वीरगंज/झुठा विवरण पेश गरी नेपाली नागरिक भएका तथा नेपाल र भारत दुबै देशका नागरिकता लिएकाहरूको विरुद्धमा परेको उजुरी उपर जिल्ला प्रशासन कार्यालय पर्सा असंवेदनशील भएको पाइएको छ ।
अन्तरिम संविधान २०६३ अनुरुप बनेको नागरिकता विधेयक २०६३ मा टेकेर जन्मको आधारमा नागथरिकता प्राप्त गर्न कैयौं भारतीयहरूले पनि झुठो विवरण पेश गरि नागरिकता प्राप्त गर्न सफल भए ।
भारतको नागरिक हुँदा हुँदै झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेकाहरू विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा अनेकौं उजुरी परेपनि प्रशासनले ती उजुरी उपर प्रभावकारी रुपले छानबिन गर्न नसक्दा द्वैध नागरिकता प्राप्त नागरिकहरूको चुरुफुरी बढ्न थालेको छ ।
त्यसरी नै आफू परिवारसहित भारतीय नागरिक हुँदा हुँदै पनि नेपालको नागरिकता हासिल गर्न सफल भएका व्यक्ति हुन जगदीश प्रसाद अग्रवाल र राकेश अग्रवाल । भारतको राजस्थान सरदारसर निवासी इन्द्रचंद अग्रवालका छोरा जगदीश र राकेश दुबै मात्र जना मात्र नभई यिनका श्रीमति र छोरासमेत भारतीय नागरिक भएको सम्पूर्ण कागजात प्रमाणसहित जिल्ला प्रशासन कार्यालय पर्सामा २०७६ सालमै जाहेरी दररखास्त परेपनि जिल्ला प्रशासन कार्यालय पर्साले के कति कारवाही प्रकृया अगाडी बढायो भन्ने सन्दर्भमा हालसम्म केही सार्वजनिक गरिएको छैन ।
जगदीश अग्रवाल नेपालमा प्लाईबोर्डको कारोबार गर्ने टप टेन भित्रका एक हुन् । यिनले अन्तरिम संविधान २०६३को परिधिभित्र रहेर नेपाल सरकारले जन्मको आधारमा नागरिकता प्राप्त गर्न जारी गरेको निर्देशिका अनुरुपको कागजात समेत पेश नगरी तत्कालिन सात दलका प्रतिनिधिको सिफारिशको आधारमा आर्थिक बलमा नेपाली नागरिकता प्राप्त गर्न सफल भएका थिए ।