Sunday, February 9, 2025
घरसमाचारके पढाउँदैछन् पार्टीहरू ? कस्ता छन् पाठ्यसामग्री ?

के पढाउँदैछन् पार्टीहरू ? कस्ता छन् पाठ्यसामग्री ?

२१ माघ, काठमाडौं । राजनीतिक वृत्तमा एउटा ठट्टा चल्ने गर्छ, ‘कांग्रेस हुन पढ्नुपर्दैन । कम्युनिस्ट पढ्छन्, तर आफ्नै ग्रन्थमात्र ।’ भनिन्छ, पहिलेका कार्यकर्ता सिँगै किताब पढेर बहसमा ओर्लने गर्थे । पछि अखबार पढेर बहस हुन थाल्यो । अझ पछि शीर्षक र हाइलाइट पढेर, अझ पछि त फेसबुकमै कुस्ती पर्न थालिहाल्यो ।

समयसँगै अहिले राजनीतिमा कांग्रेस, कम्युनिस्टभन्दा अरु नयाँ दल पनि थपिइसकेका छन् । तिनले थालेको नयाँ शैलीमा बानी पर्न पहिलेका दललाई पनि सजिलो छैन ।

आधारभूत विचार र व्यवस्थापन सिकाउँछ एमाले : आफ्ना कार्यकर्ता पढाउने, प्रशिक्षित गर्नेमा एमाले पहिलो पंक्तिमा छ । पहिले राता पानाहरूमा दस्तावेज रंगाउने अचेल रंगहरूको संयोजनमा सावधान देखिन थालेको छ । एमाले केन्द्रीय पार्टी स्कुल विभागले प्रकाशित गरेको ‘समृद्धि सोपान’ नामक आधारभूत तहको पाठ्यक्रम हेरे यो कुरा छर्लंग भईहाल्छ ।

पालिका कमिटीका सदस्य, शाखा कमिटि पदाधिकारी, सदस्य, टोलसम्मका सदस्य, परीक्षणकालीन सदस्य, जननिर्वाचित वडा सदस्य, वर्गीय संगठनका जिल्ला पदाधिकारी, पार्टीमा आएका नयाँ कार्यकर्ताका लागि भनेर यसै वर्ष एमालेले पाठ्यक्रम बनाएको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पाठ्यक्रमको भूमिकामा भनेका छन्, ‘सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा ध्यान दिँदै प्रशिक्षण दिन्छौं । व्यक्तिको पहिचान विद्वताबाट मात्रै होइन, आचरणबाट पनि हुन्छ ।’

स्कुल विभाग प्रमुख रहेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पाठ्यक्रमको संयोजन गरेका हुन् । लामो प्रयासपछि पाठ्क्रम बन्न सकेकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘१८ घन्टाको पाठ्यक्रमले पार्टीको आधारभूत पंक्तिलाई वैचारिक स्पष्टता दिने छ, अनि आजका महत्त्वपूर्ण विषयमा छर्लंग पार्ने छ ।’

एमालेले नेपाली समाजको ऐतिहासिक विकास, वर्तमान, स्वाधीनताको संघर्ष र प्रगतिशील राष्ट्रवाद, संविधान र यसको निर्माणमा पार्टीको भूमिका, समाजवाद, जनताको बहुदलीय जनवाद, कम्युनिस्ट आचरण, नेपालको जनसंख्याको तथ्यांकीय विश्लेषण आदि पढाउने गर्छ । ज्ञवालीले यिनै विषय समेटेर यस बीचमा थुप्रै प्रशिक्षण चलाएका छन् ।

एमाले स्कुल विभागले आफ्ना किताब र पाठ्यक्रमलाई अद्यावधिक गर्दै लगेको छ ।

उनी भन्छन्, ‘पहिले अलिक परम्परावादी कोर्स पढाउँथ्यौं, अहिले राष्ट्रिय आवश्यकता पहिचान गर्छौं, अनि विचारदेखि व्यवस्थापनजस्ता विषयमा कार्यकर्तालाई पारंगत बनाउने स्कुलिङ गराउँछौं ।’

यससँगै एमालेले नेकपा स्थापनाको ७५ वर्षका उपलब्धि, मदन भण्डारीका विचार लगायत विषयमा पनि कार्यकर्तालाई पढाउने गरेको छ । यद्यपि पहिलेभन्दा वैचारिक क्षेत्रमा काम घट्न थालेको गुनासो एमालेभित्र पनि नभएको होइन ।

पार्टीमात्रै पढाउन चाहन्न कांग्रेस : एमालेजत्तिकै इस्पातिलो पारामा काम नगरे पनि नेपाली कांग्रेसको पार्टी पाठ्यक्रम बनाउने, अध्ययन अनुसन्धान चलाउने आफ्नै परम्परा छ । कांग्रेसले पछिल्लो बीपी स्मृति दिवस पारेर पार्टी मुख्यालयमा व्यवस्थित पुस्तकालय सुरु गर्‍यो । पुस्तकालय उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने एउटा चलन छ । अब लाइब्रेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई ।’

कांग्रेसका नेता कार्यकर्ताले विचार निर्माण गराउने दायित्व विधानतः नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बोकेको छ । उपसभापति पूर्णबहादुर खड्का प्रतिष्ठानको मूल नेतृत्वमा छन् । पार्टी साहित्य तथा पाठ्यसामग्री तयार गरी प्रकाशन भूमिका उक्त प्रतिष्ठानलाई छ । कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेपछि नवीकरण गर्नुअघि लिनुपर्ने आधारभूत कक्षाको पाठ्यक्रम विकास गर्ने जिम्मेवारी उक्त निकायलाई छ ।

हालैका दिनहरूमा हुँदै आएको प्रशिक्षणमा मूख्यतः तीनवटा ‘थिम’मा रहेर कक्षा दिने गरिएको प्रतिष्ठानका सदस्य डा. कृष्ण पौडेलले जानकारी गराए । ‘कांग्रेस जनताकहाँ कसरी पुग्ने कुरामा हाम्रा घोषणापत्र, पार्टीले उठाएका र गरेको आर्थिक सामाजिक आयामका कार्यहरू बारे जानकारी गराउँछौं,’ डा. पौडेल भन्छन्, ‘तहगत संरचना र नेतृत्व विकासका कुरा गर्छौं । जनप्रतिनिधिको पार्टीसँग सम्बन्ध कस्तो हुनुपर्दछ भनी प्रशिक्षण गर्दै आएका छौं ।’

प्रतिष्ठानका सदस्यहरूका अनुसार कार्यकर्तालाई प्रशिक्षित गराउँदा पार्टीको विचार, आदर्श, इतिहासको विषयवस्तु हरेक प्रशिक्षणको बेला छुट्दैन । प्रतिष्ठानका सदस्य प्रताप पौडेलका अनुसार विचार, आदर्श, मूल्य मान्यता, नीतिगत परिमार्जन लगायतमा रहेर प्रशिक्षणमा कहिले नछुट्ने विषय हुन् ।

‘पाठ्यक्रम पहिले पनि थियो, अद्यावधिक गरेर अहिले फेरि बन्दैछ,’ प्रताप पौडेल भन्छन्, ‘तर पार्टीका विषयमात्रै पढाउँदैनौं । समग्र समाज र राष्ट्र, अनि विश्वबारे पढाई हुने कोर्स बनाउँछौं । पार्टी मुख्यालयलाई रिसोर्स सेन्टर बनाउँछौं ।’

कांग्रेस केवल पार्टीका आन्तरिक इतिहास र सामग्री मात्रै होइन, राष्ट्रिय जीवनका महत्वपूर्ण विषयलाई प्रशिक्षण सामग्री बनाइरहेको छ ।

प्रशिक्षणको सामग्री तय गर्दा नेता कार्यकर्ता र जनप्रतिनिधिलाई फरक फरक बनाइएको हुन्छ । जनप्रतिनिधिलाई प्रशिक्षण गराउँदा संगठनका कुरा कम हुन्छन् भने तहगत सरकारले गर्नुपर्ने कार्यको सम्बन्धमा बढी हुने गर्दछ । विकास निर्माणका कार्य, योजना तर्जुमा लगायतमा प्रशिक्षित गराउने पद्धति बसेको छ ।

‘जनप्रतिनिधिलाई प्रशिक्षित गर्दा सदस्यता वितरण गर्ने कुरा हुँदैन । तर, तहगत पार्टी सचिव वा जिल्ला सभापतिलाई प्रक्षिक्षित गराउँदा संगठनको कुरा हुन्छ ।’

भ्रातृ संस्थालाई अनुशिक्षण गरिँदा लक्षित संगठन अनुसारको प्रशिक्षण सामग्री निर्माण गर्ने र अभिमुखीकरण गरिने कांग्रेसले जानकारी गराएको छ ।

प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने निर्णय अनुसार प्रतिष्ठानले कार्य गरिरहेको छ । प्रशिक्षण पाठ्य सामग्री परिमार्जन गर्न गठित प्रतिष्ठानको उपसमितिमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य छन् ।

बागमती प्रदेशमा केही समय अघि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको कांग्रेसले गण्डकीका जनप्रतिनिधिलाई अघिल्लो महिना प्रशिक्षण राखेको थियो । २२ र २३ माघमा सात प्रदेश र ७७ जिल्लाका सभापतिहरूलाई भेला गरेर प्रशिक्षण गराउन लागिएको छ । नेता कार्यकर्तामा सिक्नुपर्छ भन्ने मान्यता बढेको प्रतिष्ठानका सदस्य डोलराज भुसाल बताउँछन् । ‘सिक्न/जान्न नेता कार्यकर्ता उत्सुक देखिन्छन् । पुरानो ढर्राले हुँदैन भन्नेमा सबैमा छ,’ भुसालले भने ।

कांग्रेसमा पढ्ने क्रम घटिरहेको चिन्ताका बीचमा महामन्त्री गगन थापाको सक्रियतामा ७० लाख रुपैयाँ भन्दा बढी रकम खर्चेर पुस्तकालय बनाइएको हो ।

कांग्रेस र गैर कांग्रेस सबैका खुला रहने पुस्तकाललाई स्रोत केन्द्रका रुपमा समेत प्रयोग गर्न सकिने पार्टीले जनाएको छ ।

माओवादीले छुट्यायो तीन महिना : माओवादीले गत पुस २२ गते बैठक गर्दै पार्टीमा आउने गैरकम्युनिस्ट सदस्यले तीन महिना अनिवार्य पढ्नुपर्ने नियम बनाएको थियो ।

अध्यक्ष प्रचण्डले पेश गरेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादी प्रवेश गर्ने गैरकम्युनिस्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने भनिएको थियो ।

पार्टीका ‘हरेक संगठित सदस्यहरूले पनि कम्तीमा वर्षमा एक पटक पार्टी स्कुलमा प्रशिक्षार्थीको रूपमा सहभागी हुनुपर्ने’ प्रस्ताव प्रचण्डले राजनीतिक प्रतिवेदनमा राखेका थिए ।
माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागले पाठ्यसामग्री नै तय गरेको छ ।

केन्द्रीय स्कुल विभागका संयोजक गिरिराजमणि पोखरेलका अनुसार २०७९ चैत पहिलो साताबाट अभियानकै रुपमा नेता/कार्यकर्तालाई पार्टीको नीति र सिद्धान्तबारे प्रशिक्षणात्मक कार्यक्रम भइराखेका छन् ।

नेता/कार्यकर्ताका बीचमा प्रशिक्षण लगायतका कार्यमा सुस्तता आएको महसुस भएपछि पार्टीले नै यो विषयलाई गम्भीर रुपमा लिएर पाठ्यसामग्री नै तयार पारेर प्रशिक्षणात्मक कार्यक्रमलाई निरन्तरता दिइएको पोखरेलले बताए ।

‘२०७९ चैत पछि पहिलो लटमा देशभर केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरसम्म प्रशिक्षणात्मक कार्यक्रम भए । त्यसपछि दोस्रो लटमा चार महिने अभियानका क्रममा भयो । अहिले तेस्रो लटको प्रशिक्षणत्मक कार्यक्रम भइरहेका छन्,’ पोखरेलले अनलाइनखबरसँग भने । तेस्रो लट अन्तर्गत हालै सुदूरपश्चिमका ९ वटै जिल्लामा सकाएको र मधेश प्रदेशको सिराहामा पनि प्रशिक्षणात्मक कार्यक्रम सकाएको उनले जानकारी दिए ।

पोखरेलका अनुसार केन्द्रीयस्तरमा पाठ्यक्रम निर्धारण गरिएको छ । केन्द्रको पाठ्यक्रममा प्रदेश र जिल्लाले थप विषय समावेश गर्न सक्ने सुविधा दिइएको छ । पोखरेल भन्छन्, ‘हाम्रो प्रशिक्षण पाँच दिने र तीन दिने आवासीय हुन्छ ।’

आवासीय प्रशिक्षणमा के कस्ता विषय पढाउने भनेर तय गरिएको छ । जसमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्तमान विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिष्टहरूको कार्यभारबारे छुट्टाछुट्टै पाठ्यसामग्री छ ।

माओवादी केन्द्रले तीन महिनासम्म अध्ययन चलाउने निर्णय गरेको छ ।

वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, महिला, जातीयता, समावेशिता, विकास, योजना निर्माण, बजेट र राष्ट्रियताको सवाल लगायत विषयहरूबारे पनि पाठ्य सामग्री रहेको छ ।

२६ वटा शिर्षकमा तयार यी पाठ्यसामग्री आधारभूत पाठ्यक्रम भएको पोखरेलले बताए ।

प्रशिक्षणात्मक कार्यक्रम नियमितजसो चलिरहेको र यसले निरन्तरता पाउने उनले बताए । नयाँ र पुराना दुवैले यस्तो कक्षामा बस्नुपर्ने नियम बनाइएको छ । यसअन्तर्गत स्वतः गैरकम्युनिस्ट पार्टीमा आए स्कुल विभागमा पढ्नुपर्ने प्रावधान लागू भइरहेको उनको भनाइ छ ।

तर, कतिले प्रशिक्षण लिए भन्ने विषयमा देशभरको यकिन तथ्याङ्क भने संकलित छैन । तर, केन्द्रिकृत रुपमा तथ्याङ्क संकलन गरेर कसले प्रशिक्षण लिए कसले लिएनन भनेर छुट्याउने गरी काम भइरहेको उनले जानकारी दिए ।

पोखरेलका अनुसार पाठ्य सामग्रीमा केही विषय थप्नेबारे समेत छलफल भइरहेको छ ।

‘वर्तमान जिन्दगी र सीपसँग सम्बन्धित पाठ्यसामग्री थप्नेबारे छलफल भइरहेको छ । यो पनि समावेश गर्ने र स्कुलिङमा युवा जोड्ने प्रयास गरिँदैछ,’ उनी थप्छन्, ‘सीपबारे थप पाठ्यक्रम विकास गर्ने र सिप सिकाउँदै विचारधारात्मक कामलाई अगाडि बढाउने योजना बनेर पनि कार्यान्वयनमा लैजाने अन्तिम तयारी भइरहेको छ ।’

रास्वपा, राप्रपा र अरु : अढाई वर्षअघि खुलेको नयाँ दल रास्वपाले पार्टीको अध्ययन, स्कुलिङ प्रणालीलाई व्यवस्थित बनाइसकेको छैन । तर नयाँ वैकल्पिक पार्टीले खेल्नुपर्ने भूमिका र राष्ट्रिय तथा आम मानिसका मुद्दाबारे पार्टी पंक्तिलाई सचेत बनाउने क्रम बाक्लिएको बताउँछन्, रास्वपा सांसद सन्तोष परियार ।

परियारका अनुसार रास्वपाले ०७९ को मंसिरमा आम चुनावका बेला गरेको वाचालाई पार्टीको आधारभूत वैचारिक लाइन, अनि जलेश्वरको केन्द्रीय समिति बैठकमा अनुमोदित दस्तावेजलाई केन्द्रमा राखेर छलफल चलाइरहेको छ ।

यसबाहेक सांसदहरूले संसद्‌मा उठाइरहेका विषयसमेत पार्टीका सन्दर्भ सामग्रीका रुपमा उपयोग भइरहेको परियार बताउँछन् । ‘मूलतः अहिलेको समयमा उठिरहेका विषयहरूमा हामीले खेलिरहेको हस्तक्षेपकारी भूमिका नै पार्टी पंक्तिलाई प्रशिक्षित गराउने विषय बन्न गएको छ,’ उनी भन्छन्, ‘अरु डकुमेन्टहरू पनि अब समयक्रममा लेख्ने क्रम अघि बढ्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि प्रशिक्षण विभाग छ । यो विभागको नेतृत्वमा यसअघि ध्रुबबहादुर प्रधान थिए । प्रधानको जिम्मेवारी अर्को क्षेत्रमा गएपछि हाल उपप्रमुख खुस्बु ओलीले नै विभागको नेतृत्व गरिरहेकी छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शिक्षण विभागले यही माघ १६ र १७ गते राजविराजमा पार्टीबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो ।

अचेल पावरमा पुग्नेबाहेक कुनै स्कुलिङ छैन, दलका कार्यकर्ताहरुको अक्षरारम्भ नै सरस्वती होइन, लक्ष्मी (पैसा) बाट सुरु हुन्छ– प्रा. कृष्ण खनाल

श्रेष्ठ अन्यत्र पनि प्रशिक्षण चलिरहेको बताउँछन् । उनी भन्छन्, ‘जिल्लागत प्रशिक्षण भइराखेको छ । केन्द्रिय प्रशिक्षण भइराखेको छ ।’

प्रशिक्षणको विषय छनोट विषयगत विज्ञबाट गर्ने गरिएको उनले बताए । पार्टीको नीतिबारे प्रशिक्षण भने नेताहरूले दिन्छन् ।

‘क्यालेन्डर नै केन्द्रदेखि स्थानीय तहको वडासम्म प्रशिक्षणका कार्यक्रम भइराखेका छन्,’ उनी भन्छन्, ‘पाठ्यक्रम नै चाहीँ बनाएका छैनौं । तर, पाठ्यकक्रममा समेटिने विषय भन्दा बढी प्रशिक्षणमा समेटिन्छन् । नीतिगत, सामाजिक, आर्थिक, इतिहास सबै विषय समेटेर प्रशिक्षण दिने गरिएको छ ।’

जनमत पार्टीले पनि प्रशिक्षण विभाग नै बनाएर नेता/कार्यकर्तालाई प्रशिक्षत गर्ने गरेको छ । जनमतका नेता अब्दुल खान विभागले समय बनाएर प्रशिक्षणका कार्यक्रमहरू राख्ने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘प्रशिक्षण विभागले छ त्यसले आफू अनुकुल योजना बनाएर प्रशिक्षण दिइराखेको हुन्छ ।’

अक्षरारम्भ नै मिलेन : दलहरूले जतिसुकै प्रशिक्षण चलाए पनि व्यवहार त्यस अनुरुप नभएकाले अचेलका स्कुलिङ निस्फल भइरहेको टिप्पणी राजनीतिशास्त्रीहरू नै गर्छन् । ०४६ सालअघि स्कुलिङ अनुसार निर्माण हुने संस्कृतिकै आधारमा कार्यकर्ताहरू कुन दलका हुन् भनेर छुट्टिने गरेको, तर हिजोआज सबैजसो कार्यकर्ता एकै नासमा भएको उनीहरूको भनाई छ ।

राजनीतिशास्त्री कृष्ण खनालको भनाईमा पुराना दलहरूले स्कुलिङ बिर्सदै गएका छन्, नयाँ दलहरूमा वैचारिक संकट बाक्लो देखिन्छ ।

‘अचेल पावरमा पुग्नेबाहेक कुनै स्कुलिङ छैन, दलका कार्यकर्ताहरुको अक्षरारम्भ नै सरस्वती होइन, लक्ष्मी (पैसा) बाट सुरु हुन्छ,’ प्राध्यापक खनाल भन्छन्, ‘नयाँ दलमा पनि मैले जानेको छु, पदमा पुगेँ भने देखाउँछु भन्ने आत्मप्रदर्शनको भावनामात्रै देखियो ।’

बेलाबखत प्रशिक्षणहरू चलाउने गरिए पनि दलहरूमा समग्र सिकाई प्रक्रिया नै अधुरो रहेको उनी बताउँछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -