वीरगंज/बसले मोटरसाइकललाई ठक्कर दिँदा बाराको निजगढमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्।
शनिबार बिहान पौने दस बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका-८ मा धरानतर्फ जाँदै गरेको प्र. १-०-००१ ख ९७९३ नम्बरको बसले ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक कोल्हबी नगरपालिका-३ जुगवा बस्ने २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट मोटरसाइकल उछिट्टिएर अटो रिक्सालाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते जितपुर सिमरा-१६ का कुल बहादुर थिङ, सानतेन लामा र निजगढ नगरपालिका-१२ का सुकराम बम्जनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो।
बसका चालक सिरहा नगरपालिका-१२ का अजय ठाकुर र अटो चालक निजगढ-१२ का सुकराम बम्जनलाई पक्राउ गरिएको न्यौपानेले बताए।