रौतहट/रौतहटको मौलापुर नगरपालिकामा तिब्रगतिमा भईरहेको विकास कार्य हेर्न, बुझन, सिक्नका लागि अन्य जिल्लाका जनप्रतिनिधिहरु आउँन थालेका छन् । मधेस प्रदेशको मौलापुर नगरपालिका विकासमा एउटा नमुना पालिकाको रुपमा रहेको छ । मौलापुरमा भएको विकास एवं नमुना कार्य उनीहरुले आफ्नो पालिकामा समेत लागु गर्ने चाहना व्यक्त गरेका छन् ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेयात खान धुनियाको नेतृत्वमा ३० सदस्यीय टोली शुक्रबार मौलापुरको विकास, नीति, एवं बिभिन्न कार्यको अवलोकन गरेका छन् । उनीहरुले मौलापुरमा लागु भएको विभिन्न योजनाहरु आफ्नो पालिकामा समेत कसरी लागु गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा व्यक्त गरेका थिए ।
‘मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती लगायतका नमुना भौतिक पुर्वाधारका बिकासबाट प्रभावित भएर वहाँहरू मौलपुर आउनु भएको हो । यस्तो अवलोकन भ्रमणले मौलपुरलाई गौरवान्वित गर्नुको साथै बिकास कार्यमा अगाड़ी बढ़न थप हौसला प्रदान गर्नेछ,’ सुमन यादवले भनिन् ।
सरावल गाउँपालिका वडा नं. ७ का अध्यक्ष खानले मौलापुर नगरपालिकामा भएको विकास एवं यहाँका नीतिहरु आफ्नो पालिकामा समेत लागु गर्ने बताए । जनप्रेमी, राष्ट्रप्रेमी, विकासप्रेमी नीतिबाट प्रभावित भएर मौलापुरको भ्रमण एवं अवलोकनमा आफूहरु यहाँ आएको उनले बताए ।
‘हामीले मौलापुर नगरपालिकामा भ्रमण अवलोकन गर्दा वास्तवमा विकासप्रेमी, नागरिकप्रेमी यहाँको जनप्रतिनिधि हुनुहुन्छ भन्ने हामीले देख्यौं । हामीले गर्वका साथ यहाँको बिकास एवं नीतिहरुलाई अन्यपालिकामा समेत लागु गर्नुपर्ने महशुस भयो,’ खानले भने, ‘यहाँको विकास हेर्दा यहाँको जनप्रतिनिधिलाई सम्मान गर्नुपर्ने हुन्छ । नागरिकको पक्षमा जनप्रिय काम यहाँका मेयर रिना साहले गरेको देख्यौं । वास्तवमा उहाँ विकास प्रेमी, शिक्षाप्रेमी, स्वास्थ्यप्रेमी मेयर हुनुहुदो रहेछ ।’
मौलापुर नगरपालिकाले लिएको शुन्य करको नीति सारै राम्रो रहेको उनले बताए । मौलापुर नगरपालिकामा शिक्षाका लागि छात्राहरुलाई दिईने साईकल, ल्यापटप, शिक्षकको व्यवस्थाका साथै धुलोमुक्त अभियान अन्तरगतको ग्यास सिलिण्डर वितरण, कानून अनुसार उमेर पुगेका छोरीको विवाहमा दिइने २५ हजार नगद, स्वास्थ्य, शिक्षा, यातायात, कृषी लगायतका क्षेत्रमा भईरहेको विकास एवं बनाइएको नीतिले यहाँका नागरिकले राम्रो सेवासुविधा पाएको वडा अध्यक्ष खानले बताए ।
‘मधेसमा तिब्रगतिमा विकास भईरहेको र त्यसमा मौलापुर नगरपालिका अबल र अगाडी देखिएको मैले महशुस गरेको छु । यहाँहरुको शाहस, सफलता अझै उचाईमा पुगोस भन्ने हाम्रो शुभकामना छ,’ उनले भने, ‘यहाँ धुवा रहित चुलोको परिकल्पना, छोरीहरुलाई निशुल्क शिक्षा, ल्यापटप, साईकल, विवाहमा नगद २५ हजारको सहयोग, महिलाहरु अस्पताल जाँदा पाउने निशुल्क एम्बुलेन्स सुविधा जस्ता कयौं योजनाहरुबाट यहाँका नागरिकहरुले सेवा पाईरहेका छन् ।’
भ्रमणमा आएकाहरुले मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती लगायतका भौतिक पुर्वाधारका बिकासबाट प्रभावित भएका छन् ।