काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सहभागी टिमको कप्तानहरू घोषणा भएका छन् ।
पुस ६ गतेसम्म आयोजना हुने एनपीएलमा कूल आठ टोलीले खेल्दै छन् । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किंग्सबीच प्रतिस्पर्धा गर्दै पहिलो संस्करणको एनपीएलको सुरुआत हुनेछ । जनकपुर र विराटनगरको खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत् कप्तानहरू घोषणा गरिएको हो । जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टिमले मार्की खेलाडीहरूलाई नै कप्तान बनाएका छन् ।
जस अनुसार विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमान्डु गुर्खाजको कप्तान करण केसी, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, कर्णाली याक्सको कप्तानमा सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । सबै कप्तानहरूले आफूहरू पूर्ण रुपमा तयार रहेको बताएका छन् । कप्तानहरूले टिम राम्रो भएको, युवा र विदेशी खेलाडीहरू मिलेर सबैले राम्रो गर्ने कुराले उत्साहित रहेको बताए ।