२०८२ असार २८ गते, शनिबार २२:१०

नेपाल प्रहरी दक्षिण एसियामा उत्कृष्ट, नयाँ विधेयकले प्रहरी संगठनलाई अझ प्रभावकारी बनाउने: सांसद ढकाल

काठमाडौँ/प्रतिनिधि सभाका सांसद एकनाथ ढकाल ले नेपाल प्रहरी सम्बन्धी नयाँ विधेयकको स्वागत गर्दै, नेपाल प्रहरीलाई दक्षिण एसियामा उत्कृष्ट भएको बताएका छन्। उनले विधेयकलाई कानुनी रूपमा सुधार र एकीकरणको कदमको रूपमा प्रशंसा गर्दै, प्रहरीको कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे।

प्रतिनिधि सभा मा प्रहरी ऐन २०८१ माथिको छलफलमा भाग लिंदै सांसद ढकालले भने, “नेपाल प्रहरी अपराध अनुसन्धान र सरकारी वकिल अभियोजनसँग सम्बन्धित छ। मुलुकको सुरक्षा व्यवस्थामा बाह्य सुरक्षा नेपाली सेना र आन्तरिक सुरक्षा नेपाल प्रहरी द्वारा नियन्त्रित हुन्छ।” उनले प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान र शान्ति सुरक्षा प्रदान गर्नु भएको उल्लेख गर्दै, प्रस्तुत विधेयकले नेपालको प्रहरी सेवामा सुधार ल्याउने अपेक्षा व्यक्त गरे।

ढकालले नेपालको सीमित साधन र प्रविधिका बाबजुद, नेपाल प्रहरीको कामलाई दक्षिण एसियामा उत्कृष्ट ठहर गरेका छन्। “मलाई लाग्छ दक्षिण एशियामा नेपाल प्रहरी एक नम्बरमा आउँछ, र यो अरुले पनि स्वीकार गरेका छन्,” उनले भने। साथै, उनले नयाँ विधेयकको महत्त्वलाई रेखांकित गर्दै भने, “यो विधेयकले प्रहरी ऐन २०१२ लाई खारेज गर्दै संघीयता र संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ।”

सांसद ढकालले प्रहरी संगठनलाई थप व्यवस्थित, व्यवसायिक, जनउत्तरदायी र पारदर्शी बनाउन नयाँ ऐनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले प्रहरीको मनोबल उच्च राख्ने र प्रविधिमैत्री बनाउने दिशामा ऐनले योगदान पुर्‍याउने टिप्पणी गरे। साथै, उमेर हद र अमर प्रहरी को व्यवस्थापनलाई स्वागतयोग्य मान्दै, नयाँ ऐनले प्रहरी संगठनलाई थप मजबुत र पेशेवर बनाउने बताएका छन्।

सांसद ढकालले आइजिपी को नियुक्तिमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै, राजनीतिक हस्तक्षेप को अन्त्यको पक्षमा रहेको बताए। “प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप रोक्न नयाँ ऐनले स्पष्ट व्यवस्था गरेको छ,” उनले भने। उनले यसलाई प्रहरीको प्राविधिक सेवामा थप स्पष्टता ल्याउनका लागि आवश्यक कदम ठहर गरे…!

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM