२० माघ, काठमाडौं । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ भनिरहेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको थियो ।
सुरुमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो ।
उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गर्यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।
अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ ।
जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार यो अभियानमा मूलतः तीन विधिबमोजिम काम भइरहेको छ– पार्टी मोर्चा, जनसंगठन र जनप्रतिनिधि । अभियानको मूल नेतृत्व पार्टीकै नेताहरूले गरिरहेका छन् । जसअनुसार सबै प्रदेश कमिटीले प्रशिक्षण/भेला कार्यक्रम गरिसकेका छन् ।
बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार अहिले जिल्ला तहको अभिमुखीकरण चलिरहेको छ । ‘हामी जिल्ला तहको अभिमुखीकरण गरिरहेका छौं । जरा अभियानमा हामीले गर्नुपर्ने कामबारे अभिमुखीकरणमा हुन्छ,’ उनले भनिन् ।
बागमती प्रदेशले ‘पार्टीसँग जेनजी’ (युवा लक्षित), ‘आमासँग अनेम संघ’ र ‘जनतासँग जनसंगठन’ नारासहित वडा अभियान सञ्चालन गर्ने लामाले बताइन् । बागमतीले जसरी नै अरु प्रदेशहरूले पनि आ–आफ्ना हिसाबले यो अभियानमा नेताहरू परिचालित गरिरहेका छन् ।
स्थायी कमिटी सदस्य ढकालका अनुसार प्रदेश कमिटीभन्दा माथिका नेताहरूलाई भने अभियानबारे जानकारी भइसकेको छ । गत वैशाखसम्म सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट जनतासम्म जानुपर्ने नीति पारित गरेपछि सोही अनुसार एमाले पार्टी केन्द्रले जरा अभियानको प्रस्ताव ल्याएको थियो ।
केन्द्रीय कमिटीबाट त्यो प्रस्ताव पारित भएपछि तीन महिने अभियान अगाडि बढाइयो । कस्तो कार्यक्रम बनाउने भन्ने निक्र्योल भने गत ३० मंसिरमा देशभरका जिल्ला नेतृत्व समेत सामेल भेलाबाट भएको थियो ।
केन्द्रीय संगठन विभागको आयोजनामा सम्पन्न त्यो भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष र संगठन विभाग प्रमुख अनि जनसंगठनका केन्द्रीय नेतृत्व सामेल थिए । उनीहरूले जरा अभियानका कार्यक्रम तय गरेको थियो ।
जसअनुसार पालिका र वडा अधिवेशन गरेर नयाँ नेतृत्व स्थापित गर्ने, कमिटी बनाउँदा युवालाई कम्तीमा एक तिहाइ समेट्ने, पार्टी सदस्यता विस्तार र नवीकरण गर्ने जस्ता कामहरू अगाडि बढाइएका छन् । पार्टीसँग जनसंगठनहरूले सहकार्य गरिरहेका छन् ।
‘जनसंगठनमार्फत विभिन्न पेसा र व्यावसायमा रहेका गैरएमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,’ स्थायी कमिटी सदस्य ढकालले भने, ‘सँगसँगै आफ्नो क्षेत्र/वर्गको नेता संगठनको रुपमा स्थापित हुनेगरी अभियानकै क्रममा काम हुनेछ ।’ जरा अभियान कार्यान्वयनको क्रममा कतिपय प्रदेशहरूले जनसंगठन परिचालनको नारा ‘जनतासँग जनसंगठन’ भनेका छन् ।
जरा अभियानमा भइरहेको तेस्रो काम जनप्रतिनिधिसँग जोडिन्छ । एमालेले नेतृत्व गरिरहेको संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामहरूको प्रचार अभियानका क्रममा हुनेछ ।
‘सरकारले गरेका राम्रा कामहरू जनतासम्म पुर्याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्छौं,’ ढकालले भने । तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालित हुने उनले बताए ।
तर, अभियानका क्रममा हुने महत्वपूर्ण काम भने जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु रहेको ढकाल बताउँछन् । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ उनी भन्छन् ।
जरा अभियानमा एमालेले गर्ने काम
– सदस्यता नवीकरण र विस्तार (कूल मतदाताको ६ प्रतिशत लक्ष्य),
– टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने,
– सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग/समुदायको नेताका रुपमा स्थापित गर्ने,
– सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने,
– सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने,
– वार्षिक कार्यक्रमलाई अगाडि बढाउने,
– एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने,
– जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने,
– २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने,
– पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने,
– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने,
– र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने ।