मकवानपुर। मकवानपुरको थाहा नगरपालिका-५ मा बुधबार राति भीरबाट लडेर ३२ वर्षीय राजकुमार पाख्रिनको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, पाख्रिन बिवाहको भोज खाएर राति करिब ११:५० बजेतिर थाहा-८, दामगढीबाट फर्कदै थिए। उनले थाहा-७ स्थित भट्टीडाँडामा रहेको पार्वती गोलेको खाजाघरमा चुरोट किनेर पिसाव गर्न गएको समयमा सोही खाजाघरको पछाडि रहेको भीरबाट करिब २०० मिटर तल लडेका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्र.नि. सबिन बाबु अर्यालको नेतृत्वमा घटनास्थलमा पुगेको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान पूरा गर्दै शवको मुचुल्का उठाएको छ। पाख्रिनको शव पोष्टमार्टमको लागि हेटौडा अस्पताल पठाउने तयारी भइरहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
















