Friday, February 7, 2025
घरपत्रपत्रिकाएउटै बिरामीको दुई थरी ब्लड ग्रुप

एउटै बिरामीको दुई थरी ब्लड ग्रुप

चितवन/भरतपुर अस्पतालमा मेडिकल सुपरिटेंडेंटको रुपमा डा. कृष्ण प्रसाद पौडेलले जिम्मा लिएदेखि उपचार गराउन आउने विरामीले सास्ती भोग्नु परिरहेको छ।

विरामीहरुले सास्ती मात्र नभई डाक्टर, लैब र खराब व्यवस्थापनका कारण विरामीहरूको ज्यान समेत जोखिममा पर्दै आएको छ।

पछिल्लो पटक प्राप्त खबर अनुसार भरतपुर अस्पतालमा आएकी एक गर्भवती महिलाको दुई थरी ब्लड ग्रुप भेटिएपछि अस्पतालभित्रको ल्याबमा हुने लापरवाहीको अर्को पोल खुलेको हो।

मंगलबार भरतपुर अस्पतालमा गर्भ जाँच गराउन गएकी भरतपुर १६ कि सावित्री शर्मा पौडेललाई डाक्टरले रगत परीक्षणको लागि लेखिदिए ।

उनले भरतपुर अस्पतालकै ल्याबमा रगत परीक्षण गर्न दिइन् । दिउँसो पौने १ बजे जाँच गर्न दिएको रक्त समूह ओ पोजेटिभ भएको अस्पतालको ल्याबले रिपोर्ट दियो । त्यो रिपोर्ट पाएपछि उनलाई जाँच गर्ने डाक्टरले परिवारका सदस्यको रगत समूहबारे जानकारी लिए ।

तर, यसअघि जाँच गराउँदा आफ्नो रगतको समूह ओ पोजेटिभ नआएको उनले बताइन् । परिवारका सदस्यको पनि उक्त रगत समूह नभएपछि डाक्टरले अरु कुनै ल्याबमा रगत जाँच गरेर आउन सुझाए ।

सोहीअनुसार उनले अस्पताल बाहिरको ल्याबमा गएर सोही दिन पौने ४ बजे रगतको नमुना दिइन् ।

उक्त रिपोर्टमा भने शर्माको रगत समूह ए नेगेटिभ आयो ।

रिपोर्ट देखेर अलमलमा परेका डाक्टर भन्छन्, ‘अस्पतालको ल्याब नै विश्वसनीय भएन । उनको शल्यक्रियाबाट सुत्केरी गराउनुपर्ने अवस्था छ ।’ १६ असोजको लागि डाक्टरले समय दिएका छन् । तर, डाक्टर आफैं अलमलमा छन् कि, कुन समूहको रगत तयारी अवस्थामा राख्न भनौं ! उनले गलत समूहको रगत पर्यो भने महिलाको ज्यानै जोखिममा पर्ने समेत बताए ।

यो मात्रै होइन, भरतपुर २३ की टीकामाया पाठकलाई पनि अस्पतालले ठगेको छ ।

५७ वर्षीया पाठक हाडजोर्नी सम्बन्धी समस्या लिएर असोज ६ गते भरतपुर अस्पताल पुगेकी थिइन् । उनले आफूलाई भएको समस्या अस्पतालको हाडजोर्नी विभागमा देखाइन् ।

त्यसपछि डाक्टरले रगत, एक्सरे लगायतका ६ प्रकार जाँच सहितको लिष्ट दिएर उनलाई ल्याबमा जान लेखिदिए । पाठक स्वास्थ बीमा कार्यक्रममा सहभागी छिन् । भरतपुर अस्पतालमा बीमामार्फत उपचारमा आउन बिरामी धेरै हुने हुनाले लामो लाइन हुने गरेको छ ।

बिहानै अस्पताल आएकी उनले ६ गते दिनभर लगाएर रगत दिएर घर गइन् । रिपोर्ट आउन ढिला हुने भनेपछि पर्सिपल्ट जाँच गराउन गएकी उनलाई ल्याबले रिपोर्ट दिएन । उल्टै नयाँ टिकट काटेर फेरि डाक्टरकोमा जानुपर्यो । पाठककी छोरा विकास पाठक भन्छन्, ‘ममीलाई पहिलो दिनको रिपोर्ट नदिएर अर्को फेरि रगत जाँच गर्न बिल काट्न लगाएछन् ।’

एक दिनको फरकमा अस्पतालले ६ वटा उही जाँच गर्न लगायो । ९ गते १ हजार ९२५ रुपैयाँको बिल तिरेकी उनले उही जाँचको लागि पर्सिपल्ट असोज ८ गते रिपोर्ट थप गरी दुई हजार १५ रुपैयाँको बिल कटाएर पठायो । रगत पनि पुनः लिएपछि उनले आफू ठगिएको थाहा पाइन् ।

आफू ठगिएकोबारे बिरामीहरुले सार्वजनिक रुपमा गरेका पोष्टहरुमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेल अनावश्यक स्टन्ट भन्छन् । उनले आफूलाई समस्या परेपछि तत्काल प्रशासनमा सम्पर्क राख्नुको सट्टा सामाजिक सञ्जालमा राखेर स्टन्ट गर्दै आएका आरोप लगाएए ।

चितवनको भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । अस्पतालमा ६ सय शैय्या रहेको छ । चितवन र यस आसपासका १३ जिल्लाका रेफरल अस्पतालको रुपमा रहेको यस अस्पतालमा दैनिक दुई हजार ५०० जनासम्म बिरामी आउने गरेका अस्पतालको तथ्यांक छ । यद्यपि प्रभावकारी सेवा दिन नसक्दा अस्पताल प्रशासनले बिरममीहरुबाटै आलोचना खेप्दै आएको छ ।

(प्रतिमा सिलवाल द्वारा लेखिएको यो समाचार हामीले नेपाल प्रेसबाट लिएका छौँ )

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -