Sunday, February 9, 2025
घरसमाचारमासिँदै सिमसार, खुम्चिँदै ताल (तस्वीरहरू)

मासिँदै सिमसार, खुम्चिँदै ताल (तस्वीरहरू)

२० माघ, पोखरा । हर्पन खोला आइपुग्ने फेवातालको मुहानतिर पहिले साना-साना सहायक ताल थिए । करिब २ दशक अघिसम्म हर्पन खोला फेवाको शिरतिर सिमसारमा ३ वटा पोखरीजस्ता तालहरू देखिन्थे ।

अहिले फेवा किनारमा ती ताल त परै जाउन्, सिमसारसमेत मासिइरहेका छन् । ताललाई बचाइराख्ने सिमसार र त्यस्ता साना-साना तालहरू अहिले कतै प्लटिङ त कतै खेतमा परिणत भए । हर्पन खोला आइपुग्ने फेवातालको शिरतिर अहिले धमाधम प्लटिङ भइरहेका छन् ।

लहलह धान झुल्ने फेवा फाँट होस् वा चंकपुर र पामे क्षेत्र, अहिले सिमसार नै संकटमा छ । राज्यको आँखा छल्दै सिमसार पुरेर धमाधम घडेरी बनाई बिक्री भइरहेको छ । पोखरा महानगरपालिकासहित अहिलेका ३ वटै सरकारको स्पष्ट नीति कार्यान्वयन नहुँदा सिमसार मात्रै संकटमा छैन, त्यहाँको पर्यावरण पनि खल्बलिएको छ । त्यसले फेवातालको अस्तित्वमाथि नै धावा बोलिरहेको छ भने सिमसार मासिँदा त्यस क्षेत्रमा पाइने पंक्षीहरूको बासस्थानसमेत मासिँदै गएको छ ।

लामो समयदेखि वातावरण र गिद्ध संरक्षणको क्षेत्रमा कलम चलाइरहेका पत्रकार कृष्णमणि बरालले त्यही खल्बलिएको पर्यावरण, मासिँदै गएको सिमसार र खुम्चिँदै गएको ताललाई फोटोमार्फत बोलिरहेका छन् । पत्रकार बरालले पहिलेको फेवाताल र अहिलेको फेवाताललाई तस्बिरमार्फत देखाइदिएका छन् ।

फोटो प्रदर्शनीमा राखिएका तस्वीर देखाउँदै पत्रकार कृष्णमणी बराल

कसरी सिमसार मासिँदै गइरहेको छ र मानवीय तथा प्राकृतिक रुपले कसरी यहाँ तालहरू खुम्चिँदै गइरहेका छन् भन्ने चित्र पत्रकार बरालले देखाएका छन् । मानवीय अतिक्रमण, सडक र सरकारी परियोजनादेखि फोहोर मैलाले दुर्गन्धित बनेको फेवालगायतका तालहरूको अवस्थालाई पत्रकार बरालले सिमसार दिवसको अवसर पारेर फोटो प्रदर्शनीमार्फत उजागर गरेका हुन् ।

‘फेवाको मुहानतिरका सिमसारमा रहेका साना-साना ताल भनौं वा ठूला पोखरीहरू केही वर्षकै अन्तरमा हराएर हर्पन खोला मात्रै देखिन्छ । मुख्य रुपमा हर्पन खोला हुँदै आउने गेग्रान, कमेरोसहितको माटोले ती पुरिए भने अहिले त्यस्ता ठाउँमा प्लटिङसमेत भइरहेका छन्,’ पत्रकार बरालले तस्बिर देखाउँदै भने ।

बर्खामा हर्पन, अँधेरी खहरे खोलाबाट आउने गेग्रान रोक्नका लागि भन्दै चेकड्याम बनाएर ढुंगागिटी बालुवा निकाल्न ठेक्का पनि लगाइएको छ । तर चेकड्याम निर्माणमै त्रुटि हुँदा निर्माण सकिँदा नसकिँदै भत्किएर र फेरि बनाइएको छ भने त्यसको व्यवस्थापन पनि ठिक ढंगले नहुँदा फेवातालमा आउने गेग्रानसहितको पानीढलो छानिएको छैन ।

सिमसार क्षेत्रलाई जोगाउनुको साटो नियमनकारी निकायकै अनुमतिमा ताल किनारमा डोजर चलिरहेका छन् । कहिले बिचौलियामार्फत त कहिले व्यवसायीमार्फत सिमसार पुर्ने काम भइरहँदा पनि नियमनकारी निकाय भने मौन छ ।

पुरानो प्याराग्लाइडिङ अवतरण हुने ठाउँ खपौंदीमा पहिले छिपछिपे सिमसार र केही मात्रामा जमिन देखिन्थ्यो । तर अहिले त्यहाँ टापु नै बनिसकेको छ र वर्षेनी त्यो टापु फैलिँदै फेवाताल खुम्चिरहेको तस्बिर बरालले देखाएका छन् ।

एउटा अर्को तस्बिरको एकातिर सिसा र प्लास्टिकका बोटलसहित फोहोरको डंगुरमा एउटा ढुंगा छ । अर्कोतर्फ फेवातालमा मरेको जनावरको सिनो खाइरहेको गिद्धलाई देखाइएको छ ।

‘एकातिर मानिसबाट कसरी फेवाजस्ता सम्पदालाई फोहोर र दुर्गन्धित गराइएको छ भन्ने प्रमाण हो भने अर्कोतर्फ जसलाई गिद्ध भनेर बेवास्ता गरिन्छ, उसले चाहिँ सिनो खाएर सफा गरिदिएको छ,’ बरालले फोटोको कथा भने, ‘मानिस र गिद्धबीचको भिन्नता मैले फोटोमार्फत देखाइदिएको हुँ ।’

अर्को एउटा फोटो पनि रोचक छ । पोखराकै लेखनाथ क्षेत्रमा रहेको गुँदे तालको बीचबाट डोजरले खनेर बाटो लगिएको छ भने त्यसकै तलपट्टि फेवा किनारको एउटा ढुंगासँगै रातो पानी भएको तस्बिर देखाइएको छ ।

‘एकातिर विकासका नाममा ताल पुँरिँदै छ, सडक पनि तालको बीचबाटै लगिएको छ । अर्कोतर्फ होलीको रङले तालको पानी नै रातै छ,’ बरालले भने, ‘मानवीय हेलचेक्र्याईंले हाम्रो पर्यावरण यसरी नै बिगारिरहेको छ ।’

दुई दशकभन्दा लामो समयदेखि वातावरण तथा पर्यावरणको क्षेत्रमा क्यामेरा खेलाइरहेका, कलम चलाइरहेका पत्रकार बरालले हिमालदेखि ताल र गिद्ध संरक्षणसम्मका तस्बिर सिमसार दिवसका अवसरमा फेवा किनारमा प्रदर्शन गरेका हुन् । गिद्ध संरक्षणका अभियान्ता र नाम नै ‘गिद्धमणि’को परिचय बनाएका बराल पुरिँदै गएको फेवालगायतको चिन्ता गरिहन्छन् ।

फेवा किनारमै सिमसार फोटो प्रदर्शनी गर्नुका पछाडि पनि फेवाताल र यसको प्राण सिमसार क्षेत्र कसरी प्राकृतिक तथा मानवीय अतिक्रमणबाट मासिँदै, खुम्चिँदै गइरहेको छ भन्ने सन्देश दिनका लागि हो । उनले विभिन्न कालखण्डमा खिचेका फोटो प्रदर्शनीको चाँजो राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले मिलाइदिएको हो ।

फेवाताल संरक्षण तथा मापदण्ड कार्यान्वयनको मुद्दा सधैं चर्चामा मात्रै रहँदैन, राजनीतिक हतियार तथा चुनावी एजेण्डासमेत बन्दै आएको छ । तर मापदण्ड कार्यान्वयन गर्ने काम पनि अहिलेसम्म फत्ते हुन सकिरहेको छैन ।

जलाधार क्षेत्रबाट हरेक वर्ष आउने बाढी-पहिरो र गेग्रानका कारण वर्षेनी करिब १ लाख ४२ हजार टन गिटी, बालुवा र ढुंगा फेवातालमा मिसिने विभिन्न अध्ययनले देखाएको छ भने फेवाताल मानवीय अतिक्रमणको चपेटामा पनि फेवाताल पर्दै आएको छ । फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न सर्वोच्च अदालतले २र२ पटक आदेश गरे पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन ।

सर्वोच्च अदालतबाट पछिल्लो पटक २०८० साल असोज ९ गते आएको फेवातालको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धी फैसलाको पूर्णपाठले ६ महिनाभित्र मापदण्ड कायम गरेर संरक्षण गर्न भनिएको थियो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा मापदण्ड कार्यान्वयन गर्न गत साल मंसिरमा समिति बनेको थियो । त्यो समितिले पनि प्राविधिक उपसमिति बनाएर अहिले मापदण्ड कायम गर्न विद्युतीय पोल गाडेको बताइएको छ । अदालतको अपहेलना मुद्दाबाट बच्नका लागि केही काम भइरहेको जस्तो देखिए पनि संघदेखि स्थानीय तहसम्म मापदण्ड कार्यान्वयनलाई टुंगोमा पुर्‍याउने आँट गर्न सकिरहेका छैनन् ।

मापदण्ड कायम गर्दा २०३१ सालपछि दर्ता भएका जग्गाको मुआब्जा दिनु नपर्ने सर्वोच्चको फैसला थियो । अहिलेसम्म त्यो दूषित भनिएको जग्गासमेत खारेज गर्न सरकारले सकेको छैन ।

पछिल्लो पटक २०७७ कात्तिक २० गते गठित पुण्यप्रसाद पौडेल समितिले सरकारलाई २०७७ फागुन २ गते चार किल्ला तोकेर सीमांकन प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन फागुन १८ गतेको राजपत्रमा प्रकाशित भयो । प्रकाशित प्रतिवेदनमा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन कायम गर्ने गरी चार किल्ला तोकिएको थियो ।

५।७२६ वर्ग किमी ९११२५५ रोपनी० फेवातालको क्षेत्रफल कायम गरिएको प्रतिवेदनमा कुल १६१० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । यस्तै सरकारको नाममा रहेको ९०७ रोपनी जग्गा पनि फेवातालको नाममा कायम गर्नुपर्ने समितिले बताएको छ । यसमध्ये ५०३ रोपनी जग्गा हर्पन खोलाको नाममा मात्र कायम गरिएको पाइएको छ ।

२०७२ साल माघ १९ गते फेवातालसहित पोखराका ९ ताल र सेती नदीको केही जलाधार क्षेत्र रामसारमा सूचीकृत भएका छन् । विश्व रामसारमा सूचीकृत भएको फेवासहितको तालको संरक्षणमा तीन तहकै सरकारले ध्यान नदिँदा सिमसार खुम्चिँदै गइरहेको छ भने ताल साँघुरिँदै गइरहेको छ ।

प्राकृतिक तथा मानवीय कारणले हिमालदेखि पहाड र तराईसम्मै पर्यावरण खलबलिएको, सिमसार पुरिँदै, ताल साँघुरिँदै जाँदा जलचल, थलचर र यसमा आश्रित जीवहरूको अस्तित्वसमेत संकटमा परिरहेको पत्रकार बराल बताउँछन् ।

पोखरा उपत्यकासँग जोडिएका ९ ताल र खोलाहरूका सिमसार निकै महत्वपूर्ण मानिएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेको भनाइ छ । पछिल्लो समय फेवा, गुँदे, रुपा, खास्टे, न्युरेनी, दिपाङलगायतका तालहरूको सिमसार क्षेत्रमा भइरहेको प्लटिङ तथा सिमसार अतिक्रमणले चराहरूको बासस्थान नै खलबलिएको घिमिरेले बताए ।

‘पानी र सिमसारमा आश्रित १ सय ३ प्रकारका चराहरू पोखरा उपत्यकामा पाइन्छ । ती चराहरू खाने, बस्ने ठाउँ सिमसार हो । यो किन महत्वपूर्ण छ भने यहाँको सौन्दर्यीकरण यहाँको सिमसारसँग जोडिएको विषय हो,’ सिमसार फोटो प्रदर्शनीमा भेटिएका घिमिरेले भने, ‘सिमसार भएन तालमा आउने पानी शुद्ध हुँदैन, यसले वातावरण पनि प्रभाव पार्छ ।’

सिमसार खल्बलिँदा अहिले यहाँ पाइने चराहरूको संख्या र प्रजाति पनि घटिरहेको घिमिरेको भनाइ छ । पछिल्लो पटक चरा गणनामा पानीमा आश्रित जम्मा ५३ वटा मात्र चरा देखिएको घिमिरेले सुनाए । चराहरूले प्रजनन गर्ने क्षेत्र पनि ध्वस्त भइरहेको उनको भनाइ छ ।

‘सिमसार खण्डीकृत हुँदै गइरहेका छन् । खोला प्रदूषित भइरहेका छन् । जसका कारण पर्यावरणमा परेको असरले हामीलाई छोड्ने छैन,’ घिमिरेले भने, ‘पोखरा भनेको यहाँका तालमा डुंगा चढेर घुम्ने मात्रै होइन, यहाँका चराहरू हेर्दै रमाउनु पनि हो । तालमा रमाउने चराहरूको बारेमा सोधीखोजी गर्न सके हाम्रो वैभव अझै बढ्ने छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -