झापा/जिल्लाको गौरादहमा एक वृद्धाको हत्या भएको छ। हत्या आफ्नै नातिलगायतको टोलीले गरेको प्रहरीले जानकारी दिएको छ। हजुरआमाको हत्या गर्ने नातिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
गौरादह नगरपालिका- ७ निवासी ८२ वर्षीया नरमाया विकको हत्या गरी शव गाडिएको अवस्थामा बुधबार फेला परेको थियो।बृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको भएको प्रहरीले जानकारी दिएको छ। लागुऔषध सेवन गरेका धिरजले हजुरआमा नरमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यापश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए।
पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले बुधबार बिहान प्रहरीमा उजुरी दिएका थिए।नाति धिरजले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
धिरजले दिएको बयान अनुसार उनका साथीहरू टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।धिरजको संलग्नता पुष्टि भए पनि उनका साथीहरूको संलग्नताको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ।
शिवरात्रिका दिन लागुऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए।
घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।