२०८३ असार ७ गते, आईतवार १२:१२

अछाममा राष्ट्रपति रनिगं शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा




अछाम । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारा दिइएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिगं शिल्ड प्रतियोगिता चौरपाटी गाउँपालिकामा हुने भएको छ । फागुन ७ गते सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले बताउनुभयो ।

प्रतियोगिताको लागि खेलमैदान लगायतका आवश्यक पूर्वाधारको तयारी पुरा भएको अध्यक्ष साउदले बताउनुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष साउदले बताउनुभयो ।

उद्घाटनको दिन ७ गते चौरपाटी गाउँपालिकाका ७ वटै वडाका स्थानीय कला तथा संस्कृति झल्किने झाँकीहरू प्रदर्शन गरिने तयारी छ । साथै प्रतियोगितामा कलाकार जनक साउद (अछामी माग्ने बुढा) भीम बिष्ट (अछामी रेखा) टेक बहादुर बोगटीले समेत आफ्नो कला प्रस्तुत गर्ने छन् भने देउडा खेलका लागि कलाकार चित्रा शाहीलाई समेत आमन्त्रण गरिएको जिल्ला खेलकुद समिति अध्यक्ष केशर खड्काले बताउनुभयो ।

प्रतियोगिताका लागि अछामका १० वटै पालिकाबाट करिब ७ सय खेलाडी सहभागी हुने जिल्ला खेलकुद समिति अछामका कार्यालय प्रमुख हर्क साउदले बताउनुभयो ।

यसपटक प्रतियोगितामा महिला पुरुष भलिबल, महिला पुरुष कबड्डी, कराते, एथ्लेटिक्स तर्फ हाई जम्प, लङ जम्प, सटफुट, ज्याब्लिगं थ्रो, दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर लगायतका खेल समावेश छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM