Sunday, April 21, 2024
घरपत्रपत्रिकागठबन्धन फेरिएसँगै सचिवहरु हेरफेर गर्ने तयारी

गठबन्धन फेरिएसँगै सचिवहरु हेरफेर गर्ने तयारी

काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसँगै स्थायी सरकार मानिने निजामती प्रशासनका उपल्लो तहका कर्मचारीको सरुवाको सूची तयार गर्ने काम भइरहेको छ ।

गृहमन्त्री रवि लामिछानेले मन्त्री नियुक्ति भएको एक साता नबित्दै सोमबारकै मन्त्रिपरिषद बैठकबाट एकनारायण अर्र्याललाई गृहमनत्रालयको सचिवमा सरुवा गराउन सफल भएका छन् । अर्याल कुशल प्रशासकमध्येमा पर्दछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग यसअघि नै राम्रो सम्बन्ध भएकाले उनकै सल्लाहमा अर्याल गृहसचिव हुन सफल भएको चर्चा छ । यसअघि गतबर्ष १९ दिन डोलप्रसाद श्रममन्त्री हुँदा एकनारायण सचिव थिए ।सत्ता गठबन्धनमा एमाले भित्रिएसँगै एमालेनिकटका कर्मचारीहरु आकर्षक कार्यालयमा जान हानथाप गर्नेक्रम शुरु भएको छ । विगतमा एमालेनिकट मानिएका सचिवहरु आकर्षक मन्त्रालयमा जान लबिङ थालिसकेका छन् ।
काँग्रेसनिकट मानिने सचिवहरुलाई कम आकर्षक कार्यालयमा थन्क्याएर महत्वपूर्ण मन्त्रालयको प्रशासनिक नेतृत्व लिनका लागि एमाले निकट सचिवहरुको लबिङ शुरु भएको छ । जनार्दन शर्माका पालामा पनि अर्थसचिवका रुपमा भित्रिएका कृष्णहरि पुस्कर कर्णले अर्थ मन्त्रालयमा माओवादीकै नेता आए पनि छाड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
माओवादी नेता वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिस्पर्धाका कारण पुष्कर अर्थबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको हो । आफ्नै पार्टीका नेताले संरक्षण गरेका पुष्करलाई हटाएर नयाँ अर्थ सचिव ल्याउनका लागि पुनले तयारी थालेका छन् ।
बजेटको तयारीमा रहेको अर्थ मन्त्रालयमा सचिव परिवर्तनले पनि ठूलो असर गर्ने भएका कारण मन्त्रालयका अधिकारीहरुले भने बजेटपछिमात्रै सचिव परिवर्तन गर्न सुझाएका छन् । तर पुन उक्त सुझाव मान्ने पक्षमा छैनन् । नयाँ अर्थ सचिवका लागि हाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा कार्यरत रामकृष्ण सुवेदीले इच्छा देखाएका छन् ।
त्यसैगरी उद्योग सचिव मुकुन्द निरौला, बाणिज्य सचिव नारायण शर्मा दुवाडी, रक्षा सचिव किरण शर्मा काँग्रेसनिकट भएकै कारण सरुवाको सूचीमा परेका छन् ।
त्यसैगरी कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तेस्रो पटक थन्किने अवस्थामा पुगेका छन् । मुख्यसचिव बैकुण्ठ अर्यालका मुख्य सल्लाहकार रहेका सापकोटा टेरामक्स प्रकरणमा अर्याल डामिएको अवस्थामा मुख्य सचिव खाने दाउमा थिए । गठबन्धन भत्किएपछि रन्थनिएका सापकोटाको कानुन मन्त्रालयमा एमाले नेता पदम गिरी मन्त्री भएर आएपछि दिनगन्ती शुरु भएको हो ।
कानुन मन्त्रालय अन्तर्गतका उपसचिवहरुको सरुवामा मोटो रकम असुलेको आरोप सापकोटामाथि लागेको छ । प्रधानमन्त्री कार्यालयमै थन्क्याइएका गणेश पाण्डे पुनः बाणिज्य सचिव बन्ने दाउमा छन् भने उद्योग मन्त्रालय चलाइसकेका सचिव अर्जुन पोखरेलको रोजाई पनि अर्थ वा उद्योग नै परेको छ ।
त्यसैगरी खानेपानी सचिव सुरेश आचार्य नेपाल ट्रष्टको कार्यालयमा र ट्रष्टका सचिव विश्वबाबु पुडासैनीलाई खानेपानीमा साटफेर गर्ने तयारी भइरहेको छ । आचार्य छोटो समयमा मन्त्रालय र कार्यालय चाहारिरहने सचिवका रुपमा परिचित छन् । आचार्य केही महिनाअघि मात्रै खानेपानी पुगेका हुन् । आफूलाई काँग्रेसको निकै उपल्लोस्तरको नेता जस्तै मान्ने आचार्य गठबन्धन भत्किएसँगै अलपत्र पर्ने अवस्थामा पुगेका हुन् ।
सचिव सरुवाको सूची तयार भइरहेको र केही दिनभित्रै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीको रोजाई अनुसारको सचिव सरुवाको सूची सार्वजनिक गर्र्ने तयारी भइरहेको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -