काठमाण्डौ/अब अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी गर्न नपाईने भएको छ।
अख्तियार मात्र नभई राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभागजस्ता निकायमा पनि बेनामी उजुरी गर्न नपाईने व्यवस्था लागु गर्न लागिएको स्रोतले जनाएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाको विशेष पहलमा बेनामी उजुरी दिन नपाईने व्यवस्था लागु गर्न लागिएको स्रोतबाट जानकारी हुन आएको छ।
“कुनै कर्मचारी, जन प्रतिनिधि वा व्यक्ति विशेषसँग सामान्य मनमुटाव हुँदा पनि रिसीबी साँध्न तथ्य प्रमाण बिना पनि चाङका चाङ बेनामी उजुरी दिएर दुःख दिने प्रबृत्ति बढ्दै गएपछि बेनामी उजुरी दिने व्यवस्था हटाउन लागिएको हो”- स्रोतले भन्यो।
राज्य व्यवस्था तथा सुशासन समिति स्रोतका अनुसार बेनामी उजुरीको सट्टा आफ्नै नाम र फोन नम्बरसहित उजुरी दिने व्यक्तिको गोपनीयता तथा सुरक्षाको ग्यारेन्टी भने राज्यले लिने छन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा सबै दलका २७ जना प्रतिनिधिसभा सदस्यहरूरहेका छन्। बेनामी उजुरी दिन नपाईने सन्दर्भमा सर्बदलीय सहमति पनि भएको बताइन्छ।

















