काठमाडौँ/नेपालका खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज काठमाडौँस्थित मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा मन्त्री यादव र डाइरेक्टर कौकोइसबिच नेपालमा फास्ट ट्र्याकमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजनाहरूलाई अघि बढाउन आवश्यक सहयोग र रणनीतिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।
मन्त्री यादवले विशेषतः तराई–मधेस क्षेत्रमा पेयजल समस्याका कारण देखिएको जनस्वास्थ्य सङ्कटलाई समाधान गर्न एडिबीको सहयोग महत्त्वपूर्ण रहेको औँल्याए । जलवायु परिवर्तनका कारण भूमिगत पानीको स्तर निरन्तर घट्दै जानुका साथै चापाकलहरू सुकेकाले स्थानीय नागरिकहरूलाई आर्सेनिकयुक्त प्रदूषित पानी पिउन बाध्य हुनुपरेको र यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको बताउँदै मन्त्री यादवले भने, “तराई-मधेसका हाम्रा नागरिकहरू अहिले पनि सुरक्षित पानीको पहुँचबाट वञ्चित छन् । हामीलाई दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग र स्थानीय जनताको सहभागिता दुवै आवश्यक छ ।”
सङ्कट समाधानका लागि २७ अर्ब रुपैयाँ बराबरको सहयोगका लागि एडिबीसँग छलफल भएको जानकारी गराउँदै मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले यस सहयोगबाट तराई–मधेस क्षेत्रमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने काम गरिने बताए ।
वीरगञ्ज, विराटनगर, धरान, जनकपुर लगायतका स्थानहरूमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजनाहरूलाई फास्ट ट्र्याकमा अघि बढाउने एडिबीको सहयोग र सहकार्यका बारेमा पनि विस्तृत छलफल भएको थियो ।
यसै सन्दर्भमा मन्त्री यादवले भने, “वीरगञ्ज, विराटनगर, धरान, जनकपुरजस्ता प्रमुख सहरहरूमा खानेपानी तथा ढल व्यवस्थापनको सुधारले सम्पूर्ण समुदायमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्छ। एडिबीसँगको सहकार्यले हाम्रो लक्ष्यलाई बलियो बनाउने विश्वास छ ।”
काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण प्रणालीलाई थप सुदृढ गर्न सुन्दरीजलमा दैनिक २५ करोड ५० लाख लिटर क्षमताको नयाँ पानी प्रशोधन केन्द्र निर्माणको योजनामा पनि छलफल भयो ।
“काठमाडौँ उपत्यकाका जनतालाई पर्याप्त र स्वच्छ पानी पुर्याउन मेलम्ची परियोजनाको सुदृढीकरण अनिवार्य छ । यसमा एडिबीको सहयोगले राजधानीमा पानीको अभावलाई केही हदसम्म कम गर्न सकिन्छ,” मन्त्री यादवले थपे ।
मन्त्री यादवले एडिबीले विगतमा नेपालका महत्त्वपूर्ण विकास आयोजना र संरचनामा गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरे ।
डाइरेक्टर कौकोइसले पनि नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै भने, “एडिबीले नेपालका महत्त्वपूर्ण परियोजनामा विगतदेखि नै सहयोग गर्दै आएको छ, र हामी यसलाई भविष्यमा पनि कायम राख्नेछौँ ।”
सहसचिव दुवाडीले अन्त्यमा बताएअनुसार, मन्त्री यादव र डाइरेक्टर कौकोइसबीच खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका साथै नेपालका विभिन्न विकास आयोजनामा आवश्यक पर्ने थप सहकार्यका विविध पक्षमा पनि छलफल भएको थियो ।










