वीरगंज/ सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न, राजश्व चुहावट नियन्त्रण गर्न एवं शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यले परिचालन गरेको जिम्मेवार निकायबाटै व्यवसायिक आचरण विपरीतका काम हुन्छ भने त्यो समाज र देशको भविष्य कस्तो होला? भन्ने प्रश्न यतिबेला जताततै उठ्न थालेका छन्।
प्रसँग हो प्रहरी प्रशासनलाई मिलाएर तस्करी गर्न माहिर भारतीय कुख्यात तस्कर मुख्तारको। मुख़्तारले प्रहरी प्रशासनलाई मिलाएर तस्करीको लाइन फेरि सुचारु गरेका छन् ।
मुख्तारले बीरगंजको इनर्वा गाउँ, भन्सार पछाडीको बाँसघारीलगायतको क्षेत्र तथा मूख्य भन्सार क्षेत्रबाटै साईकल, मोटरसाईकल, अटोरीक्सा, र पैदल भरियाहरूको माध्यमबाट दिनहु लाखौं राजश्व छलि गरी लताकपडा र काजुलगायतका सामान वीरगंज भित्र्याउने लाइन पाएका छन् ।
भारतीय बजारबाट नेपालमा चोरबाटोबाट खासगरी कपडा ल्याउने काम गर्दै आएका मुख्तारले यस पटक भने कपडा र काजुको लाईन पनि लिएको खबर छ । वीरगंज भन्सारको मूख्य गेट र पछाडी, बाँसघारी एवं ईनर्वा क्षेत्रबाट रात्रीको समयमा सकेजति कपडा र काजु ढुवानी गरेर नेपाल भित्र्याउन सक्ने गरी लाईन संचालन गर्न मुख्तारले सीमावती क्षेत्रमा रहेका नेपाल एवं सशस्त्र प्रहरीबलसँगै प्रदेश प्रहरी प्रमुखसम्म रकम बाँडेको स्रोतले जनाएको छ ।
दैनिक लाखौं मूल्य बराबरको राजश्व छलि गरेर मुख्तारले इनर्वा नाकाबाट भरियाहरूमार्फत सुटिङ सर्टिङका कपडा, बनारसी साडी, काजु भारतबाट नेपाल ल्याउने गरेका छन् भने बिहारमा प्रतिबन्धित मदिरा भारततर्फ पठाउने गरेका छन् ।
मुख्तारजस्ता भारतीय एवं नेपाली तस्करहरूलाई संरक्षण भएपछि राजश्व असुलीमा गिरावट मात्र आएको छैन अर्थतन्त्र नै दिनप्रतिदिन धराशायी हुँदै गएको छ ।
भारतीय तस्करहरूले नेपालका प्रहरीलाई प्रभावमा जस्तोसुकै आपराधिक क्रियाकलाप गर्न सक्ने वा चोरी तस्करी गराउन सक्ने सन्देश दिइरहेका छन् । अनियन्त्रित तस्करीले प्रहरी नेतृत्वको विश्वसनीयतामाथि समेत प्रश्नचिन्ह खडा भएको छ ।
मुख्तारले राजश्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र एवं नेपाल प्रहरीका डिआइजी, बागमती प्रदेशका डिआइजी समेतलाई मिलाएर काम गरिरहेकोले आफ्नो माल कसैले नसमाउने दाबी गर्दै आएका छन् ।
यता वीरगंज भन्सारमा रहेको सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) प्रस्तावित गुल्मले तस्करीको लाईन संचालनमा छैन भनेर देखाउनका लागि दिउँसो भन्सार गेट अगाडी कडा चेकजाँचको नाटक गरिरहेका देखिन्छन् । सर्वसाधारणले घरेलु प्रयोजनकालागि सीमावर्ती भारतीय क्षेत्रबाट सामान्य किनमेल गरेर फर्किँदा चेकजाँचको नाममा कुख्यात अपराधीजस्तै केरकार र दुःख दिने सशस्त्र प्रहरीले तस्करकरुले “मुख्तारका माल है” भन्ने बित्तिकै जान दिने गरेका दृश्य जोकोहीले पनि देख्न सक्छन् ।
वीरगंजको यस नाकाबाट तस्करीको लाइन सुचारु भएको सूचनाहरु सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका प्रमुख किशन कर्माचार्यसम्म पुग्दा पनि मौन बस्नुले कालेकाले मिलेर खाँऔंँ रातो भाले भन्ने अवस्थामा सशस्त्र प्रहरी बलको नेतृत्व पुगिसकेको दाबी गर्न सकिन्छ ।