२१ माघ, काठमाडौं । वसन्त पञ्चमी अर्थात श्रीपञ्चमीको दिन आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै छ । यस दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले घर, विद्यालय र मन्दिरमा सरस्वतीको विशेष पूजापाठ गर्दछन् ।
विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ ।
यही विश्वासका साथ काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा पूजा आराधना गर्नेहरुको भिड छ । मन्दिरको भित्ता, पर्खाल लगायतका स्थानमा बालबालिकाहरुले चकले अक्षर कोरिरहेका छन् ।
अभिभावकहरुले उनीहरुलाई ‘कखरा’, ‘एबीसीडी’ र आफ्नो नाम लेख्न सिकाएका छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
हेर्नुहोस् स्वयम्भूको सरस्वती मन्दिर परिसरका तस्वीर–