जारी शृंखलामा नेपालले आफ्ना तीन खेलहरू खेलिसकेको छ जहाँ तीनवटैमा पराजित भएको छ । नेपालले नेदरल्याण्डसलाई दुई खेल सुम्पिँदा थाइल्याण्डसँग एक खेलमा पराजित भएको छ । यी हारले नेपालको शृंखला जित्ने सम्भावना कमजोर बनिसकेको छ ।
२१ माघ, काठमाडौं । नेपालमा लामो समयपछि महिला अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ । काठमाडौंमा अघिल्लो सातादेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखला सुरू भएको छ ।
सबै टोलीले एक अर्कासँग ३-३ खेल अर्थात् एक टोलीलाई ६ खेल खेल्ने व्यवस्थासहित आयोजित शृंखलामा नेपालले आफ्ना तीन खेलहरू खेलिसकेको छ जहाँ तीनवटैमा पराजित भएको छ ।
नेपालले नेदरल्याण्डसलाई दुई खेल सुम्पिँदा थाइल्याण्डसँग एक खेलमा पराजित भएको छ । यी हारले नेपालको शृंखला जित्ने सम्भावना कमजोर बनिसकेको छ ।
विगतको तुलनामा टोलीको प्रदर्शनमा सुधार आएको भएपनि नेपाली टोलीको फिनिसिङदेखि लिएर केही कुरामा अझै आवश्यक सुधार हुन नसक्दा तीनवटै खेलमा पराजित भएको छ ।
जारी शृंखलामा नेपाल अझै पनि केके कुराहरूमा चुकिरहेको छ त ? आज चर्चा गर्नेछौं ।
ब्याटिङ अर्डर
नेपालको ब्याटिङमा पहिलेका खेलहरूमा भन्दा धेरै नै सुधार देखिएको छ । पहिले बनाउनेभन्दा नेपालले रनगति र स्कोरिङ क्षमता दुवैमा सुधार गरेको छ । तर ब्याटिङ अर्डर असमान हुँदा ब्याटरको प्रदर्शनमा प्रत्यक्ष असर परिरहेको छ ।
नेपालले पहिलो खेलमा ठुलो स्कोर चेज गर्दा सीता राना मगर र सम्झना खड्का ओपनिङमा आएका थिए भने कप्तान इन्दु बर्मा त्यसपछि अनि कविता कुँवर, रुबिना क्षेत्री र पुजा महतो आएका थिए ।
दोस्रो र तेस्रो खेलमा ममता चौधरीले सम्झनासँग ओपन गरिन् भने दोस्रो खेलमा इन्दु वान डाउन र पुजा २ डाउनमा आउँदा तेस्रो खेलमा पुजा वान डाउन र इन्दु २ डाउन आएकी थिइन् । सीता त्यसपछिका दुई खेलमा भने तल्लोक्रममा नै आइन् ।
यो ब्याटिङ अर्डरमा लगातार परिवर्तन गरिरहनुका पछाडि प्रशिक्षकको केही एक्सपेरिमेन्ट पनि हुन सक्छ वा अवस्था अनुसार चान्स लिएको हुन सक्छ । तर यसले खेलको नतिजामा भने कुनै परिवर्तन ल्याएको छैन ।
एउटा फिक्स्ड ब्याटिङ अर्डर नभएमा त्यसले ब्याटरहरूको प्रदर्शनमा असर गरेको हुन्छ । कम्तिमा पनि चार नम्बरसम्मका ब्याटरहरूको पोजिशन निश्चित हुनुपर्छ ।
पुजाले यसअघि तल्लोक्रममा खेल्ने गरेकी थिइन् । उनी निडर भएर ठुला शटहरू खेल्न सक्षम हुने भएकाले उनलाई रुबिनाभन्दा पछाडि ल्याउँदा नै उपयुक्त हुन्छ । ओपनिङमा सम्झना र ममता तथा त्यसपछि इन्दु र रुबिना अनि पुजा, सीता र कविता जोशी फिनिसर हुन सक्छन् ।
रनिङ बिटवीन विकेट
नेपाली ब्याटरहरूको रनिङ बिटवीन द विकेट केही फितलो देखिएको छ । यसमा खेलाडीहरूको फिटनेसको पनि समस्या देखिएको छ ।
मिडल ओभरहरूमा सिङ्गल डबल गर्दै बाउन्ड्रीहरूको पनि आवश्यकता रहन्छ । रनिङ बिटवीन द विकेटमा कम्युनिकेशन र प्रेजेन्स अफ माइन्डको पनि आवश्यकता हुन्छ ।
नेपाली ब्याटरहरू फिल्डरको हातमा बल हुँदा सिङ्गल लिन दौडिएर रनआउट भइरहेका हुन्छन् । त्यसैगरी २ रन पूरा गर्न सक्ने अवस्थामा द्विविधामा देखिइरहेका हुन्छन् ।
आइतबारको खेलमा रनिङमा केही सुधार देखिएको थियो । तर अन्तिममा फिनिसिङमा चुक्दा नेपालले लगातार तेस्रो हार व्यहोरेको थियो ।
ब्याटिङ अर्डर निश्चित बनाउन सके रनिङ बिटवीन द विकेटको समस्या पनि त्यसैसँग समाधान हुन्छ ।
फितलो बलिङ
नेपाली टोलीको बलिङ पनि त्यति बलियो देखिएको छैन । पहिलो खेलमा फितलो बलिङकै कारण नेपालले धेरै रन व्यहोरेको थियो । उक्त खेलमा डेब्यू गरेपनि बाँयाहाते स्पीनर मनिषा उपाध्यायले बलिङ गरिनन् ।
दोस्रो खेलमा पनि मनिषाले किफायती बलिङ गर्दा अन्य बलहरूबाट खास योगदान हुन सकेन । तेस्रो खेलमा सीता राना मगरले ५ विकेट लिएर रनगति कम गर्दै नेदरल्याण्ड्सलाई करिब २० देखि २५ रन कममै रोक्न सहयोग गरिन् ।
बलिङमा केही कसिलो हुन सके स्कोर डिफेन्ड गर्दा ब्याटरहरूलाई दबाब कायम गरी खराब शटहरू खेलाएर आउट गर्न सकिन्छ । त्यसैगरी जति कम योगफलमा रोक्न सक्यो त्यति दोस्रो इनिङमा ब्याटिङ गर्न सहज हुन्छ ।
फितलो फिल्डिङ
नेपाली टोलीको फिल्डिङ पनि केही फितलो देखिएको छ । विकेटकिपरले स्टम्पिङ मिस गर्ने, फिल्डरले बल कन्ट्रोल गर्न नसक्दा विपक्षीले सिङ्गललाई डबलमा परिणत गरेको देखिन्छ ।
थाइल्याण्डसँगको खेलमा पनि मिसफिल्ड र एउटा महत्वपूर्ण क्याच छाड्नु नेपालका लागि महंगो साबित भएको थियो । पूर्वकप्तान रुबिनाको बलमा कप्तान इन्दुले लङअफमा सेट ब्याटरको क्याच छाड्दा नेपाल जितबाट टाढा बनेको थियो ।
त्यस्तै किपरबाट मिस भएर बाईको रूपमा बल चौकाका लागि गइरहेको हुन्छ । सिनियर टिमका लागि डेब्यू शृंखला खेलिरहेकी अलिशा यादवले सेट हुन केही समय लिइरहेकी छन् ।
खेल जित्नका लागि ब्याटिङ र बलिङसँगै फिल्डिङको पनि उति नै भूमिका हुन्छ । त्यसकारण फिल्डिङमा सुधार हुन सके विपक्षी ब्याटरहरूलाई रन लिन नदिन दबाब दिन सकिन्छ ।
जिम्मेवार ब्याटिङको कमी
कुनै पनि टोलीको जितका लागि ब्याटिङमा जिम्मेवार भएर खेल्न जरुरी हुन्छ । विशेषगरी टप अर्डरका ब्याटरहरूले जिम्मेवार भएर खेल्नुपर्ने हुन्छ ।
टप अर्डर नचल्दा मिडल अर्डरमा दबाब पर्छ र उनीहरू पनि ठुलो शट खेल्ने धुनमा आउट भइरहेका हुन्छन् भने रिस्की सिङ्गल लिने क्रममा रनआउट हुने गर्छन् ।
आइतबारको खेलमा इन्दुले अलि समय क्रिजमा टिकेर स्ट्राइक रोटेट गर्दै नेपालको आशा जीवितै राखेकी थिइन् । तर लगातार दुई अनुभवी ब्याटरहरूको विकेट गुम्दा इन्दु पनि ठुलो शट खेल्ने धुनमा आउट भइन् ।
ब्याटरहरूले स्ट्राइक रोटेट गर्दै पार्टनरसीप बनाउँदै इनिङ बिल्ड गर्ने र सँगसँगै स्कोरबोर्डलाई पनि ध्यानमा राखेर शटहरू खेल्नुपर्ने हुन्छ ।
स्कोरबोर्डको प्रेसरलाई ह्यान्डल गर्न नसकेमा ब्याटरहरू खराब शटहरू खेलर आउट हुने गर्छन् । त्यसकारण सिनियर खेलाडीले जिम्मेवार इनिङ खेल्न जरुरी हुन्छ ।
***
नेपालले अब मंगलबार थाइल्याण्ड, बुधबार नेदरल्याण्ड्स तथा शुक्रबार थाइल्याण्डसँग अन्तिम खेल खेल्ने छ । नेपाललाई तीनवटै खेल जित्नुपर्ने दबाब रहनेछ ।
विशेषगरी कमजोरीहरूलाई सुधार गरी त्यसैअनुसारको योजना बनाएर खेल्न सके नेपालले अब बाँकी तीनवटै खेल जितेर शृंखला जित्ने सम्भावना अझै पनि कायमै राख्न सक्छ ।