Thursday, May 2, 2024
घरप्रदेशउपत्यकामै घुमुवा आतंक, गृहमन्त्रीले कारबाही गर्लान् ?

उपत्यकामै घुमुवा आतंक, गृहमन्त्रीले कारबाही गर्लान् ?

काठमाडौं । प्रहरीको अपराध अनुसन्धान जस्तो गम्भीर प्रकृतिको कार्यक्षेत्रमा प्रहरी कर्मचारीहरु तालिमप्राप्त, इमान्दार, बफादार र अपराध अनुसन्धानमा पोख्त हुनुपर्छ । विवादरहित ढंगले काम गर्नसक्ने प्रहरी कर्मचारी हुनुपर्नेमा बदनाम–घुसखोरहरुको बाहुल्यताले गर्दा अपराध अनुसन्धानको क्षेत्रमा खटिने राम्रा प्रहरीहरुसमेतले त्यसको भागिदार हुनुपरेको छ ।

नेपाल फेसका अनुसार आउने दिनहरुमा नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षेत्रलाई चुस्त दुरुस्त बनाउनका लागि लामो समय बसेका, बदनामी कमाएका प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही गरी बदनाममुक्त बनाउन नवनियुक्त गृहमन्त्रीको ध्यान जानु जरुरी छ ।

काठमाडौं उपत्यकामा अपराध अनुसन्धानको क्षेत्रमा आधाजसो प्रहरी निष्ठापूर्वक काम गर्ने र अपराध अनुुसन्धानमा पोख्त छन् । तर आधाजति बदनाम प्रहरी कर्मचारीहरुका कारण सम्पूर्ण संगठन नै विवादमा पर्ने गरेको छ । कुनै समयमा अपराध अनुसन्धानमा पोख्त मानिने राजु भण्डारी (दारी)को टोली अपराध महाशाखाबाट काठमाडौं परिसरमा पोष्टिङ हुनेवित्तिकै अपहरणजस्तो अपराधिक कार्यमा संलग्न भई ३ प्रहरी नायब निरीक्षक(सई)का बिरुद्ध मुद्दा समेत चलाइएको थियो । दर्जा सानो भए पनि उनीहरुकै कारण उपत्यकामा प्रहरीको बदनाम भएकाले नयाँ जोशसहित आएका गृहमन्त्रीले यसबारेमा गम्भीरतापूर्वक सोच्ने अपेक्षा अपराध अनुसन्धानको क्षेत्रमा निष्ठापूर्वक काम गरिरहेका प्रहरीले गरेका छन् ।

सादा पोशाकमा बदनामकै लर्को

त्यस्तै, सुन लूटपाट, खाग चोरी–तस्करीमा संलग्न अधिकांश सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरु नै परेका छन् । हालै पनि उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र विभिन्न बृत्तहरुमा सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरु पटक–पटक कारबाहीमा परेकाहरु छन् । बरिष्ठ सई बिजय शाही लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लामा घुमुवा बसी बदनामी कमाएका प्रहरी हु्न् । उनलाई लुम्बिनी प्रदेशबाट कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालयले तानियो । तर कारबाही होइन, उल्टै काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्रीले उनलाई पुरस्कृत गरी ५ महिनादेखि काठमाडौं परिसरको घुमुवा राखिएको छ । शाही खत्रीको भेगका हुन् ।

०७१–०७२ मा काठमाडौं परिसरको सीडीआर शाखामा कार्यरत रहँदा आर्थिक लाभ लिएर कलडिटेल दुरुपयोग गरेको आरोपमा हटाइएका अर्का बरिष्ठ सई रामचन्द्र भण्डारीलाई एसएसपी खत्रीले ससम्मान सोही शाखामा ल्याएर राखेका छन् ।

त्यसैगरी काठमाडौं प्रहरी परिसर र मातहतका बृत्तमा कार्यरत हवल्दार राधेश्याम साह, जवान कमल देवकोटा, बिष्णु सापकोटा, करुण श्रेष्ठ कुनै न कुनै काण्डमा परेका थिए । अहिले उनीहरु उपत्यकामा सादा पोशाकका घुमुवाका रुपमा कार्यरत छन् । माथि उल्लेखित यी प्रहरीको न कुनै अपराध अनुसन्धानमा दक्षता छ, न कुनै तालिम नै प्राप्त गरेका छन् । आफ्नो बदनियत लुकाउन हाकिमको प्यारो बनी लामो समयदेखि काठमाडौंमा कार्यरत छन् ।

माथि उल्लेखित प्रहरीमध्ये कतिपयको दरबन्दी काठमाडौं बाहिर भए पनि जाँदैनन् । सोर्सफोर्स लगाई पटक–पटक एउटै ठाउँमा सादा पोशाकमा खटिन र उठन्ती धन्दामा सक्रिय छन् । लैनचौर बृत्तमा घुमुवामा कार्यरत करुण श्रेष्ठ पटक पटक त्यहाँ घुमुवा हुँदा आर्थिक लेनदेनमा मुछिई कारबाही गरी हटाइएका भए पनि फेरि त्यहीँ सोर्सफोर्स लगाएरै पुगेका छन् । अपराध अनुसन्धान कार्यालयमा कार्यरत हवल्दार धिरेन बिष्ट १० लाख लुटपाटमा पक्राउ परिसकेका प्रहरी हुन् ।

घुमुवा टोलीका बिष्ट र २ नम्बर गण महाराजगंजका प्रहरी जवान विक्रमकुमार चन्दलाई २०७७ असार १० मा न्यूरोडका ब्यापारी विकास अग्रवालको १० लाख लुटपाटको आरोपमा पक्राउ गरिएको थियो । लैनचौरका घुमुवा करुण र अपराध अनुसन्धान कार्यालयका धिरेन बिष्टको कल डिटेल चेक गर्ने हो भने ६० किलो सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ र जीवन चलाउनेसँग पनि कनेक्सन देखिने प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार चलाउनेलाई दाबासँग सम्पर्क गराउने पनि बिष्ट नै हुन् । करुणको पनि दावासँग बाक्लो उठबस थियो । दाबा र चलाउने दुबै सोह्रखुट्टे क्षेत्रमा कारोबार गर्ने भएकाले उनीहरुको सम्बन्ध निकट रहेको थियो । राधेश्याम साह गौशाला बृत्तमा हुँदा जुवातास खेलाउने र क्याविन रेष्टुरेन्ट संचालकहरुसँग लाभ लिएको पाइएपछि हटाइएका थिए । अहिले उनी काठमाडौं परिसरबाट सादा पोशाकमा घुमुवाका रुपमा खटिएका छन् । बिष्णु सापकोटा कालिमाटी र बानेश्वर बृत्तमा बदनामी कमाएका अधिकृत हुन् ।

ललितपुर परिसरमा कार्यरत सई पार्वती उपाध्यायले आर्थिक लेनदेन गरी पारी जबर्जस्ती चेक कटाएको भेटिएपछि एआईजी दिवेश लोहनीले कारबाही गरी त्रिभुवन विमानस्थलमा सरुवा गरिदिएका थिए । सिद्धिविक्रम शाह ललितपुर परिसरको प्रमुख भएपछि उनलाई पुनः ललितपुरमा ल्याइएको छ । उनी अहिले पनि प्रहरीको कर्तब्यतिर भन्दा कमाउधन्दामै लिप्त भएको आरोप छ ।

यी त प्रतिनिधि उदाहरणमात्र हुन्, अधिकांश उपत्यकाका बृत्त र प्रभागमा सिभिलमा खटिने प्रहरी कर्मचारीहरु बदनाम, हाकिमको पैसा उठाउने, फाइदा दिलाउने र खुसी पार्नमै तल्लीन रहने गरेका छन् । अपराध नियन्त्रणको पवित्र उद्देश्य राखी सिभिल प्रहरी खटाउने गरिन्छ । तर विभिन्न काण्डमा परेका बदनामलाई सिभिलमा खटाउँदा उनीहरु आर्थिक लेनदेनमा मात्र केन्द्रित भएकाले पछिल्ला दिनमा अपराधिक घटना बढिरहेका छन् ।

सिभिलमा खटिने प्रहरीको अनुगमनका लागि तालिम प्राप्त टोली नखटाए यसले विकराल रुप लिने निश्चित रहेको प्रहरी अधिकारी नै स्वीकार्छन् । प्रहरीको बर्दीमा सुन तस्करसँग सेटिङ गरेको फेलापरेपछि एसएसपी श्याम खत्रीले जेल नै बस्नुपरेको नजीर त छँदैछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -