वीरगंज/उद्योगी व्यवसायीहरूको प्रतिनिधि मण्डलले राजा ज्ञानेन्द्रसँग भेटघाट गरेका छन् ।
मध्य तराईको विभिन्न जिल्लाको धार्मिक भ्रमण एवं सर्वसाधरणसँग साक्षात्कारकालागि बाराको सिमरा मुकाम बनाएर बसेका राजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई सोमबार बिहान वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीहरूले भेटघाट गरेको स्रोतले जनाएको छ ।
राजा शाहसँगको भेटमा राजनीतिक अस्थिरताका कारण उद्योगी व्यवसायीहरूले भोग्नु परेको पीडा, समस्या तथा देशको खस्किंदै गएको आर्थिक अवस्था र असुरक्षालगायतका समस्या बारे राजा ज्ञानेन्द्रलाई जानकारी गराएका थिए ।
उत्पादन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरू सम्मिलित टोलीले जाहेर गरेको समस्या एवं गुनासालाई राजा शाहले धैर्यता एवं चासो पूर्वक सुनेका थिए ।
सो टोलीमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, अशोक टेमानी, वरिष्ठ उद्योगी समाजसेवी एवं श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिन्धि, निरञ्जन अग्रवाललगायतका दर्जनौं उद्योगी व्यवसायीहरूको सहभागीता रहेको स्रोतले जनाएको छ ।
यही माघ १३ गते वीरगंज स्थित लाल बंगलाको प्रांगनमा राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको नागरिक अभिनन्दन गर्ने तयारी भैरहेको छ ।