विराटनगर । राजश्व अनुसन्धान कार्यालय सुनसरी इटहरीले राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको छ । राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारेको हो ।
सबै गोदाम सिल गरी भारतबाट आयात गरि राखिएका सटिङ्गसुटिङका कपडासहित विभिन्न जातका कपडाहरू गोदाममा भएकाले गोदाम सिल गरी गणना गरिने जानकारी राजश्व अनुसन्धान कार्यालय इटहरीले बताएको छ । राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत सुरेश आचार्यका अनुसार भन्सार छली गरेर मालवस्तु स्टक भएको आशंकाका आधारमा विभागको टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।
भन्सार छलीका मालवस्तु स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोलीले आयात परिमाण, खरिद–बिक्री खाता र स्टक परिमाणको अध्ययनसँगै कागजातका आधारमा स्टक गणना समेत गरेपछि मात्रै यथार्थ पत्ता लाग्ने भएको छ । स्वस्तिका ट्रेड एण्ड सप्लायर्सका संचालक सञ्जित भगत कपडाको आयात गर्नेदेखि भन्सार क्लियरिङ्ग एजेन्टसमेतको आफैंले काम गर्ने गरेका छन् ।
विराटनगर भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत शिव भण्डारीको कार्यकालमा यिनै भगतले नक्कली कागजात बनाएर भन्सार एजेन्टको परीक्षामा समेत सहभागी भई परीक्षा उत्तीर्ण गरेपछि सम्बन्धित भन्सार एजेन्टले आफूले सिफारिस नै नगरी आफ्नो फर्मको कागजात पेश गरी भन्सार एजेन्टको परीक्षा दिएको रहस्य खुलेको थियो । उक्त रहस्य खुल्ने बित्तिकै सम्बन्धित भन्सार एजेन्टले भन्सार विभागमा उजुरी दिएपछि सञ्जित भगतले भन्सार एजेन्ट पास गरेको भएतापनि उनलाई कार्वाही गर्दै अन्तर्वार्तामा सहभागी नै गराइएको थिएन । तिनै भगतले संचालन गर्दै आएको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा अहिले राजश्वले छापा हानेको हो । उनी पटक पटक राजश्वको कार्वाहीमा समेत पर्दै आएका छन् ।
यता राजश्वले छापा हानेपछि भगतले आफूले ठूलो परिमाणमा मालवस्तु आयात गरेकोमा अनावश्यक रुपमा राजश्व अनुसन्धानले दुःख दिने हिसाबले बारम्बार छापा मार्ने गरेको आरोप सञ्चालक सञ्जित भगतको छ । राजश्व तिरेर औपचारिक बाटोबाट १० करोडभन्दा बढी मूल्यको मालवस्तु भित्र्याएर स्टक गरिएको उनको दावी भएतापनि उनी कोशी प्रदेश कै लागि कपडा आयात गर्नेको अग्रपंक्तिमा रहेका छन् । उनी धेरै पटक प्रहरीदेखि राजश्व अनुसन्धानसम्म पुगिसकेको हुँदा यसपटक पनि भगतले उन्मुक्ति नै पाउने चर्चा समेत सुरु भएको छ । कपडा खेलाडीका रुपमा रहेका भगतलाई यसपटक राजश्वले कस्तो कार्वाही गर्दछ, त्यो भने हेर्न बाँकी नै रहेको छ । नेपालबहस