१३ मंसिर, काठमाडौं । खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले ताला लगाएपछि माग सम्बोधन गर्न कार्यकारी समितिको बैठक बस्ने भएको छ ।
स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, सेवासुविधाको व्यवस्था हुनुपर्ने माग राखेर प्राध्यापक र कर्मचारीले ताला लगाएका हुन् । ‘आज बैठक बस्ने तयारी छ । बैठक बसेर शिक्षक कर्मचारीको मागको विषयमा छलफल गर्छौं,’ रजिस्ट्रार गोविन्दसिंह विष्टले भने ।
माग सम्बोधन भए उपकुलपति र रजिस्ट्रार कार्यालयको मुल ढोकामा लगाइएको ताला खोल्ने संघर्ष समितिका संयोजक उपप्राध्यापक भोजराज घिमिरेले बताए । ‘बैठक बसेर हाम्रो माग पूरा भयो भने ताला खोल्छौं,’उनले भने । आन्दोलनमा प्राध्यापक र कर्मचारी गरि ३५ जना छन् ।
खुला विश्वविद्यालयमा हालसम्म एकजना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीनवटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो ।
तर, स्थायीको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । सामाजिक सुरक्षा, पेन्सन उपदान र बिमाबाट पनि बञ्चित भएको संघर्ष समितिका संयोजक घिमिरेले बताए ।
विश्वविद्यालयको सातौं सिनेटले स्थायी गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि उपकुलपति शिलु बज्राचार्यले प्रक्रिया अगाडि नबढाएको आन्दोलनरत प्राध्यापक र शिक्षकको गुनासो छ ।