वीरगंज/पर्सासँग सीमा जोडिएका भारतीय बजारबाट राजस्व छलि गरी नेपाल भित्र्याइएको चकलेट बेचेर बिकास गोयलले चकलेटको बजारमा अधिपत्य जमाउन सफल भएका छन्।
अपाँगहरूले प्रयोग गर्ने तीन पांग्रे ठेला माध्यमबाट दैनिक ठूलो परिमाणमा विभिन्न ब्राण्डका महंगा चकलेट तथा स्टेशनरी सामग्री मगाएर नेपाल सरकारको राजस्व छलि गरेपनि आफू भने दिन गुणा रात चौगुणाको रफ्तारमा धनार्जन गर्न सफल भएका छन्।
सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरी बल नेपाल एवं नेपाल प्रहरीसमेतलाई प्रभावमा पारेर राजस्व छलि विकासले दैनिक २०/२५ ठेला चकलेट वीरगंजस्थित कुम्हाल टोलको बिभिन्न स्थानमा भण्डारण गरेर राख्ने गरेका छन् त्यहाँबाट नक्कली बिल बनाई उनले ट्रांसपोर्टको माध्यमबाट नेपालको विभिन्न स्थानमा पठाउने गरेको स्रोतले जनाएको छ।
केहि समय अगाडी मसलाको कारोबार गरेका बिकासले हाल विदेशी ब्राण्डका नक्कली लेबल लगाईएका चकलेट समेत मगाएर राजस्व चुहावट मात्र गर्दैनन् उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड़ पनि गरिरहेको स्रोतको दाबी छ। बिकासले चकलेट, स्टेशनरी सँगै मोबिलको पनि कारोबार गर्दै आएको स्रोतको दाबी छ।
नियमक निकायले प्रभावकारी ढंगबाट अनुगमन र कारवाही नगर्दा बिकास गोयल जस्ता राजस्वमाराहरूले चकलेटका बैधानिक कारोबार गर्नेहरूलाई मारमा पार्ने गरेको वीरगंज उद्योग वाणिज्य संघका एक प्रतिनिधिले बताए।
सीमा क्षेत्रका प्रहरीलाई मिलाएर चकलेटलगायतका सामग्री वीरगंज भित्र्याएपनि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको मौनता रहस्यमय रहेको चकलेट व्यवसायीहरूले आशंका गरेका छन्।