काठमाडौँ । नेपाल टेलिकम झापा सुरूंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५४ दिनदेखि बेपत्ता छन्।
विराटनगर महानगरपालिका वडा नम्बर ४ राजवंशी चोकका सुवेदी भदौ ३० गते सुरूंगा कार्यालयबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
लेखा अधिकृत सुवेदी उक्त कार्यालयका निमित्त प्रमुखसमेत हुन्। उनी २०७९ फागुनदेखि त्यहाँ कार्यरत थिए। झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सुवेदी भदौ ३० गते बिहान करिब साढे ९ बजेपछि सम्पर्कविहीन छन्। सुवेदीको खोजी जारी छ।
तर अहिले सम्म कुनै उनी बेपत्ता हुनुको कुनै क्लु फेला पर्न नसकेको प्रहरी रेग्मीको भनाइ छ। उनको खोजीका लागि कोशी प्रदेश प्रहरीको अनुसन्धान टोलीसमेत झापा पुगेको छ।
शनिवारको दिन भए पनि सुवेदी बिहान सवा ६ बजे नै डेराबाट टेलिकम कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेर केही बेरपछि सुरक्षा गार्ड ओमप्रकाश खरेलसँग चिया खान भनेर हिँडेका, करिब ७ बजेतिर चिया पिएर फर्किएका सुवेदी कार्यालयको गेष्ट रुममा आराम गर्न गएका र त्यहाँ बसेर उनले विराटनगरमा रहेकी श्रीमतीसँग कुराकानी गरेको देखिएको प्रहरी प्रमुख रेग्मीले बताए ।
सम्पर्कविहीन हुनुअघि उनले २७ मिनेट जति श्रीमतीसँग कुरा गरेको उनको भनाई छ । त्यसपछि उनको मोबाइल फोन अफ छ भने नम्बर समेत परिवर्तन गरेको नदेखिएको रेग्मीको भनाई छ । उनले स्कुटी र चाबी समेत बसेकै ठाउँमा छोडेका छन् ।

















