Sunday, February 9, 2025
घरसमाचारबिहान पेट सफा हुँदैन ? अपनाउनुहोस् यी घरेलु उपाय

बिहान पेट सफा हुँदैन ? अपनाउनुहोस् यी घरेलु उपाय

बिहानको समयमा पेट राम्ररी सफा भएन भने दिनभरि नै असहज महसुस हुन्छ

स्वस्थ रहन हरेक दिन पेट राम्रोसँग सफा हुनुपर्छ । पेट राम्ररी सफा भयो भने ज्यान हल्का हुन्छ । बिहानको समयमा पेट राम्ररी सफा भएन भने दिनभरि नै असहज महसुस हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वास्थ्य हुनु पनि हो । तर, धेरैलाई दिसा गर्न गाह्रो हुने र पेट सफा नहुने समस्या हुन्छ । यसले पेट भद्दा हुने मात्र होइन कब्जियतको समस्या समेत निम्त्याउँछ ।

खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक सेवनका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धि समस्याहरू निम्तिन्छ। पेट सफा नहुनुको मुख्य कारण पनि अव्यवस्थित खानपान र दिनचर्या हो । त्यसका साथै तनाव, चुरोट रक्सी सेवन, पर्याप्त मात्रामा पानीको सेवन नगर्दा पनि बिहान पेट सफा हुँदैन ।

पेट सफा गर्ने घरेलु उपाय

फाइबरयुक्त खानेकुराको सेवन

पेट स्वस्थ राख्नका लागि पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुराको सेवन गर्नुपर्छ । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् । यस्ता फाइबरयुक्त खानेकुराको सेवनले पाचन प्रणाली राम्रो हुन्छ र पेट सफा हुन्छ ।

पर्याप्त निद्रा

अपर्याप्त निद्राका कारण पनि पेटको स्वास्थ्य बिग्रन्छ । पेटलाई स्वस्थ राख्नका लागि निन्द्रा धेरै महत्वपूर्ण हुन्छ । निद्राले पेटमा रहेका ब्याक्टेरियालाई असर गर्छ र पेटको स्वास्थ्य बिग्रिएर दिसा राम्ररी पास नहुन सक्छ । त्यसैले दैनिक ७ देखि ८ घण्टा सुत्नुपर्छ ।

तनाव व्यवस्थापन गर्ने

पेटलाई स्वस्थ राख्नमा मानसिक अवस्थाले पनि ठूलो भूमिका खेल्छ । जब तनावग्रस्त भइन्छ पेट पनि खराब हुन्छ । त्यसैले तनाव व्यवस्थापन गरेर पेटलाई स्वास्थ्य राख्न सकिन्छ ।

पर्याप्त पानी पिउने

दिसालाई नरम बनाउन हाइड्रेटेड रहनु धेरै महत्वपूर्ण हुन्छ । दिसा नरम भयो भने दिसा पास हुन सजिलो हुन्छ र पेट सफा हुन्छ । त्यसैले शरीरलाई हाइड्रेटेड राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । दैनिक २ देखि ३ लिटर पानी पिउनुपर्छ ।

शौचालयमा मोबाइल प्रयोग नगर्ने

हिजोआज मोबाइलको प्रयोग एकदमै बढेको छ । धेरैले ट्वाइलेट जाँदा पनि मोबाइलको प्रयोग गर्छन् । ट्वाइलेटमा मोबाइल चलाउने सुरमा अरू समयमा भन्दा बढी समय ट्वाइलेटमा बिताउँछन् जसले गर्दा दिसा पनि राम्ररी पास हुँदैन र पेट सफा हुँदैन । त्यसैले शौचालयमा मोबाइलको प्रयोग गर्नु हुँदैन ।

नियमित व्यायाम

नियमित व्यायाम तथा शारीरिक क्रियाकलाप गर्नाले आन्द्राको मांसपेशीहरूलाई उत्तेजित गर्छ जसले आन्द्राको चाललाई बढाउँछ । जसले गर्दा दिसा सजिलै पास हुन्छ र पेट सफा हुन्छ । हिँड्ने, दौडने, योग गर्ने वा ३० मिनेट सक्रिय रहनु पेटको स्वास्थ्य र समग्र शरीरका लागि फाइदाजनक हुन्छ ।

तत्काल राहत पाउन

बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउनुपर्छ । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यन्त लाभदायक हुन्छ । यसले बिहान दिसा राम्ररी पास हुन्छ र पेट सफा हुन्छ । बिहानको समयमा राम्ररी दिसा पास नभएर पेट सफा भएको छैन भने तत्काल राहत पाउनका लागि एक लिटर मनतातो पानीमा एक चम्चा नुन मिसाएर पिउन सकिन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -