काठमाडौं/नेपाल सनातन धर्म संस्कृति संगठनले स्वदेश र स्वधर्मको पक्षमा आफ्नो माग सुनाउन गरेको आन्दोलनमा धरपकड गरी आन्दोलनका अगुवाहरुलाई मुद्दा चलाएर दबाउन खोजेको भन्दै तत्काल मुद्दा फिर्ता लिन माग गरेको छ । मंसिर १५ र १६ गते काठमाडौंस्थित चावहिलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त माग गरेको हो ।
संगठनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘महिनौदेखि गौवंश हत्यारालाई कारबाही गर्न नसक्ने सरकारले स्वदेश र स्वधर्मको पक्षमा आफ्नो माग सुनाउन गरेको आन्दोलनमा धरपकड गरी आन्दोलनका अगुवाहरुलाई मुद्दा चलाएर दबाउन खोजेकोले तत्काल मुद्दा फिर्ता गरेर सबै आन्दोलनकारीहरुलाई हिरासत मुक्त गर्न सरकारलाई आग्रह गर्दछौँ । अन्यथा शान्तिपूर्ण हिसाबले राखेका मागहरु समयमै सम्बोधन गरेर सनातन हिन्दुराष्ट्रको लागि सर्वपक्षीय सहमती नगरे आगामी दिनमा अझ ठूलो भीषण आन्दोलन व्यहोर्नु पर्ने कुरामा सचेत गराउँदछौँ ।’
संगठन प्रमुख पुष्पराज पुरुषको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीका जिल्ला अध्यक्षहरु, स्थानीय निकाय र सांसदहरुसँग सहकार्य गर्न शुरु गर्ने, जिल्ला समितिहरु पुनर्गठन गर्ने र ७५३ वटा स्थानीय निकायमा समितिहरु निर्माण गर्ने निर्णय गरेको छ ।
यस्तै सनातन हिन्दुराष्ट्रको लागि हुने सबै आन्दोलनमा सकृय नेतृत्व गर्ने गराउने, साथै विभिन्न क्षेत्रबाट हाल बढीरहेको सनातन हिन्दुराष्ट्र बनाउने आन्दोलनलाई सामुहिक सहयोग गर्ने चेतना जगाउन र जनसहभागिता बढाउन संगठनबाट वडामा रहेका स्थानीय मठ–मन्दिर समिति, आमा समूह र भजनकिर्तन समूहसम्म पुग्ने गरी सूचना आदान–प्रदान गर्ने संयन्त्र बनाउँदै संगठन गर्ने र संगत भजनमण्डली गठन गर्ने, हरेक महिना विभिन्न क्षेत्रमा महिनाको कम्तिमा एउटा कार्यक्रम निश्चित गर्ने, गौशाला, गुरुकुल, मन्दिर, आश्रम र आयूर्वेद क्षेत्रमा सकेको सहयोग गर्न बढी भन्दा बढी आर्थिक सहयोग जुटाउने निर्णय गरेको छ ।
बैठकले मासिक न्यूनतम स्वैच्छिक शुल्क नियमित गर्ने, संगठनको अक्षयकोष वृद्धि गर्ने गराउने, संगठनका सदस्यहरुले आफ्नो क्षमता अनुसार पद लिने कार्य गर्ने र आवश्यकता अनुसार पदाधिकारी हेरफेर गर्ने, कक्षा ९ को सजिलो सामाजिक भन्ने पाठ्यक्रममा भगवान बुद्धको वंशको अपमान हुनेगरी प्रसंगहरु उल्लेख भएकोले पाठ्यक्रम विकास केन्द्रलाई सच्याउन लगाउने र आगामी दिनमा सनातन धर्ममा आँच आउने यस्ता कुनै पनि विषयहरु पाठ्यक्रममा समावेश नगर्न नगराउन सचेत गराउने, संगठनका सदस्यहरुलाई तिर्थाटन गराउने र वर्षमा एक पटक सात्विक वनभोज गर्ने, हरेक विद्यालयहरुमा तुलसी मठ, सरस्वती मन्दीर लगायत विभिन्न धार्मिक वाणीहरु राख्ने अभियान चलाउने र १ सय २५ थरी नेपाली समुदायबाट प्रतिनिधित्व हुने गरी संगठनमा सदस्यहरु संगठित गर्न शुरु गर्ने निर्णय गरेको छ ।