सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिनुभएको छ ।
कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले विकास सबैको साझा मुद्दा भएकाले एकताबद्ध भई जाँगरका साथ अगाडि बढे परिवर्तनको अनुभूति गराउन सकिने धारणा राख्नुभयो ।
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आवमा ७० प्रतिशत बजेट विनियोजन गरेको बताउनुभयो । विगतका काममा ढिलाइ गरेका केही निर्माण व्यवसायीबाहेक सबै सम्पर्कमा आएर काम अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त संविधान र व्यवस्था कार्यान्वयनका लागि पनि साझा बुझाई आवश्यक भएको बताउनुभयो ।
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार, सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाइ राख्नुभयो । प्रदेश सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याल लगायत सहभागी कार्यक्रम प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो ।