन्द र (मारीचौर घर भएका) चक्रबहादुर बुढाहरू गएका थियौं । ज्योमारे गीतको रंगले भन्दा पनि होलीको रंगले रंगिएर डेरा फर्केका थियौं । त्यो ज्योमारे हेरेको चालीस दशकको आखिरीतिर थियो ।

ज्योमारे बचेका रोल्पाका गाउँ विकास समिति ह्वामा, कोटगाउँ, कोर्चाबाङ, भाबाङ र सदरमुकाम पनि रहेको लिबाङ थिए । लिबाङको फल्लेढारा सहित रेउघा र मूलपानी थिए । मूलपानी र रेउघाका मगरबस्ती थिए । फल्लेढारा थलिबाङसँगै जोडिएको थियो । थलिबाङ सदरमुकाम रहेको बजार लिबाङसँग जोडिएको थियो ।

किन जिउँदो रहेन ज्योमारे ?

पृथ्वीनारायण शाहको गोर्खा विस्तारसँगै मगर खामभाषा र तिनका संस्कृतिमाथि हस्तक्षेप तिगुनियो । पञ्चायतमा चौगुनियो । मगरले बचाउन सकेनन् (बमकुमारी बुढामगरसँगको कुराकानी) । बदलामा हिन्दु संस्कृति लाद्ने क्रम बढ्यो । बहुदल आयो । त्यसपछि आदिवासी जनजातिका अधिकार कागजी घोडा बनाए, प्रभुत्वशालीहरूले आफ्नो संस्कृति विस्तारित र स्थापित गरे (बमकुमारी बुढामगरसँगको कुराकानी) ।

मगरविद् बमकुमारी बुढामगरले ज्योमारे जिएको मारीखोला भेगमा बचेको मगर संस्कृतिलाई ‘आखिरी ढुकढुकी’ भनेकी छन् । त्यही ढुकढुकी भएकै भेगमा रातिमा भेला हुन पनि असुरक्षित भयो । ज्योमारे नजिउनुको एक कारण युद्ध पनि थियो ।

ज्योमारे खेल्ने मगर बस्तीमा लडाइँथला बने, संयुक्त जनमोर्चा नेपालका कार्यकर्ता एकातिर, अर्कोतिर सरकारी पुलिस र सरकारी पार्टी कांग्रेस कार्यकर्ता । झडप सुरु भयो । माओवादीले राजनीतिक रङ दियो, ग्रामीण वर्ग संघर्ष । यो थियो, चालीस दशकको अन्त्यतिर । पचासको दशक सुरु भएपछि त युद्ध रिहर्सल रामबहादुर थापा बादलले सिज अभियान नै चलाए । गिरिजाप्रसाद कोइराला सरकारले रोमियो अपरेसन चलायो । जनमोर्चा कार्यकर्ता नाउँमा रोल्पामा मुद्दा खेती सुरु भयो । मुद्दा परेका जनमोर्चा खोज्ने निहुँमा पुलिस अपरेसन सुरु भयो । राति–राति गाउँ घेरामा परे । ज्योमारेमा असर पर्‍यो ।

ज्योमारे गाउने गाउँ नै जनमोर्चाका कार्यकर्ताका गाउँ थिए । माओवादी थला थिए । जङ्कोट, मारीचौर, डाङबाङ, वङबाङ, नम्ली वर्षमान पुन अनन्त, हरिमान पुन बरुण, ओनसरी घर्तीमगरको गाउँ थियो । घापा, कोर्चाबाङ दीपेन्द्र पुन सिजलका गाउँ थिए भने भाबाङका सर्‍वा, बाछे, दहबाङ केशबहादुर बाँठामगर सुवासका । सदरमुकामकै रेउघा, मूलपानीका के कुरा ।

२०५२ फागुन १ गते ज्योमारे खेल्ने गाउँका दक्षिण पश्चिममा रहेको होलेरी पुलिसचौकी हानेर माओवादीले युद्ध फायर खोल्यो । कोर्चाबाङ घापातिर ज्योमारे सुरु गर्ने पाँच दिन बाँकी थियो भने मारीखोला पूर्व जङ्कोटतिर ६ दिन । राति आएर सोत्तर पारे के गर्ने ? सरकारले ‘दोहोरो भिडन्त’ भने खल्लास् हुन्थ्यो । ज्योमारेले जिएका गाउँ मारीखोला नेरोफेरोका सदरमुकाम लिबाङ र त्यसको पश्चिमतिर जोडिएका कोटगाउँ, ह्वामा, जंकोट, भाबाङ, कोर्चाबाङ थिए । जहाँ खामभाषा बचेको थियो, ज्योमारे पनि ।

युद्धको इपिसेन्टर मगर मूल ज्यो मा रे केन्द्रमा रह्यो । भेला हुनु, अझ राति भेला हुनु विद्रोही माओवादी र सरकारको कर्फ्यू आदेश विपरीत थिए । युद्ध चलेपछि मगर संस्कृतिको बचेको ढुकढुकीले पनि धड्कन छाड्यो ।

ज्योमारे नजिउनुको अर्को कारण आधुनिकता थियो । त्यो भनेको छोरीहरू पनि स्कुल जान थाले । स्कुल जान थालेपछि ज्योमारे जान कम भयो ।

ज्योमारे जाग्ला त ?

ज्योमारे जिएको बेलामा जस्तो हाम्रो परिवार संरचना नै फेरियो । ज्योमारे जिएको बेलामा जस्तो हाम्रो पेशा पनि फेरियो । हिजो खेती थियो । आज फेरियो । आज खेती मात्र रहेन ।

उसो भए, ज्योमारे नजिउने नै भयो त ? फागुन महिनाभर जिउने ज्योमारे जिउने सम्भावना ‘स्लिम’ भयो । ज्योमारे जिएछ भने पनि होमस्टे, सांस्कृतिक कार्यक्रममा मात्र ।

ज्योमारे नजिउँदा के भयो ? छोरी जनसंख्या अद्यावधि नहुने भयो । मारीखोला नेरोफेरोका वै, बालीनालीले मारीखोले भाकामा आफ्नो नाम गाएको सुन्न नपाउने भए । र, ज्योमारे जिएका गाउँमा महिलाले वै, अन्नबाली र आफू जस्तै दिदी–बहिनीका नाउँमा गाउन नपाउने भए । ज्योमारेमा जिएकाले गाउन नपाउनु मात्र कहाँ थाती रह्यो र ? प्रकृति र मानिसको, महिला र वैको, महिला र अन्नबालीको सम्बन्धलाई साँच्ने चौपारी नै भत्क्यो । युवायुवतीले आफ्ना जीवनसाथी रोज्ने थलो पनि भत्क्यो । पश्चिम रोल्पा राङ्सी भनभनेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सदरमुकाम लिबाङ स्कुलमा पढ्ने बेला मारीचौरमा ज्योमारे खेलेको हेर्न जाँदा उनकी पत्नी भेटेका थिए (नन्दबहादुर पुन ‘पासाङ’ सँगको कुराकानी) ।

ज्योमारेका नाउँमा एउटा सुखद् समाचार भने छ । त्यो हो, ५३ वर्षपछि ज्योमारे जिएको गाउँका छिमेक थबाङमा नचारु जागेको समाचार (नवीन विभास, ५३ वर्षपछि थबाङमा नचाउरु, कान्तिपुर दैनिक, २०८० असार ३०) । स्थानीय तन्नेरीका जोडबलले जागेर नचाउरु त रोल्पा रुकुमका मेला महोत्सवमा देखाइने नाचमध्ये एउटा प्रमुख नाच भएको थियो ।

ज्योमारेले पूरापूर सास नफेरेको यही फागुनमा २९ वर्ष पूरा भयो । के नचाउरु जस्तै ज्योमारे पनि कुनै दिन जाग्ला ?

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM