वीरगंज/ बारामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रत्यक्ष सहयोगमा तस्करी कार्य दिनगुनी रात चौगुनीको गतिमा फस्टाउँदै गएको खबरहरु सार्वजनिक भैरहेका छन् ।
प्रत्येक नाकामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तथा नेपाल प्रहरीको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने प्रहरीले तस्कर तथा अवैध कारोबारीहरुलाई राजश्व छली गरी लत्ता कपडा, मोटरपार्टस्, हार्डवेयर लगायतका सामान भित्र्याउने कार्यमा सघाइरहेका छन् ।
सोही क्रममा बाराको छतवास्थित प्रहरी चौकीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक श्याम बाबु यादव र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट छतवाका सशस्त्र प्रहरी नायब निरीक्षक राम एकवाल यादवको प्रत्यक्ष सहयोगमा भारतबाट सो नाका प्रयोग गरि तस्करहरूले दैनिक रात्री १० बजे पछिको समयमा २० भन्दा बढ़ी भैंसी, रांगा अवैध रुपमा भित्र्याउने गरेका छन्।
बारामा हालै आएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुरेश काफ्ले नेतृत्वको प्रहरी टोलीले राजमार्गमा सुरक्षा व्यवस्था र चेकजाँचमा कड़ाई गरेपछि दिनदिनै अन्य जिल्लाबाट बारा जिल्ला भएर जाने तस्करीका सामान लोड गरेका ट्रक र गाडीहरू बरामद भैरहेपनि सीमा क्षेत्रबाट हुने चोरी तस्करीमा खासै कमि आउन नसकेको सीमावर्ती क्षेत्रका बासिन्दाहरू बताउँछन्।
प्रहरी उपरीक्षक काफ्लेले जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न मातहतका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिनुभए पनि कतिपय सीमा नाकास्थित प्रहरी कार्यालयलाई भने प्रहरी उपरीक्षकको आदेशले प्रभाव पारेको देखिँदैन। जसले गर्दा सीमा नाकाबाट हुने तस्करीको माध्यमबाट नेपालमा अवैध लत्ताकपडा, मासुजन्य पशु चौपाया, हार्डवेयर र मोटर पार्टसका सामान भित्रिने मात्र नभई तस्करहरुले लागु औषध समेत भित्र्याउन सक्ने संभावना रहेको छ ।
सीमा नाकामा कड़ाई हुन नसक्दा केहि समय अघि भारतीय अपराधीहरुले आएर एक युवकको हत्या समेत गरेका थिए।
पछिल्लो पटक प्राप्त खबर अनुसार बाराको मुसहर्वा, बलिरामपुर, बरैनिया, छतवा, मटिअर्वा नाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करकोलागि सुलभ गरिदिएपछि तस्करहरुको आकर्षणको नाकामा परिणत भएको बताईन्छ ।
तस्करहरुले बाराको छतवासँगै मुसहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी प्रमुख र नेपाल प्रहरीको बलिरामपुर स्थित प्रहरी चौकी एवं इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुखलाई नजराना दिएर दैनिक करोडौँको भन्सार छलेर अबैध रुपमा भैँसी, रांगा, लत्ता कपडा , हार्डयेवर भित्र्याउने गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार ती नाकाबाट राती भारतबाट ल्याइने प्रत्येक भैँसीबापत सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरी दुबैलाई प्रति भैँसी एक-एक हजार सय रुपैयाँको दरले दिने गरेका छन् भने राजस्व छलि भित्र्याइने अन्य सामानको परिणाम अनुसार रकम दिएर तस्करी गर्दै आएको बताईन्छ।
छतवा, बलिरामपुर, मुसहर्वा र भारतका नामुद तस्करहरु बाराको बलिरामपुर र मुसर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुरसम्म दैनिक ५० देखि एक सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भित्र तस्करहरुले पुर्याउने गरेका छन् भने कपडा, हार्डयेवर जितपुर, सिमरासम्म पुर्याउने गरेको र त्यहाँबाट काठमाण्डौ लगायत देशभरी पठाइने गरिएको बताइन्छ।