Sunday, February 9, 2025
घरविचारप्रेम, विवाह र सम्बन्ध विच्छेद: फेशन की बिकृति?

प्रेम, विवाह र सम्बन्ध विच्छेद: फेशन की बिकृति?

सन्तोषकुमार मिश्र

– सन्तोषकुमार मिश्र 

नेपालमा विवाहलाई पवित्र बन्धन, सात जन्मको सम्बन्ध, परिवार र सामाजिक जीवनको मेरुदण्ड मानिन्छ। तर पछिल्ला वर्षहरूमा प्रेम, विवाह, र सम्बन्धविच्छेदको ट्रेन्ड हेर्दा यस्तो लाग्छ कि यी विषयहरू अब व्यक्तिगत सनक, सामाजिक चटक, वा क्षणिक मनोरञ्जनको वस्तु बन्दै गएका छन्। विशेष गरी चर्चित व्यक्तित्व, कलाकार, समाजमा प्रभाव राख्ने पब्लिक फिगरहरूको जीवनशैली हेर्दा यो प्रवृत्ति झनै सतहमा आएको छ।

विवाहः प्रतिबद्धता कि प्रचारबाजी?

नेपालका धेरै कलाकार, सञ्चारकर्मी, खेलाडी, सामाजिक प्रभावशाली व्यक्तिहरूको विवाह समारोह अहिले भव्यताका नाममा फिल्म सूटिङजस्तै भइसकेको छ। लाखौँ खर्च, मिडियामा भाइरल दृश्य, समाजिक सञ्जालमा लाखौँ लाइक्स, कमेन्ट्स, सेयरहरू—यी सबैले विवाहलाई एउटा प्रदर्शनको रूपमा प्रस्तुत गरिरहेको देखिन्छ। तर यस्तो विवाहको केही महिनामै टुङ्गो लाग्नु, सम्बन्धविच्छेदको कुरा आउनु र फेरि अर्को सम्बन्धमा फस्नुलाई के भन्नु?

सम्बन्धविच्छेद किन बढ्दैछ?

नेपालमा पछिल्लो तथ्यांकअनुसार वार्षिक रूपमा झन्डै ३७,००० जोडीले सम्बन्धविच्छेद गरिरहेका छन्। यो दर अघिल्ला वर्षहरूभन्दा निकै तीव्र रूपमा बढिरहेको छ। यसको पछाडि विभिन्न कारण देख्न सकिन्छः

क्षणिक आकर्षणलाई प्रेम ठान्ने प्रवृत्ति

आजकल सम्बन्धहरूको सुरुवात फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूबाट हुने गरेको छ। जब सामाजिक सञ्जालमा चिल्लो चाक्लो कुरा सुन्छन्, आकर्षक तस्वीरहरू हेर्छन्, तब धेरैले त्यो क्षणिक मोहलाई प्रेम सम्झेर विवाह गर्न पुग्छन्। तर वास्तविक जीवनका चुनौतीहरू आउँदा सम्बन्ध टिकाउन सक्दैनन्।

भौतिकतावाद र उपभोक्तावादी सोच

पुराना पुस्तामा विवाह भनेको पारिवारिक, सांस्कृतिक, धार्मिक, भावनात्मक सम्बन्धको प्रतिवद्धता थियो। तर अहिलेको पुस्तामा विवाहलाई फेसन, मनोरञ्जन, व्यक्तिगत स्वार्थ वा सामाजिक हैसियत बढाउने अस्त्रको रूपमा लिइन थालिएको छ।

आत्मकेन्द्रित सोच र धैर्यको अभाव

सम्बन्धविच्छेद गर्नेहरूका धेरैजसो मुद्दाहरूमा “समझदारी नमिल्ने” भनेर देखाइन्छ। वास्तवमा, आजकलको पुस्ता सहनशीलताभन्दा आत्मकेन्द्रित सोच राख्न थालिसकेको छ। सानो झगडा, विचार नमिल्दा, रहनसहन फरक पर्दा तत्काल छुट्टिने निर्णय गरिन्छ। यो धैर्यको कमीले समाजमा सम्बन्धविच्छेदको दर बढाइरहेको छ।

पाश्चात्य प्रभाव र गलत ‘फ्रीडम’ को बुझाइ

पछिल्लो समयमा पाश्चात्य संस्कृतिको प्रभाव नेपाली समाजमा निकै बढेको छ। “मेरो जीवन, मेरो नियम” भन्ने मानसिकता बलियो बन्दै गएको छ। स्वतन्त्रताको नाममा सम्बन्धको गम्भीरता कमजोर बनिरहेको छ।

सामाजिक सञ्जालको नकारात्मक प्रभाव

समाजमा प्रभावशाली व्यक्तिहरू (Celebrities) को जीवनशैली हेर्दा, “आज प्रेम, भोलि विवाह, पर्सि डिभोर्स” जस्तो ट्रेन्ड सामान्य हुँदै गएको छ। यसको प्रत्यक्ष असर समाजमा पर्छ, विशेष गरी युवापुस्तामा। जब कलाकारहरू पटक-पटक प्रेम, विवाह, डिभोर्स, र पुनः प्रेममा संलग्न देखिन्छन्, तब धेरैले यसलाई ‘फेशन’ ठान्न थाल्छन्।

यौनिक अराजकता र सामाजिक असन्तुलन

एकातिर जनावरहरू निश्चित समय, मौसम, वा स्थानमा मात्र यौनिक सम्बन्ध बनाउँछन्, तर मानिसहरूले आफ्नो इच्छाअनुसार जबसुकै, जहाँसुकै, जससुकैसँग सम्बन्ध बनाउने छुट लिइरहेका छन्। पवित्र सम्बन्धलाई मात्र होइन, नैतिक मूल्यलाई पनि बेवास्ता गर्ने संस्कार मौलाउँदै छ। परिणामस्वरूप, पारिवारिक अस्थिरता, मानसिक तनाव, बालबालिकाको भविष्यमाथि अन्योल, र सामाजिक विकृति बढ्दो छ।

सम्बन्धविच्छेद फेसन होइन, सामाजिक समस्या हो

सम्बन्धविच्छेद एक कानुनी अधिकार हो, जसलाई सहमतिका आधारमा, असह्य परिस्थितिमा मात्र अपनाउनुपर्छ। तर अहिलेको पुस्तामा यो ‘नयाँ ट्रेन्ड’ जस्तो देखिन थालेको छ। विवाहलाई गम्भीरता नदिने, क्षणिक सुख खोज्ने, जिम्मेवारीबाट भाग्ने सोच बढ्दै जाँदा समाजमा यसको नकारात्मक प्रभाव पर्न थालेको छ।

नेपालजस्तो संस्कृतिमा आधारित समाजमा विवाहलाई खेलौना बनाउनु केवल व्यक्तिगत मामिला मात्र होइन, सामाजिक समस्याको कारक पनि हो। विवाह भनेको सँगै बाँच्ने, दुःख-सुख बाँड्ने, परिवार र सन्तानको जिम्मेवारी उठाउने प्रतिज्ञा हो, फेसन शो होइन।

समाधान के हो?

शिक्षा र चेतना: विवाह, प्रेम, र पारिवारिक सम्बन्धको गहिराइ बुझाउने शिक्षा आवश्यक छ।

मिडिया र सेलिब्रिटीको जिम्मेवारी: सार्वजनिक व्यक्तित्वहरूले सामाजिक सन्देश दिने नाममा गैरजिम्मेवार क्रियाकलाप नगर्नुपर्छ।

परिवारको भूमिका: युवाहरूलाई सही मार्गदर्शन दिन अभिभावकहरू सचेत हुनुपर्छ।

कानुनी कठोरता: अत्यधिक संख्यामा भइरहेका सम्बन्धविच्छेदको कारक तत्व पहिचान गरी कानुनी सुधार आवश्यक छ।

निष्कर्ष

सम्बन्धविच्छेद व्यक्तिगत अधिकार भए पनि यो सामान्य वा फेसन होइन। विवाह केवल प्रेम प्रदर्शन गर्ने मञ्च होइन, यो जीवनको गम्भीर निर्णय हो। कलाकारहरू, सामाजिक प्रभावशाली व्यक्तिहरूले विवाहलाई मजाक बनाउनुहुँदैन। समाजलाई सकारात्मक सन्देश दिनुपर्छ, क्षणिक रहरलाई प्रेम सम्झेर, क्षणिक असमझदारीलाई डिभोर्सको नाम दिनु हुँदैन।

नेपालमा विवाहको महत्व कमजोर नबनोस्, हाम्रो संस्कृति बचोस्, र सम्बन्ध टिकाऊ बनून्!

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -