काठमाडौं/काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा नेपालभाषा विषय अध्यापन गर्ने शिक्षकहरूको संयुक्त संगठन ‘नेपालभाषा स्यनामि दबू’ का पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्। नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई शपथ गराएका हुन्।
टेकुस्थित नेवाः देय् दबूको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष बज्राचार्यले नयाँ पदाधिकारीहरूलाई खादा ओढाएर स्वागत गरे। गत माघ ६ गते गठन भएको नेपालभाषा स्यनामि दबूले नेपालभाषा अध्यापन गर्ने शिक्षकहरूको हक, हित, तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने लक्ष्य राखेको छ।
शपथ ग्रहणपछि संगठनका अध्यक्ष रितेश मल्लले नेपालभाषा शिक्षकहरूको अधिकार सुनिश्चित गर्न अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे। उनले काठमाडौं महानगरपालिका, ललितपुर, कीर्तिपुर, र तोखाका नेपालभाषा शिक्षकहरूसँगै निजी विद्यालयका शिक्षकहरूलाई पनि संगठनमा समावेश गर्दै लैजाने योजना रहेको जानकारी दिए।
त्यसैगरी, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले नयाँ पुस्तालाई नेपालभाषा, संस्कृति, र सम्पदा सिकाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले नेपालभाषा शिक्षकहरू केवल अध्यापनमै सीमित नरही, नेवार समुदायका भाषा-संस्कृति अभियन्ताका रूपमा क्रियाशील हुनुपर्ने धारणा राखे। साथै, नेपालभाषा शिक्षकहरूको रोजगार सुरक्षाका लागि ऐक्यबद्ध हुनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल, सचिव मचाराजा महर्जन, र काठमाडौं जिल्ला समितिका वरिष्ठ कोषाध्यक्ष श्रीजनमान श्रेष्ठ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
















