२०८२ असार २५ गते, बुधबार १४:२५

नेपालगन्जमा नेपाली सेनाको ‘तेस्रो रनिङ शिल्ड प्रतियोगिता’ सुरु




बाँके । नेपाली सेनाको बज्र दल गणको आयोजनामा ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामग्री प्रदर्शनी २०८१’ शुक्रबारदेखि नेपालगन्जको राँझामा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन बज्र दल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, इम्प्यानल्ड स्कुल रनिङ शिल्ड प्रतियोगिता सञ्चालक समिति अन्तर्गत बाँके संयोजक किशन गुरुङ र बर्दिया संयोजक जीवन मल्लले संयुक्त रूपमा गर्नुभएको थियो।

प्रतियोगितामा बाँके र बर्दिया जिल्लाका नेपाली सेनासँग इम्प्यानल्ड गरिएका विद्यालयमध्ये बाँकेबाट सात र बर्दियाबाट चार गरी कुल ११ विद्यालयका खेलाडी सहभागी छन्। प्रतियोगिता चार विधामा— छात्र फुटबल, छात्रा भलिबल, छात्र कबड्डी र छात्रा कबड्डी— सञ्चालन हुने प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलाडी’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, टिम भावना, शारीरिक तथा मानसिक विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। साथै, प्रतियोगिताबाट उत्कृष्ट प्रतिभाहरू पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मद्दत पुग्ने श्रेष्ठले बताउनुभयो।

प्रतियोगिता फागुन १२ गते समापन हुनेछ। समापनका अवसरमा उत्कृष्ट विद्यालय तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनुका साथै सैनिक सामग्री प्रदर्शनीको समेत आयोजना गरिने छ।

बज्र दल गणले २०७९ सालदेखि नेपाली सेनासँग इम्प्यानल्ड विद्यालयहरूसँग समन्वय गरी रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM