काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदै छ ।
आइतबार भएको प्रि–म्याच कन्फ्रेरेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताउनुभयो ।
यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएकाले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन् ।
नेपालले सोमबार आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग खेल्दै छ । खेल दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबिच हुनेछ ।
किर्गिस्तानसँग ६ वर्षअघि खेलमा नेपाल ८–२ गोलले विजयी भएको थियो । त्यसपछि खेलेको छैन । किर्गिस्तानले अहिले खेल्ने फुटबल फरक छ । लेबनानसँग गत वर्ष वाफ च्याम्पियनसिपमा नेपाल विजयी भएको थियो । तर, म्यानमारसँग भने नेपालले ३ खेल खेल्दा जित्न सकेको छैन । यस पटक घरेलु मैदानमा घरेलु दर्शक माझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ ।
कप्तान एन्जिलाले यसअघि भएका गल्ती कमजोरीहरू सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताइन् । यसैगरी म्यानमार, लेबनान र किर्गिस्तानका प्रशिक्षक र कप्तानले यश प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको र राम्रो प्रदर्शन गर्ने बताए । प्रतियोगितालाई आसन्न एसियन वुमन्स कप क्वालिफायरको तयारीको रूपमा लिएको बताए ।